काठमाडौं- एक दशकको अवधिमा पाकिस्तानको कुल वैदेशिक ऋण झन्डै दोब्बरले बढेर १ खर्ब ३५ अर्ब १० करोड ७० लाख अमेरिकी डलर पुगेको छ । विश्व बैंकको इन्टरनेशनल डेट रिपोर्ट २०२६ अनुसार सन् २०१५ मा ६८ अर्ब ६७ करोड ३० लाख डलर रहेको पाकिस्तानको वैदेशिक ऋण सन् २०२५ सम्म आइपुग्दा उल्लेख्य रूपमा वृद्धि भएको हो ।
कुल वैदेशिक ऋणमध्ये सार्वजनिक तथा सरकार जमानी बसेको ऋण १ खर्ब ७ अर्ब ७ करोड ६० लाख डलर, निजी गैर-जमानी ऋण १७ अर्ब ५८ करोड डलर र अल्पकालीन ऋण १० अर्ब ४५ करोड डलर रहेको प्रतिवेदनमा उल्लेख छ । सार्वजनिक ऋणतर्फ बहुपक्षीय ऋणदातालाई तिर्नुपर्ने ५६ अर्ब ८३ करोड डलर, द्विपक्षीय ऋणदाताको ४२ अर्ब ४३ करोड डलर र निजी ऋणदाताको ७ अर्ब ८० करोड डलर रहेको छ ।
पाकिस्तानको सबैभन्दा ठूलो एकल ऋणदाता चीन रहेको छ, जसलाई २२ अर्ब ४० करोड डलर तिर्न बाँकी छ । त्यसैगरी विश्व बैंकको १९ अर्ब २० करोड डलर र एसियाली विकास बैंक (एडीबी) को १६ अर्ब ८३ करोड डलर ऋण रहेको छ । आधिकारिक ऋणदाताबाट लिइएको ऋणको औसत भुक्तानी अवधि १६ वर्ष, सहुलियत (ग्रेस) अवधि ४ वर्ष र औसत ब्याजदर ३.६ प्रतिशत रहेको छ भने निजी ऋणको औसत ब्याजदर ८.६ प्रतिशत र भुक्तानी अवधि ३ वर्ष मात्र रहेको छ ।
सन् २०२५ मा चीनले पाकिस्तानको २ अर्ब डलर ऋणको भाका थप गरिदिएको थियो भने अन्तर्राष्ट्रिय मुद्रा कोष (आईएमएफ) ले दीर्घकालीन आर्थिक स्थायित्वका लागि २ अर्ब ३० करोड डलर बराबरको नयाँ कर्जा प्रवाह गरेको थियो । मध्यपूर्व, उत्तर अफ्रिका, अफगानिस्तान र पाकिस्तान क्षेत्रको कुल राष्ट्रिय आयको तुलनामा वैदेशिक ऋणको अनुपात २६.७ प्रतिशतबाट बढेर २९.४ प्रतिशत पुगेको छ, जुन कुनै पनि क्षेत्रको एकै वर्षमा भएको सबैभन्दा ठूलो वृद्धि हो ।
यसैबीच, विश्वव्यापी रूपमा न्यून तथा मध्यम आय भएका देशहरू (एलएमआईसी) को कुल वैदेशिक ऋण ५.५ प्रतिशतले बढेर ९४ खर्ब डलरको कीर्तिमानी उचाइमा पुगेको प्रतिवेदनले देखाएको छ । अमेरिकी डलरको अवमूल्यन र निजी ऋणदाताहरूको पुनरागमनका कारण विकासोन्मुख देशहरूको ऋणभार बढेको हो । सन् २०२५ मा यी देशहरूले ऋण सेवा (साँवा र ब्याज) बापत १.४ खर्ब डलर भुक्तानी गरेका छन्, जुन लगातार पाँचौँ वर्षको वृद्धि हो । यद्यपि, सन् २०२४ मा ११८ अर्ब ४० करोड डलरले ऋणात्मक रहेको दीर्घकालीन ऋण प्रवाह सन् २०२५ मा ४५ अर्ब ४० करोड डलरले धनात्मक बनेको छ ।














प्रतिक्रिया