ग्यास अभाव झेलिरहेका पत्रकारलाई जब मन्त्रीको फोन आयो… « Khabarhub

ग्यास अभाव झेलिरहेका पत्रकारलाई जब मन्त्रीको फोन आयो…


२३ श्रावण २०८३, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


483
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – ग्यास अभावका कारण केही दिनदेखि हैरानी खेपिरहेका पत्रकार किशोर श्रेष्ठले उद्योगमन्त्री गौरीकुमारी यादवको फोनपछि तत्काल ग्यास पाउने अवस्था बनेको बताएका छन्।

श्रेष्ठले शनिबार सामाजिक सञ्जाल फेसबुकमार्फत आफ्नो अनुभव सार्वजनिक गर्दै ग्यास वितरणमा देखिएको समस्या र बजारमा हुन सक्ने कृत्रिम अभावबारे प्रश्न उठाएका हुन्।

उनका अनुसार उनी केही दिनदेखि काठमाडौंको अनामनगरस्थित एक ग्यास डिपोमा पुगेर ग्यास माग्दै आएका थिए। तर, डिपोबाट पटक–पटक ‘ग्यास छैन’ भन्ने जवाफ पाएपछि उनी रित्तो हात फर्किनुपरेको थियो।

शनिबार भने उद्योगमन्त्री यादवले श्रेष्ठलाई फोन गरी ग्यास नपाएको हो कि भनेर सोधेकी थिइन्। त्यसक्रममा श्रेष्ठले आफूले धेरै दिनदेखि ग्यास नपाएको र अनामनगरस्थित डिपोमा पुग्दा ग्यास नभएको भन्दै फर्काइने गरेको जानकारी गराएका थिए।

श्रेष्ठका अनुसार मन्त्रीसँग फोनमा कुराकानी भएको केही मिनेटमै उनलाई सोही डिपोबाट फोन आयो। डिपोका कर्मचारीले ‘तपाईंको घरमै ग्यास ल्याइदिन्छौँ’ भनेको श्रेष्ठले बताएका छन्।

मन्त्रीको फोनपछि केही मिनेटमै ग्यास उपलब्ध गराउने अवस्था बनेपछि बजारमा वास्तवमै ग्यासको अभाव हो वा वितरण प्रणालीमा समस्या तथा कृत्रिम अभाव सिर्जना गरिएको हो भन्ने प्रश्न उठेको श्रेष्ठको भनाइ छ।

‘केही दिनदेखि डिपो धाउँदा ‘ग्यास छैन’ भन्ने जवाफ पाउँदै आएको मलाई मन्त्रीज्यूको एक फोनपछि केही मिनेटमै ‘घरमै ग्यास ल्याइदिन्छौँ’ भन्ने फोन आउनु आफैंमा सोचनीय विषय हो,’ श्रेष्ठले लेखेका छन्।

उनले बजारमा कृत्रिम अभाव सिर्जना गरी उपभोक्तालाई दुःख दिने प्रवृत्ति अन्त्य गर्नुपर्ने बताएका छन्। मन्त्रीको पहलपछि आफूले ग्यास पाउने अवस्था बने पनि यस्तो सुविधा आफूमा मात्र सीमित नभई ग्यासको वास्तविक आवश्यकता भएका सबै उपभोक्ताले सहज रूपमा पाउनुपर्ने उनको धारणा छ।

श्रेष्ठले उपभोक्तालाई पनि आवश्यकताभन्दा बढी ग्यास सञ्चय नगर्न आग्रह गरेका छन्। बजारमा पर्याप्त ग्यास हुँदाहुँदै अभाव देखिने अवस्था भए त्यसलाई नियन्त्रण गर्ने जिम्मेवारी सम्बन्धित निकायको हुने उनले बताएका छन्।

ग्यासको नाममा कृत्रिम अभाव र कालोबजारी हुन नदिन सम्बन्धित सरकारी निकायसँगै उपभोक्ता पनि सचेत हुनुपर्ने श्रेष्ठको भनाइ छ।

जिम्मेवार निकायले उपभोक्ताको गुनासो सुनेर तत्काल सम्बोधन गर्ने हो भने धेरै समस्या त्यहीँबाट समाधान गर्न सकिने उनले बताएका छन्।

प्रकाशित मिति : २३ श्रावण २०८३, शनिबार  ६ : १४ बजे

नेपालमा तय तिब्बतसँग सम्बन्धित अन्तर्राष्ट्रिय कार्यक्रम अब अनलाइन माध्यमबाट हुने

काठमाडौं– नेपालमा आयोजना गर्न लागिएको तिब्बतसँग सम्बन्धित अन्तर्राष्ट्रिय कार्यक्रम अब

‘कांग्रेसले जिम्मेवार र परिपक्व भूमिका निर्वाह गर्छ’

जनकपुरधाम- नेपाली कांग्रेसका नेता तथा पूर्वउपप्रधानमन्त्री विमलेन्द्र निधिले वर्तमान राजनीतिक

भक्तपुरमा ७ हजार रुपैयाँमा ग्यास बेच्ने किराना पसल सञ्चालक पक्राउ

भक्तपुर– भक्तपुरमा खाना पकाउने एलपी ग्यासको कालोबजारी गरेको आरोपमा प्रहरीले

वामपन्थीहरुलाई एकै ठाउँमा ल्याउने प्रयासमा छौँ : वर्षमान

काठमाडौं– नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का नेता वर्षमान पुन ‘अनन्त’