सयपत्री फूलबाट वार्षिक चार लाख आम्दानी « Khabarhub

सयपत्री फूलबाट वार्षिक चार लाख आम्दानी


२२ कार्तिक २०८३, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

गुल्मी – बढ्दो बसाईसराईका कारण पछिल्लो समयमा गाउँघरमा खेतबारी बाँझिँदै गएका छन् । रोजगारी र अवसरको खोजीमा युवा पुस्ता विदेशिने क्रम बढ्दो छ । तर छत्रकोट गाउँपालिका–२ ग्वाघाकी ५२ वर्षीया लक्ष्मी महत्राले भने अरूले छाडेका बाँझो जग्गामा व्यावसायीक रुपमा फूलखेती गरेर मनग्य आम्दानी गर्दै आएकी छन् ।

महत्राले विगत पाँच वर्षदेखि बाँझो जग्गामा व्यावसायिक रुपमा सयपत्री फूल खेती गरेर पर्याप्त आम्दानी लिन थालेकी हुन् । गाउँमा बसाइँसराइका कारण प्रयोगविहीन बनेका जग्गालाई सदुपयोग गर्ने उद्देश्यले उनले स्थानीयको सहमतिमा रु पाँच हजारमा तीन रोपनी जग्गा भाडामा लिएर हाइब्रिड जातको सयपत्री फूल खेती गरेकी छन् । भारतको गोरखपुरबाट रु ८० हजारको बीउ ल्याएर सुरु गरेको उनको व्यवसाय अहिले आम्दानीसँगै गाउँमा कृषि उद्यमको गतिलो उदाहरणसमेत बनेको छ ।

महत्राले उत्पादन गरेका फूलको बजार व्यवस्थापनमा कुनै समस्या छैन । स्थानीय बलेटक्सारस्थित पैंचो पसलले उनले उत्पादन गरेका सबै फूल खरिद गर्दै आएको छ । पैंचो पसलले उनले उत्पादन गरेको फूल थोकमा प्रतिकिलो रु २२० का दरले १५ क्वीन्टल फूल खरिद गरेर लगिसेको छ ।

महत्राले थोकमा प्रतिकिलो रु २२० र खुद्रामा रु २५० का दरले फूल बिक्री गर्दै आएकी छन् । गत वर्ष मात्रै उनले रु तीन लाख ५० हजारको फूल बिक्री गरेकी थिइन् । यस वर्ष उत्पादन राम्रो भएकाले आम्दानीसमेत थप बढ्ने महत्राको भनाइ छ ।

सयपत्री फूलको खेती सुरु गरेको करिब ९० दिनमा उत्पादन लिन सकिने महत्राले बताइन् । एक महिना जति मल्चिङ गरेर राख्ने र त्यसपछि ब्याडमा बिरुवा तयार गरेपछि रोप्ने गरिन्छ । बिरुवालाई आवश्यक मल, पानी र नियमित स्याहार गर्न सके पर्याप्त उत्पादन लिन सकिने उनले बताइन् ।

अन्य कृषि उपजको तुलनामा फूल खेतीमा कम जोखिम र मनग्य आम्दानी हुने महत्राको अनुभव छ । बाँदरले पनि हानीनोक्सानी नगर्ने र चाँडै कुहिएर खेर नजाने भएका कारण फूल खेतीप्रति आकर्षण बढेको उहाँले बताउनुभयो । फूलमा डढेलो लाग्ने, मुन्टा मर्ने तथा किरा र पुतलीको प्रकोप देखिने समस्या भए पनि समयमै मलजल, भिटामिन र आवश्यक औषधि प्रयोग गरेर नियन्त्रण गर्न सकिने महत्राको भनाइ छ ।

महत्राको बारीमा ढकमक्क फुलेका सयपत्री फूलले उत्पादन र आम्दानी मात्रै बढाएका छैनन्, गाउँको आकर्षणसमेत बढाएका छन् । फूलबारीमा तस्बिर खिच्न र टिकटक बनाउन आउनेको समेत घुइँचो लाग्ने गरेको छ ।

महत्राको व्यवसायमा उहाँको परिवारजनको पनि साथ रहेको छ । उनको व्यवसायलाई श्रीमान र छोराबुहारीले पनि सघाउँदै आएको छ । गाउँमा प्रशस्त बाँझो जग्गा र कृषि सम्भावना रहेकाले विदेश जानुभन्दा स्वदेशमै मेहनत गर्न सके आत्मनिर्भर बन्न सकिने महत्राको विश्वास छ । मनमा इच्छाशक्ति, परिश्रम र उद्यमशीलता भए गाउँमै बसेर मनग्य आम्दानी गर्न सकिने उनले बताइन् ।

स्थानीयको माग अनुसार अझै तीन क्वीन्टल जति फूल तिहारका लागि राखिदिएको महत्राले बताइन् । उनले उत्पादन गरेको फूल प्रतिकिलो रु २२० का दरले बिक्री गर्दा यस वर्ष फूलबाट मात्रै रु तीन लाख ९६ हजार आम्दानी हुने देख्निछ । गत वर्ष रु तीन लाख ५० हजारको फूल बिक्री गर्नुभएकी महत्राले यस वर्ष त्यो भन्दा बढी आम्दानी हुने बताइन् ।

प्रकाशित मिति : २२ कार्तिक २०८३, आइतबार  ८ : २३ बजे

सयपत्री फूलबाट वार्षिक चार लाख आम्दानी

गुल्मी – बढ्दो बसाईसराईका कारण पछिल्लो समयमा गाउँघरमा खेतबारी बाँझिँदै

आजका समाचार : लक्ष्मी पुजामा झिलिमिली काठमाडौँ, सरकारमाथि कांग्रेसको आरोपै आरोप र सेनेगलमा डुङ्गा डुब्दा २१ जनाको मृत्यु

लक्ष्मी पूजाको रात झिलिमिली देखियो काठमाडौँ (तस्बिर) हिन्दु धर्मावलम्बीको दोस्रो

एनपीएल प्लेअफ दौड : कसको यात्रा सुरक्षित, कुन टिम छ संघर्षमा ?

नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करण अब रोमाञ्चक मोडमा

डोल्पा कारागारबाट फरार थप दुई कैदी जंगलबाट पक्राउ

काठमाडौँ – डोल्पास्थित कारागार कार्यालय दुनैबाट फरार भएका थप दुई

तिहारले आपसी एकता बलियो बनाओस्: कांग्रेस सभापति थापा

काठमाडाैँ – नेपाली कांग्रेसका सभापति गगन थापाले दीपावली तथा तिहारको