नियममा बाँधिएपछि टोल बन्यो सुन्दर « Khabarhub

नियममा बाँधिएपछि टोल बन्यो सुन्दर


२२ कार्तिक २०८३, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

दाङ– दाङको राप्ती गाउँपालिका–८ स्थित पार्विक टोल विकास संस्थामा आजभोलि एउटा फरक दृश्य देखिन्छ । करिब १४० घरपरिवार रहेका यो टोलका बाटाघाटा सफा छन्, ठाउँठाउँमा स्ट्यान्डसहितका डस्टबिन राखिएका छन् । सडक वरपर सयपत्रीका फूलले टोललाई नै सुन्दर देखाउँछ । जथाभावी फोहर फालिदैन ।

स्थानीय समुदायले निर्णय नै गरेर टोलमा यी कार्य भएको टोल विकास संस्थाका अध्यक्ष दिलबहादुर खत्रीले बताए । ‘सुरुका दिनमा सडकमा जथाभावी पशुचौपाया बाँध्ने, जथाभावी फोहर फ्याँक्ने ठूलो समस्या थियो’, उनले भने, ‘सडक र नालामा फोहर फाल्ने घरघरमा प्लास्टिक जलाउने गरिन्थ्यो, तर अहिले त्यस्तो छैन ।’

सुरुवाती चरणमा टोलमा डस्टबिन नहुँदा बिजुलीका हरेक खम्बामा बोराहरू झुण्ड्याएर फोहर सङ्कलन सुरु गरिएको थियो । हाल भने स्ट्यान्ड बनाएरै ठाउँठाउँमा डस्टबिन राखिएका छन् ।

प्लास्टिक प्रदूषण रोक्न टोलभित्र प्लास्टिक जलाउन पूर्ण प्रतिबन्ध लगाइएको छ । कसैले प्लास्टिक जलाएको देखेर गोप्य सूचना दिएमा इनाम दिने र जलाउनेलाई कारबाहीसमेत गर्ने गरिएको छ । जसका कारण अहिले टोलमा प्लास्टिक जलाउने कार्य पूर्ण रूपमा रोकिएको छ ।

टोलको बैठकले ‘आफ्नो गाउँ आफैँ बनाउनुपर्छ’ भन्ने सङ्कल्पकासाथ नियम बनाएपछि यसरी टोल सुधार भएको उनको भनाइ छ । उनका अनुसार टोलको निर्णय नमान्ने तथा जथाभावी प्लाष्टिक जलाउनेलाई ५०० रुपैयाँ जरिवानासमेत गर्ने गरिएको छ । यही सामाजिक अनुशासनको जगमा टेकेर पार्विक टोल रुपान्तरण भएको अध्यक्ष खत्रीले बताए ।

टोलको सरसफाइ र व्यवस्थापनलाई सहज बनाउन तीनवटा सेक्सनसमेत बनाइएको छ । प्रत्येक सेक्सनका प्रतिनिधिहरूको अगुवाइमा प्रत्येक महिनाको अन्तिम शनिबार सम्पूर्ण टोलवासी भेला भई सरसफाइ गर्ने गरिएको छ ।

प्रकाशित मिति : २२ कार्तिक २०८३, आइतबार  ७ : १७ बजे

नियममा बाँधिएपछि टोल बन्यो सुन्दर

दाङ– दाङको राप्ती गाउँपालिका–८ स्थित पार्विक टोल विकास संस्थामा आजभोलि

भोटेकोशी बाढीमा बेपत्ता जुम्लाका ६३ जनाको सूची सार्वजनिक

जुम्ला– राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले रसुवाको भोटेकोशीमा

इंग्लिस प्रिमियर लिग : नटिङघमले हरायो म्यानचेस्टर सिटीलाई

काठमाडौँ– इंग्लिस प्रिमियर लिग फुटबलमा म्यानचेस्टर सिटी स्तब्ध बनेको छ

अन्नपूर्ण आधार शिविरमा पर्यटकको चहलपहल

म्याग्दी– म्याग्दीको अन्नपूर्ण गाउँपालिका–४ नारच्याङस्थित अन्नपूर्ण आधार शिविर र मौरिस

आज देशभरको मौसम कस्तो रहला ?

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल