काठमाडौं- घरेलु मागमा भएको सुधारसँगै नयाँ व्यवसाय विस्तार भएपछि भारतको प्रमुख सेवा क्षेत्र अक्टोबर महिनामा पछिल्लो चार महिनायताकै तीव्र गतिमा विस्तार भएको छ । हालै सार्वजनिक एक सर्वेक्षण अनुसार, यद्यपि अन्तर्राष्ट्रिय अर्डर कमजोर हुँदा रोजगारी सिर्जनाको गति भने सुस्त देखिएको छ ।
एचएसबीसीको इन्डिया सर्भिसेज पर्चेजिङ म्यानेजर्स इन्डेक्स (पिएमआई) सेप्टेम्बरको ५५.२ बाट बढेर अक्टोबरमा ५५.८ पुगेको छ । यो प्रारम्भिक अनुमान ५६.२ भन्दा कम रहे पनि ५०.० भन्दा माथिको सूचकाङ्कले आर्थिक विस्तारलाई सङ्केत गर्छ । मागको प्रमुख सूचक मानिने नयाँ व्यवसाय विशेषगरी बलियो घरेलु अर्डरका कारण जुन महिनायताकै तीव्र दरमा बढेको छ । तर, अन्तर्राष्ट्रिय माग भने कमजोर रह्यो, जहाँ नयाँ निर्यात व्यवसायको वृद्धि ४५ महिनायताकै कमजोर विन्दुमा झरेको छ ।
रोजगारी वृद्धि लगभग ठप्प जस्तै बनेको छ र नयाँ भर्ती जुन महिनाकै स्तरमा पुगेको छ, जुन पछिल्लो १० महिनायताकै सुस्त गति हो । ग्राहकहरूसँग लिइने मूल्य चार महिनायताकै सुस्त गतिमा बढेकाले मुद्रास्फीतिको दबाब कम भएको छ । कम्पनीहरूले बिजुली, श्रम, कच्चा पदार्थ र ढुवानी लागत बढेको जनाए तापनि समग्र लागत मुद्रास्फीति छ वर्षभन्दा बढी समययताकै न्यून विन्दुमा झरेको छ ।
सेप्टेम्बरको तुलनामा व्यावसायिक आत्मविश्वासमा गिरावट आएको छ र यो सूचकाङ्क दीर्घकालीन औसतभन्दा तल नै रहँदा वृद्धि सम्भावनाप्रति सतर्क आशावाद देखिएको छ । उत्पादन र सेवा दुवै क्षेत्रलाई समेट्ने समग्र कम्पोजिट पिएमआई सूचकाङ्क सेप्टेम्बरको ५५.९ बाट बढेर अक्टोबरमा ५६.२ पुगेको छ, जुन पछिल्लो चार महिनायताकै उच्च हो ।














प्रतिक्रिया