हराउँदै ढिँकीको ‘ढुक…ढुक…’ « Khabarhub

हराउँदै ढिँकीको ‘ढुक…ढुक…’


२२ आश्विन २०८३, बिहीबार  

पढ्न लाग्ने समय : 3 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

लमजुङ– कुनै समय लमजुङका गाउँमा बिहानको सन्नाटालाई ढिँकीको ‘ढुक…ढुक…’ आवाजले बिउँझाउँथ्यो । 

झिसमिसेमै घर–आँगनमा जाँतो घुम्थ्यो । ढिकीको ताल र जाँतोको घुमाइसँगै बस्ती बिस्तारै ब्युँझिन्थ्यो । अहिले भने गाउँबाटै त्यो आवाज क्रमशः हराउँदै गएको छ । अन्न कुट्ने र पिस्ने यी साधन घरायसी कामका उपकरण मात्र थिएनन्, गाउँको श्रम, आत्मनिर्भरता, खानपान र पुस्तौँदेखि हस्तान्तरण हुँदै आएको मौलिक संस्कृतिका अभिन्न हिस्सा थिए । 

आधुनिक प्रविधिको विस्तार, विद्युतीय मिलको सहज पहुँच र नयाँ पुस्ताको घट्दो चासोसँगै ढिकी–जाँतोको प्रयोग घट्दै गएको छ । प्रत्येक घरमा देखिने यी साधन अहिले कतै घरको कुनामा थन्किएका छन् भने कतै पुरानो पुस्ताको स्मरणमा मात्रै छन् । 

ढिकी नेपालको परम्परागत कुटानी–पिसानी प्रविधिको महत्त्वपूर्ण साधन हो । धान कुट्न, कोदो तथा जौको भुस निकाल्न, चिउरा बनाउन र विभिन्न खाद्य सामग्री कुट्न यसको प्रयोग हुन्थ्यो ।

जाँतोमा मकै, कोदो, फापर, गहुँ, दाललगायत अन्न पिसिन्थ्यो । स्थानीय सामग्रीबाटै निर्माण हुने यी साधन गाउँको आवश्यकता र सीपअनुसार विकसित परम्परागत प्रविधिका उदाहरण थिए । 

दूधपोखरी गाउँपालिकाकी ८५ वर्षीया मायाकुमारी गुरुङलाई आफ्ना पालाका ती दिन अझै सम्झना छ । ‘हाम्रा पालामा सबै घरमा ढिकी हुन्थ्यो । मकैको छुट्टै, कोदोको छुट्टै जाँतो हुन्थ्यो । 

गाउँमा मिल आएपछि सबैले ढिकी–जाँतो प्रयोग गर्न छाडे ।  त्यसबेलाको खानाको स्वाद सम्झँदा अहिले पनि जिब्रो रसाउँछ,’ उनले भनिन् । 

दोर्दी गाउँपालिका–४ की ७९ वर्षीया लालमाया घिमिरेले आफ्नो जीवनको अधिकांश समय ढिकी कुट्दै र जाँतो पिन्दै बिताइन् ।  ढिकीमा कुटेको धानबाट बनेको चामल, काउनो र साबा तथा जाँतोमा पिसिएको मकै, कोदो र फापरको स्वाद अहिले पनि बिर्सन नसकेको उनले सुनाइन् । 

‘पहिले गाउँमा ढिकी–जाँतो नभएको घर हुँदैनथ्यो । अहिले देख्नै मुस्किल छ । विगतका ती दिन सम्झँदा कथाजस्तै लाग्छ,’ उनले भनिन् । 

मस्र्याङ्दी गाउँपालिका–५ घेर्मुका स्थानीय कामसार्की गुरुङका अनुसार गाउँमा करिब १३–१४ वर्षअघि विद्युतीय मिल सञ्चालनमा आएपछि ढिकी–जाँतो प्रयोग गर्ने चलन लगभग समाप्त भएको हो । ‘पहिले सबै घरमा ढिकी–जाँतो थियो । अहिले एकाध घरमा मात्रै बाँकी छ । परम्परा हराउँदै गएको देख्दा दुःख लाग्छ,’ उनले भने। 

मस्र्याङ्दी गाउँपालिका–३ ढगैँका स्थानीय पूर्णबहादुर गुरुङका अनुसार १०–१२ वर्षअघिसम्म गाउँका अधिकांश घरमा ढिकी–जाँतो नियमित प्रयोग हुन्थ्यो । अहिले एक–दुई घरमा मात्रै ती सामग्री बाँकी रहेको उनले बताए । 

बेँसीसहर नगरपालिका–२ नरुवाल गाउँकी सावित्री रानामगरका अनुसार विद्युतीय मिल सञ्चालनमा आएपछि प्रयोग घट्दै गएर अहिले गाउँमा दुई घरमा मात्र ढिकी–जाँतो बाँकी रहेको सुनाइन् । 
 
‘मिल आएपछि सबैलाई सहज भयो । ढिकी–जाँतोमा धेरै समय र मेहनत लाग्ने भएकाले प्रयोग घट्यो । तर यी हाम्रो संस्कृतिको चिनारी भएकाले हराउँदै जाँदा निकै दुःख लाग्छ,’उनले भनिन् । 
 
विगतमा महिलाको दैनिक जीवन ढिकी–जाँतोसँग जोडिएको थियो । बिहान सबेरैदेखि धान कुट्ने, मकै, कोदो, फापर, गहुँ र दाल पिस्ने गरिन्थ्यो । कतिपय स्थानका महिला एकै ठाउँमा भेला भएर पालैपालो कुटानी–पिसानी गर्ने चलन थियो । 

यसले श्रमसँगै आपसी भेटघाट र सामाजिक सम्बन्धलाई पनि जोड्ने गरेको पुरानो पुस्ताको अनुभव छ । त्यो श्रम सहज थिएन । स्थानीयका अनुसार विद्युतीय मिलमा एकमुरी धान करिब आधा घण्टामै कुट्न सकिन्छ । त्यही काम ढिकीमा गर्दा आधा दिनभन्दा बढी समय र निकै श्रम लाग्थ्यो । 

त्यसैले गाउँमा मिल स्थापना हुन थालेसँगै मानिसले समय र श्रम बचाउने आधुनिक प्रविधि रोजे । आधुनिक मिलले कुटानी–पिसानीको काम सहज बनाएको छ । समय र श्रम बचत भएको छ । 

त्यससँगै गाउँको परम्परागत श्रम संस्कृति, स्थानीय प्रविधि, आत्मनिर्भर जीवनशैली र मौलिक खानपानको एउटा अध्याय भने हराउँदै गएको छ । ढिकीमा कुटेको धानबाट बनेको चामल, काउनो र साबा तथा जाँतोमा पिसिएको मकै, कोदो र फापरबाट तयार हुने परिकार पुरानो पुस्ताको दैनिक भोजनका हिस्सा थिए ।

त्यसैले ढिकी–जाँतो हराउनु एउटा साधन हराउनु मात्र नभई त्यससँग जोडिएको खानपान, सीप र जीवनपद्धतिको एउटा अंश हराउनु पनि हो ।

संरक्षणमा ध्यान नदिने हो भने आगामी पुस्ताले ढिकी–जाँतोलाई प्रयोगमा होइन, इतिहासका पाना, सङ्ग्रहालय वा तस्बिरमा मात्र देख्नुपर्ने अवस्था आउन सक्ने स्थानीयको चिन्ता छ । 

स्थानीयवासीले परम्परागत ढिकी–जाँतो संरक्षणका लागि स्थानीय तहले विशेष कार्यक्रम सञ्चालन गरी होमस्टे, सांस्कृतिक पर्यटन, विद्यालयको स्थानीय पाठ्यक्रम तथा सामुदायिक सङ्ग्रहालयसँग जोड्नुपर्ने बताएका छन् । 

प्रयोगमा नआए पनि यस्ता सामग्री सुरक्षित राख्ने, नयाँ पुस्तालाई यसको महत्वबारे जानकारी दिने तथा स्थानीय संस्कृति र पर्यटनसँग जोड्ने प्रयास गर्नुपर्ने उनीहरूको भनाइ छ ।

ढिकी–जाँतो हरेक घरमा चलाउन सम्भव नहोला । आधुनिक मिलले गाउँको जीवन सहज बनाएको छ । तर सहजतासँगै हराउँदै गएको मौलिक पहिचान जोगाउनु पनि उत्तिकै महत्त्वपूर्ण छ । 

यसको इतिहास, प्रविधि र त्यससँग जोडिएको संस्कृति जोगाउन सके कुनै समय ग्रामीण बिहान ब्युँझाउने ‘ढुक…ढुक…’ आवाज कम्तीमा भावी पुस्ताका लागि जीवित सांस्कृतिक सम्पदाका रूपमा रहिरहनेछ । रासस
 

प्रकाशित मिति : २२ आश्विन २०८३, बिहीबार  १२ : ५४ बजे

 फेरि अभिभावक बन्दै कियारा र सिद्धार्थ

काठमाडौं– बलिउडको चर्चित जोडी कियारा आडवाणी र सिद्धार्थ मल्होत्राको घरमा

चिम्पान्जी, पाण्डालगायत क्यारेक्टरसहित मत माग्न व्यस्त उम्मेदवार (तस्बिरहरू)

काठमाडौं– नेपाली कांग्रेसको १५ औँ महाधिवेशनअन्तर्गत मतदान सुरू हुनुअघि उम्मेदवारहरू

मध्यपूर्व युद्धपछि इरानमा पहिलोपटक विदेशी वायुसेवाको व्यावसायिक उडान

काठमाडौँ– मध्यपूर्वमा युद्ध सुरु भएपछि पहिलोपटक विदेशी वायुसेवा कम्पनीको व्यावसायिक

कांग्रेस महाधिवेशनमा मतदान दिउँसो २ बजेबाट सुरु हुने

काठमाडौं- नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत नयाँ नेतृत्व चयनका लागि हुने मतदान

इरानमा फेरि ठूलो सैन्य कारबाहीको तयारी गर्दै अमेरिका

वासिङ्टन- अमेरिकाले इरानमा फेरि ठूलो सैन्य कारबाहीको तयारी थालेको समाचार संस्था