मनहरामा सुकुम्बासी मोर्चाको कोणसभा, भदौ १२ देखि अनिश्चितकालीन सत्याग्रहको चेतावनी « Khabarhub

मनहरामा सुकुम्बासी मोर्चाको कोणसभा, भदौ १२ देखि अनिश्चितकालीन सत्याग्रहको चेतावनी


२३ श्रावण २०८३, शनिबार  

पढ्न लाग्ने समय : 2 मिनेट


33
Shares
  • change font
  • change font
  • change font

भक्तपुर– भक्तपुरको मनहरा क्षेत्रमा वैकल्पिक व्यवस्थापनबिना हटाइएका सुकुम्बासी बस्तीका प्रभावित परिवारले तत्काल पुनर्स्थापनाको माग गर्दै कोणसभा गरेका छन्। संयुक्त राष्ट्रिय सुकुम्बासी मोर्चा नेपाल, काठमाडौं उपत्यका विशेष समितिको आयोजनामा बस्तीमा डोजर चलाइएको करिब चार महिनापछि प्रभावितहरूले विरोध कार्यक्रम गरेका हुन्।

मोर्चाले प्रभावित परिवारको तत्काल व्यवस्थापन गर्न सरकारसँग माग गर्दै भदौ १२ गतेसम्म माग सम्बोधन नभए अनिश्चितकालीन शान्तिपूर्ण सत्याग्रह सुरु गर्ने चेतावनी दिएको छ।

‘आवास अधिकार, भूस्वामित्व र सामाजिक न्यायका लागि’ भन्दै मोर्चाले सरकारसमक्ष तीन मुख्य माग अघि सारेको छ। विस्थापित परिवारलाई भूस्वामित्वसहित स्थायी पुनर्स्थापना गर्नुपर्ने, घरटहरा तथा सामान भत्काउँदा भएको क्षतिको उचित मूल्याङ्कन गरी क्षतिपूर्ति दिनुपर्ने तथा प्रभावित परिवारसँग तत्काल संवाद गरी समयसीमासहितको पुनर्स्थापना योजना सार्वजनिक गर्नुपर्ने मोर्चाको माग छ।

मोर्चाले होल्डिङ सेन्टरलाई दीर्घकालीन समाधानका रूपमा नभई अल्पकालीन व्यवस्थापनमा मात्र सीमित राख्नुपर्ने बताएको छ। साथै, होल्डिङ सेन्टरमा रहेका महिला, बालबालिका, ज्येष्ठ नागरिक तथा अपाङ्गता भएका व्यक्तिको विशेष संरक्षण सुनिश्चित गर्न पनि सरकारसँग माग गरिएको छ।

त्यस्तै, भूमिहीन, सुकुम्बासी तथा अव्यवस्थित बसोबासीको लगत संकलन, प्रमाणीकरण, नापजाँच तथा निस्सा वितरणको प्रक्रिया तत्काल अघि बढाउन मोर्चाले आग्रह गरेको छ।

मोर्चाले साउन २२ गतेदेखि चरणबद्ध आन्दोलनका कार्यक्रमसमेत सार्वजनिक गरेको छ। कार्यक्रमअनुसार विभिन्न स्थानीय तह तथा भूमि समस्या समाधान समितिका कार्यालयमा ज्ञापनपत्र बुझाउने, राष्ट्रिय मानव अधिकार आयोगको ध्यानाकर्षण गराउने, भदौ ४ गते माइतीघर मण्डलामा खबरदारी सभा गर्ने र भदौ ७ गते नागरिक समाज, राजनीतिक दल, मानवअधिकारकर्मी, कानुन व्यवसायी, बुद्धिजीवी तथा सञ्चारकर्मीसँग अन्तरक्रिया गर्ने तय गरिएको छ।

मोर्चाले भदौ १२ गतेदेखि अनिश्चितकालीन शान्तिपूर्ण सत्याग्रह सुरु गर्ने जनाएको छ। माग सम्बोधन नभए आन्दोलनलाई थप कठोर बनाउने चेतावनीसमेत उसले दिएको छ।

मोर्चाका अनुसार थापाथली, शान्तिनगर, गैरीगाउँ, मनहरा र जडीबुटीलगायतका क्षेत्रमा लामो समयदेखि बसोबास गर्दै आएका भूमिहीन तथा सुकुम्बासी परिवारलाई वैकल्पिक व्यवस्थापन र कानुनी प्रक्रिया पूरा नगरी बलपूर्वक विस्थापित गरिएको छ।

मोर्चाका इन्चार्ज दल मर्दन कामी, अध्यक्ष कुमार राई र सचिव अरुण बस्नेतले जारी गरेको घोषणापत्रमा आवासलाई संवैधानिक अधिकारका रूपमा सुनिश्चित गर्दै सम्मानजनक भूस्वामित्वसहितको पुनर्स्थापनाको व्यवस्था गर्न सरकारसँग माग गरिएको छ।

प्रकाशित मिति : २३ श्रावण २०८३, शनिबार  ५ : ०० बजे

सालझण्डी–सन्धिखर्क–ढोरपाटन सडक निर्माणले गति लिन्छ : मन्त्री लम्साल

अर्घाखाँची– पूर्वाधार विकासमन्त्री सुनिल लम्सालले आगामी दिनमा सालझण्डी–सन्धिखर्क–ढोरपाटन सडक आयोजनाको

पहिरोले तातोपानी नाका अवरुद्ध हुँदा आयात–निर्यात ठप्प

काठमाडौं– नेपाल–चीन व्यापारको प्रमुख प्रवेशद्वार तातोपानी नाका तीन साताभन्दा लामो

भोजपुरमा वडाध्यक्षसहित १२३ जना श्रम संस्कृतिमा प्रवेश

भोजपुर– साल्पासिलिछो गाउँपालिका-६ का निर्वाचित बहालवाला वडाध्यक्ष विक्रम वनसहित १२३

कांग्रेसको १५औँ महाधिवेशन तोकिएकै समयमा हुन्छ : महामन्त्री पौडेल

काठमाडौं– नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले पार्टीको १५औँ महाधिवेशन तोकिएकै

कालिकोटमा चिकित्सक र नर्समाथि आक्रमण गर्ने तीन जना पक्राउ

कर्णाली– पलाँता गाउँपालिका–थिर्पु कालिकोट पलाँता अस्पतालमा कार्यरत चिकित्सक र नर्समाथि