काठमाडौँ– प्रधानमन्त्री वालेन्द्र शाहकी पत्ती सबिना काफ्लेले नेपाली मौलिक संस्कृति, परम्परा र प्रकृतिसँगको मानव सम्बन्धलाई विश्वमाझ चिनाउन कुकुर तिहारजस्ता पर्वलाई अन्तरराष्ट्रियकरण गर्नुपर्नेमा जोड दिएकी छन् ।
कुकुर तिहार, २०८३ को अवसरमा काफ्लेले आज आयोजना गरेको शुभकामना आदानप्रदान कार्यक्रममा पशुपंक्षी तथा प्रकृतिप्रतिको सम्मान र संरक्षण गर्ने विशिष्ट परम्परा रहेको हाम्रा चाडपर्व र संस्कृतिलाई अन्तरराष्ट्रियकरण गरी प्रवर्द्धन गर्नुपर्ने धारणा व्यक्त गरिन् ।
उनले कुकुर तिहारलाई केवल धार्मिक तथा सांस्कृतिक पर्वका रूपमा मात्र नभई पशुप्रतिको प्रेम, निष्ठा, करुणा र सहअस्तित्वको सन्देश दिने अवसरका रूपमा विश्वमाझ पुर्याउनुपर्ने बताइन् ।
विश्वभर कुकुरप्रतिको प्रेम र आकर्षण बढिरहेको विश्व परिवेशमा कुकुरको पूजा गर्ने मुलुकको विशिष्ट सांस्कृतिक परम्परालाई नेपालले अन्तरराष्ट्रिय पहिचानका रूपमा स्थापित गर्न सक्ने उनको भनाइ थियो ।
‘कुकुर तिहारलाई अन्तरराष्ट्रियकरण गर्नु हाम्रो एउटा प्रमुख उद्देश्य हो । कुकुरप्रतिको प्रेम र सम्मानका साथै पूजा गर्ने हाम्रो मौलिक परम्पराको सन्देश नेपालबाट विश्वभर पुर्याउन चाहन्छौँ’, काफ्लेले भनिन् ।
उनले कुकुर तिहारलाई एक दिनको उत्सवका रुपमा मात्र सीमित नगरी वर्षभरि नै पशु कल्याणका पक्षमा विविध गतिविधि सञ्चालन गर्नुपर्नेमा जोड दिइन् । उनले कुकुरको उचित व्यवस्थापन, खोप, स्वास्थ्य उपचार तथा उनीहरूप्रति गरिने व्यवहारमा समेत एकरुपतासहित जिम्मेवारी बोध गर्नुपर्ने खाँचो औँल्याइन् ।
काफ्लेले नेपालका चाडपर्वमा प्रकृति र जीवजन्तुप्रतिको सम्मान झल्कने अनेकौँ मौलिक अभ्यास रहेको उल्लेख गर्दै कुकुर तिहारसँगै काग पूजा, गाई पूजा, नाग पूजा, नेवार समुदायको म्हः पूजा र छठ पर्वलाई पनि अन्तरराष्ट्रियस्तरमा प्रवर्द्धन गर्नुपर्ने धारणा राखिन् । वर्षा नभएका बेला भ्यागुताको विवाह गराउने परम्परासमेत प्रकृति र मानवबीचको सम्बन्धको उदाहरण भएको उनको भनाइ थियो ।
‘डिजिटल’ युगमा मानिसबीचको सम्बन्ध र मानव तथा प्रकृतिबीचको निकटता कमजोर हुँदै गइरहेको उल्लेख गर्दै उनले नेपाली मौलिक चाडपर्वले प्रकृतिसँगको सम्बन्ध पुनः स्थापित गर्ने सन्देश दिन सक्ने बताइन् ।
कार्यक्रममार्फत कुकुर तिहारलाई विश्वव्यापी रूपमा प्रवर्द्धन गर्न ‘फ्रम नेपाल विथ पज’, ‘डेज अफ द डग्स’, ‘भिजिट नेपाल डग स्टे’, ‘लभ योर डग्स एभ्री डे’ र ‘कुकुर तिहार नेपाल’ लगायतका ह्यासट्यागसमेत सार्वजनिक गरिएको उनले जानकारी दिइन् ।
उनले नीति निर्माण तहका पदाधिकारी, सांसद, स्थानीय तहका जनप्रतिनिधि, कलाकार, सामग्री उत्पादक, अन्तरराष्ट्रिय सञ्चारमाध्यम तथा विभिन्न देशका राजदूतलाई नेपालको यस मौलिक परम्पराको प्रचारप्रसारमा सहयोग गर्न आग्रह गरिन् ।
‘हाम्रा चाडपर्वमा प्रकृति र मानवबीचको सम्बन्ध जोड्ने धेरै अद्वितीय पक्ष छन् । ती पक्षलाई विश्वभर पुर्याउन सबैको साझा प्रयास आवश्यक छ’, उनले भनिन् ।













प्रतिक्रिया