कुकुर तिहारमा मात्रै होइन, वर्षभरि पशुप्रति करुणा देखाउन मन्त्री चौधरीको आग्रह « Khabarhub

कुकुर तिहारमा मात्रै होइन, वर्षभरि पशुप्रति करुणा देखाउन मन्त्री चौधरीको आग्रह


२२ कार्तिक २०८३, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– कृषि, वन तथा पर्यावरणमन्त्री गीता चौधरीले कुकुर तिहारलाई वर्षको एक दिन पूजा गर्ने धार्मिक परम्परामा मात्र सीमित नराखी पशुप्रति वर्षभरि करुणा, माया र जिम्मेवारी देखाउनुपर्ने बताएका छन् ।

प्रधानमन्त्री वालेन्द्र शाह पत्नी सबिना काफ्लेले आयोजना गरेको कुकुर तिहार विशेष कार्यक्रममा सहभागी हुँदै मन्त्री चौधरीले कुकुर तिहारले मानवता, करुणा, कृतज्ञता, निष्ठा, प्रकृतिप्रतिको सम्मान तथा मानिस र अन्य जीवजन्तुबीचको सहअस्तित्वको सन्देश दिने बताइन् ।

उनले पशु कल्याण र मानव स्वास्थ्य एक अर्काका पूरक विषय भएको उल्लेख गर्दै ‘एक स्वास्थ्य अवधारणा’ अन्तर्गत रेबिज नियन्त्रण, खोप, बन्ध्याकरण तथा जिम्मेवार पशुपालनका लागि सरकार, स्थानीय तह र सरोकारवाला सबैको सहकार्य आवश्यक रहेको बताइन् ।

मन्त्री चौधरीले कुकुर तिहारलाई अन्तर्राष्ट्रिय स्तरमा चिनाउन नेपाली दूतावास, विदेशमा रहेका नेपाली समुदाय, पर्यटन प्रवर्द्धन गर्ने निकाय तथा अन्तर्राष्ट्रिय पशु कल्याणसम्बन्धी संस्थासँग सहकार्य गर्न सकिने बताइन् । यसबाट नेपालको मौलिक संस्कृति र सांस्कृतिक पर्यटन प्रवर्द्धनमा समेत योगदान पुग्ने उनको भनाइ थियो।

तर, कुकुर तिहारको अन्तर्राष्ट्रिय पहिचान विस्तार गर्नुभन्दा पनि यसको मौलिक सांस्कृतिक मर्म र व्यवहारलाई संरक्षण गर्नु उत्तिकै महत्त्वपूर्ण रहेको उनले उल्लेख गरिन् ।

नेपालमा पशु संरक्षणको ऐतिहासिक र कानुनी आधारबारे चर्चा गर्दै मन्त्री चौधरीले वि.सं. १९१० को मुलुकी ऐनमै गाईबस्तुको संरक्षणसम्बन्धी व्यवस्था रहेको र वि.सं. १९९४ मा तत्कालीन प्रधानमन्त्री जुद्धशमशेरले पशुपतिनाथ गौशाला स्थापना गरेको स्मरण गराइन् । 

नेपालको संविधान, मुलुकी अपराध संहिता, २०७४ तथा पशु कल्याण निर्देशिका, २०७३ ले समेत पशु संरक्षण र कल्याणका लागि कानुनी आधार प्रदान गरेको उनले बताइन्।

सरकारले पशु कल्याणसम्बन्धी छुट्टै कानुन निर्माणका लागि पशु कल्याण विधेयकको मस्यौदा तयार गरी सरोकारवालाबाट सुझाव संकलन गरिरहेको जानकारी दिँदै उनले पशुमाथि हुने क्रूरता नियन्त्रण र संरक्षणका कानुनी व्यवस्थालाई थप प्रभावकारी बनाउनुपर्नेमा जोड दिइन् ।

त्यसैगरी, स्थानीय तहसँगको समन्वयमा सडक कुकुर व्यवस्थापनका लागि खोप, बन्ध्याकरण, उपचार तथा मानवीय व्यवस्थापनका कार्यक्रमलाई प्रभावकारी बनाउनुपर्ने उनको भनाइ थियो । 

पशु कल्याणका पाँच आधार-भोक र तिर्खाबाट मुक्ति, असहजताबाट मुक्ति, पीडा, चोटपटक र रोगबाट मुक्ति, स्वाभाविक व्यवहार अभिव्यक्त गर्न पाउने स्वतन्त्रता तथा भय र तनावबाट मुक्ति—लाई व्यवहारमा कार्यान्वयन गर्नुपर्ने उनले बताइन् ।

छाडा छोडिएका, घाइते तथा अपाङ्गता भएका गाईबस्तु र कुकुरको उद्धार, उपचार तथा आश्रय व्यवस्थापनमा सरकारसँगै पशु कल्याणका क्षेत्रमा कार्यरत सङ्घसंस्थाहरूले पनि महत्त्वपूर्ण भूमिका निर्वाह गरिरहेको उनले उल्लेख गरिन् ।

मन्त्री चौधरीले वर्षको एक दिन माला लगाएर पूजा गर्ने तर बाँकी दिन भोक, रोग र दुर्व्यवहारमा बाँच्नुपर्ने अवस्था अन्त्य हुनुपर्ने बताउँदै धार्मिक आस्थालाई करुणा र परम्परालाई जिम्मेवारीसँग जोड्नुपर्ने धारणा राखिन् । पशुहरूलाई वर्षभरि नै सम्मान, संरक्षण र मानवीय व्यवहार सुनिश्चित गर्न सरकार प्रतिबद्ध रहेको उनको भनाइ थियो ।

प्रकाशित मिति : २२ कार्तिक २०८३, आइतबार  २ : ०३ बजे

मध्य जापानमा पाँच दशमलव सात म्याग्निच्युडको भूकम्प, कम्तीमा २४ जना घाइते

टोकियो– मध्य जापानमा आइतबार बिहान पाँच दशमलव सात म्याग्निच्युडको भूकम्प

नेपाली सेनाले मनायो कुकुर तिहार

काठमाडौं– यमपञ्चक अन्तर्गत दोस्रो दिन नेपाली सेनाले तालिमप्राप्त सैन्य कुकुरहरूको

यू-१९ एसिया कप : नेपालले यूएईलाई दियो १५४ रनको लक्ष्य

काठमाडौँ – एसीसी यू–१९ एसिया कपमा नेपालले संयुक्त अरब इमिरेट्स

कुकुर तिहारमा मात्रै होइन, वर्षभरि पशुप्रति करुणा देखाउन मन्त्री चौधरीको आग्रह

काठमाडौं– कृषि, वन तथा पर्यावरणमन्त्री गीता चौधरीले कुकुर तिहारलाई वर्षको

होर्मुजमा दुई तेल ट्याङ्करमा आगलागी भएको इरानको दाबी

तेहरान- स्ट्रेट अफ होर्मुजमा नौसैनिक बारुदी सुरुङमा ठोक्किएपछि दुईवटा तेल