हैदराबाद– भारतमा विद्युतीय तीनपाङ्ग्रे सवारी साधन (अटो रिक्सा) को प्रयोग तीव्र रूपमा बढ्दै गएको छ । हरेक ९० सेकेन्डमा एउटा विद्युतीय अटो रिक्सा उत्पादन भइरहेको भारतीय कारखानाको तथ्यले यस क्षेत्रमा भारत विश्वकै ठूलो बजार बनेको देखाउँछ ।
महिन्द्रा लास्ट माइल मोबिलिटीको एक व्यस्त कारखानामा कामदार र रोबोटले ब्याट्री जडान गर्ने, सवारी साधनका धातुका संरचनामा बाहिरी प्यानल जोड्ने र पाङ्ग्रा जडान गर्ने काम गरिरहेका छन् । भारतका व्यस्त सडकमा चल्ने अटो रिक्साको बढ्दो माग पूरा गर्न कम्पनीले उत्पादन विस्तार गरिरहेको छ ।
गत सेप्टेम्बरमा भारतमा बिक्री भएका नयाँ तीनपाङ्ग्रे सवारी साधनमध्ये आधाभन्दा बढी विद्युतीय थिए । सोही अवधिमा बिक्री भएका कारमध्ये करिब आठ दशमलव पाँच प्रतिशत र दुईपाङ्ग्रे सवारी साधनमध्ये ११ दशमलव छ प्रतिशत मात्र विद्युतीय थिए । यसले विद्युतीय तीनपाङ्ग्रे सवारी साधनको सबैभन्दा ठूलो बजारका रूपमा भारतको स्थान पुष्टि गरेको छ ।
महिन्द्रा लास्ट माइल मोबिलिटीका प्रमुख कार्यकारी सुमन मिश्राका अनुसार पछिल्लो पाँच वर्षमा कम्पनीको विद्युतीय सवारी साधनको बजार विस्तार छ गुणाले बढेको छ । सरकारी अनुदान, सवारी साधनको गुणस्तरमा सुधार र सञ्चालन खर्चमा कमीले पछिल्ला दुई वर्षमा यसको प्रयोग थप तीव्र भएको उनले बताए ।
एक दशकअघि नयाँ दिल्लीका सडकमा ई–रिक्सा देखिन थालेका थिए । त्यतिबेला प्रायः पुराना साइकल रिक्सामा चिनियाँ ब्याट्री जडान गरी स्थानीय कार्यशालामा तयार पारिन्थ्यो । अहिले भने महिन्द्रालगायत ठूला कम्पनीको प्रवेशसँगै यो क्षेत्र व्यवस्थित उद्योगका रूपमा विस्तार भएको छ ।
भारतका उत्तरी सहरहरूमा रेलवे स्टेसन र व्यस्त बजारबाहिर विद्युतीय अटो रिक्सा सामान्य दृश्य बन्न थालेका छन् । यसले परम्परागत इन्धनबाट चल्ने अटो रिक्साको प्रयोग र आवाजलाई क्रमशः विस्थापित गर्दै लगेको छ ।
–इन्धन खर्चमा बचत–
महिन्द्रा आगामी नोभेम्बर १७ मा मुम्बईमा बेलायतका राजकुमार विलियमबाट प्रदान गरिने अर्थसट पुरस्कारका लागि छनोट भएका १५ अन्तिम प्रतिस्पर्धीमध्ये एक हो । तर धेरै चालकका लागि विद्युतीय सवारीप्रतिको आकर्षण वातावरणीय लाभभन्दा सञ्चालन खर्चमा हुने बचत हो ।
हैदराबादका ३१ वर्षीय चालक अफरोज आलमले यसै वर्ष पेट्रोलबाट चल्ने अटो छाडेर विद्युतीय सवारी अपनाएका छन् । उनका अनुसार ब्याट्री चार्ज गर्न लाग्ने खर्च कम भएकाले दैनिक सयौँ रुपैयाँ बचत भइरहेको छ । यसबाट विद्युतीय सवारी किन्न लिएको ऋण तिर्न पनि सहज भएको छ ।
भारतीय थिङ्क ट्याङ्क सीईईडब्ल्यूको सन् २०२५ को अनुमानअनुसार पेट्रोलबाट चल्ने तीनपाङ्ग्रे सवारी साधनको प्रतिकिलोमिटर सञ्चालन खर्च विद्युतीय सवारीको तुलनामा दोब्बरभन्दा बढी छ ।
विश्लेषकहरूका अनुसार ब्याट्रीको मूल्य घट्नु र इन्धनको मूल्य बढ्नु विद्युतीय सवारीको प्रयोग विस्तार हुनुका प्रमुख कारण हुन् । भारतले अधिकांश तेल र प्राकृतिक ग्यास आयात गर्ने भएकाले विद्युतीय सवारीको विस्तारले आयातित इन्धनमाथिको निर्भरता घटाउनसमेत सहयोग पुर्याउन सक्छ ।
यद्यपि, चार्जिङ पूर्वाधार र पार्किङको अभावले यसको विस्तारमा चुनौती थपेको छ । मुम्बईमा पार्किङको सीमितताका कारण विद्युतीय सवारी चार्ज गर्न कठिनाइ हुने मिश्रले बताए ।
त्यस्तै, विद्युतीय मोटर निर्माणमा प्रयोग हुने दुर्लभ खनिजका चुम्बकको आपूर्तिमा चीनले लगाएको प्रतिबन्धले भारतीय उत्पादकलाई असर पारेको थियो ।
भारतले ब्याट्री सेललगायतका सामग्रीको स्वदेशी उत्पादन बढाउने प्रयास गरिरहेको छ । तर यी सामग्रीको ठूलो हिस्सा अझै चीन र दक्षिण कोरियाबाट आयात हुँदै आएको छ ।
विश्लेषकहरूका अनुसार अब विद्युतीय ट्याक्सी र व्यावसायिक सवारी साधनको विस्तारले पनि यस क्षेत्रमा नयाँ सम्भावना खोल्न सक्छ । रासस














प्रतिक्रिया