नवलपुर– युवा मौलिक बाजाहरूप्रति आकर्षित हुन थालेपछि तिहारका समयमा मादलको कारोबार बढ्दै गएको छ । विगत २७ वर्षदेखि मादल बनाउने काममा व्यस्त यहाँका कालीगढ नारायण नेपालीले मौलिक बाजा मादलको माग पुरानै अवस्थामा फर्किएको बताए ।
विगतका वर्षहरूमा चाडपर्वका समयमा मात्र केही मात्रामा मादलको माग हुने गरेको स्मरण गर्दै नेपालीले अहिले मादलको बजार सदाबहार रहेको र त्यसमा तिहारको समयमा कारोबार बढ्दै गएको बताए ।
‘मैले मादल बनाउन सुरु गर्दा मादलको माग राम्रो थियो । नाचगानमा स्पिकर बजाएर गरेर उफ्रिँदैनथे’, उनले विगतलाई स्मरण गर्दै भने, ‘अघिल्लो केही वर्षमा स्पिकरले खाएको मादलको बजार फेरि पुरानै लयमा फर्किएको छ ।’
हिजो आज नाचगानमा स्पिकर बज्ने गरेको भए पनि मादल अनिवार्य जस्तै प्रयोग हुन थालेपछि माग बढ्दै गएको नेपालीले बताए । नेपालीको मौलिक तथा परम्परागत बाजाको संरक्षणमा स्थानीय तहले चासो देखाउनु र नयाँ पुस्तामा संस्कृतिप्रति माया बढ्दै जाँदा मादलको कारोबार बढेको हुनसक्ने उनको भनाइ छ ।
‘तीन चार वर्ष अगाडिसम्म त मादल व्यवसाय सङ्कटमै जाने अवस्थामा पुगेको थियो’, नेपालीले भने, ‘अहिले भने राम्रो हुँदै गएको छ, आज–आइतबार) बिहान मात्र मैले १२ वटा नयाँ मादल बिक्री गरिसकेँ ।’
नेपालीलाई मादल बनाउन घरका अन्य दुई जना सदस्यले साथ दिने गरेका छन् । मादल बनाउने कममा तीन जनानै दिनभर व्यस्त रहने गरेको उनकी श्रीमती चन्द्रा नेपालीले बताइन् ।
‘हामी तीन जना नै दिनभर मादल बनाउने काममा व्यस्त हुन्छौँ’, मादलमा खरी घोट्दै गरेकी चन्द्राले भनिन्, ‘मेरो काम मादलमा खरी घोट्ने मात्र हो, उहाँहरू दुई जनाले भने मादल तयार पार्ने काम गर्नुहुन्छ ।’
काम बाँडेर गर्दा सहज हुने गरेको चन्द्रको भनाइ छ । मादल बनाउने काम सहज नभएको भन्दै चन्द्राले एउटा मादल तयार पार्न कम्तीमा तीन घण्टा लाग्ने गरेको बताए । ‘मादल बनाउन आवश्यक पर्ने सबै सामान हामीले बाहिरबाट किनेर ल्याउने गरेका छौँ’, उनले भने, ‘मादल बनाउन आवश्यक पर्ने केही सामान पोखरा, केही काठमाडौँ तथा केही सामान भारतबाट समेत ल्याउने गरेका छौँ ।’
यहाँको अर्को मादल पसल राधाकृष्ण म्युजक सपका सञ्चालक दिनेश नेपालीले विगतको तुलनामा यस वर्ष मादलको कारोबार बढेको बताए ।
विगतका तिहारमा सुनसान जस्तै हुने मादल पसलमा अहिले भने ग्राहकको चहलपहल बढेको उनको भनाइ छ । मौलिक बाजामा नयाँ पुस्ताको ध्यान केन्द्रित हुँदा पुनःनेपाली परम्परा, संस्कार, सँस्कृतिसँगै यससँग सम्बन्धित व्यवसायमा आशाको किरण छाएको उनले बताए ।
‘विगतका तिहारमा डेगमा हिन्दी गीत बनाउँदै युवायुवती नाच्ने तथा मादल बजाउँदै देउसीभैलो खेल्ने आफ्नो संस्कृति भुल्दा यो व्यवसायमा मन्दी आएको थियो’, उनले भने, ‘अहिले भने मादल किन्न तथा बनाउन आउने ग्राहकमध्ये अधिकांश युवा पुस्ताकै रहेका छन् ।’
मादल बेचेर आफ्नो र आफ्नो परिवारको जीविकोपार्जन गरिरहेका नेपालीले आफ्नो बुबाबाट मादल बनाउन सिकेका थिए । उनको यो पुस्तौली पेसा हो । उनले यहाँ बनाएका मादल नवलपुरसहित चितवन, तनहुँ, लमजुङ तथा पोखरासम्म जाने गरेका बताए ।
घोषणा मादल पसलकी शान्तमाया बसेलले मादल व्यवसायले फेरि आशा जगाएको बताइन् । ‘कोरोना सङ्क्रमण भन्दा पहिला व्यापार राम्रो थियो । तिहारमा बढी बिक्री हुने मादल, तीज, दसैँ, शिवरात्री, स्वस्थानी पूजाको समयमा पनि राम्रो आम्दानी हुन्थ्यो । कोरोना पछाडि भने मादल व्यवसाय नै सङ्कटमा पर्ने चिन्ता थियो’, उनले भनिन्, ‘गत वर्षबाट बढ्न थालेको मादलको कारोबार यस वर्ष भने कोरोनाको समयको भन्दा पहिलेकै अवस्थामा पुगिसकेको छ ।’
पछिल्लो एक वर्षदेखि बढेको मादलको कारोबार मादल कारोबारलाई यथावत अवस्थामा राख्नका लागि मादल बनाएर मात्रभन्दा पनि मौलिक बाजा मादलको संरक्षणमा तीन वटै तहका सरकार लाग्नुपर्ने बताए ।
विगत १० वर्षदेखि पसल सञ्चालन गर्दै आएकी शान्तमायाका श्रीमान् विष्णुकुमार बसेलले विद्यालय, सङ्घ–संस्था, मन्दिर, भजनकीर्तन समूह एवम् व्यक्तिगत प्रयोजनको लागि मादल खरिद हुने गरेको छ ।
यहाँको बजारमा रु दुई हजार ५०० देखि रु आठ हजार मूल्यसम्मका मादल तथा रु १४ हजारसम्मका ढोलक (नेवारी समुदायमा प्रयोग हुने ठूलो मादल) बिक्री वितरण हुँदै आएका छन् । मादल बनाउन प्रयोग हुने सामग्री नेपालमै उत्पादन हुने भए पनि पछिल्लो समय भारतबाट आयाति रिङलाई समेत मादललाई आकर्षक देखाउन प्रयोग हुने गरेको छ । रासस














प्रतिक्रिया