म्यादी प्रहरीले कति पाउनेछन् सुविधा ? « Khabarhub

म्यादी प्रहरीले कति पाउनेछन् सुविधा ?


२४ पुस २०८२, बिहीबार  

पढ्न लाग्ने समय : 2 मिनेट


264
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – नेपाल प्रहरीले आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि एक लाख ३३ हजार ९८० जना निर्वाचन प्रहरी (म्यादी) को भर्ना आह्वान गरेको छ । प्रहरी प्रधान कार्यालयले आज सूचना जारी गर्दै इच्छुक योग्यता पुगेका उम्मेदवारलाई भर्ना प्रक्रियामा सहभागी हुन सूचित गरेको हो ।

निर्वाचन प्रहरीका लागि यही पुस २५ गतेदेखि आगामी माघ १ गतेसम्म ७७ वटै जिल्ला प्रहरी कार्यालयमा दरखास्त दिन सकिने छ । दरखास्त फारम दर्ता गर्ने अन्तिम मितिसम्म १८ वर्ष पूरा भई ५४ वर्ष ननाघेको हुनुपर्ने प्रहरी प्रधान कार्यालयले जनाएको छ।

निर्वाचन प्रहरीमा नेपाली नागरिक, साधारण लेखपढ गर्न जान्ने, नैतिक पतन देखिने कुनै फौजदारी अभियोगमा अदालतबाट सजाय नपाएको, भर्ना हुने समयमा कुनै राजनीतिक दलको सदस्य नभएको, शारीरिक तथा मानसिक रूपमा स्वस्थ्य रहेको, आतङ्ककारी तथा विध्वंसात्मक सङ्गठनको सदस्य नरहेका व्यक्तिले फारम भर्न सक्ने केन्द्रीय प्रहरी प्रवक्ता एवं प्रहरी नायब महानिरीक्षक अबिनारायण काफ्लेले जानकारी दिए ।

नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल नेपालबाट सेवा निवृत्त पूर्वसुरक्षाकर्मी वा पूर्ववन रक्षक तथा सुरक्षा सङ्गठनमा गत माघदेखि यही पुस मसान्तसम्म विभिन्न पदमा भर्नाका लागि आवेदन दिई शारीरिक तन्दुरुस्ती र स्वास्थ्य परीक्षण उत्तीर्ण भएका व्यक्तिलाई निर्वाचन प्रहरीका रूपमा छनोट गरिने प्रहरी प्रधान कार्यालयले जनाएको छ ।

त्यस्तै यसअघि सम्पन्न प्रतिनिधिसभा, प्रदेशसभा र स्थानीय तहका निर्वाचनमा म्यादी प्रहरीका रूपमा भर्ना भई सन्तोषजनक काम गरेका व्यक्ति तथा विदेशी मित्रराष्ट्रका सुरक्षा निकायमा काम गरी सेवा निवृत्त भएका नेपाली नागरिकलाई निर्वाचन प्रहरीमा छनोट गरिने प्रहरी नायब महानिरीक्षक काफ्लेले बताए ।

उनका अनुसार आगामी माघ ५ गतेदेखि ९ गतेसम्म आवेदकमध्येबाट प्रारम्भिक छनोट गरिनेछ भने अन्तिम नतिजा माघ १२ गते प्रकाशित गर्ने कार्यतालिका रहेको छ । माघ १५ देखि २४ गतेसम्म निर्वाचन प्रहरीलाई तालिम तथा प्रशिक्षण दिइनेछ ।

निर्वाचन प्रहरीको कार्यअवधि नियुक्ति पाएको मितिले ४० दिन वा नेपाल सरकारले तोकेबमोजिम हुनेछ । निर्वाचनको अवधिका आधारमा निर्वाचन प्रहरीको कार्यअवधि हेरफेर भएमा सोहीअनुसार हुने सूचनामा उल्लेख छ ।

निर्वाचन प्रहरी छनोटका लागि सरकारले निर्वाचन प्रहरी भर्ना छनोट, नियुक्ति तथा परिचालनसम्बन्धी एकीकृत (नेपाल प्रहरी तथा सशस्त्र प्रहरी बल, नेपाल) कार्यविधि २०८२ स्वीकृत गरिसकेको छ ।

निर्वाचन प्रहरीले कति पाउनेछन् सुविधा ?

निर्वाचन प्रहरीले नेपाल प्रहरी जवानको सुरु तलब स्केलसरह प्रतिदिन आठ सय ६९ रुपैयाँ ४० पैसाका दरले ४० दिनसम्मका लागि ३४ हजार ७७६ पाउनेछन् ।

निर्वाचन प्रहरीलाई सम्बन्धित जिल्लाको नेपाल प्रहरीले पाए सरहको दररेटअनुसार प्रतिनिर्वाचन प्रहरी ४० दिनको लागि खाद्यान्नबापतको रकम निजको व्यक्तिगत बैंक खातामा उपलब्ध गराइने प्रहरी नायब महानिरीक्षक काफ्लेले जानकारी दिए।

उनका अनुसार निर्वाचनको क्रममा खटिने निर्वाचन प्रहरीलाई खटिएको ठाउँमा आउने र जाने तयारीस्वरुप प्रतिनिर्वाचन प्रहरी एक पटकको लागि एकमुष्ट आठ सय छयालीसका दरले तयारी खर्च उपलब्ध गराइनेछ ।

प्रतिदिन प्रतिनिर्वाचन प्रहरी तीन सयको दरले चार दिनका लागि एकमुष्ट एक हजार २०० खाजा खर्च उपलब्ध हुनेछ । नेपाल प्रहरीको प्रधान कार्यालयबाट तोकिएबमोजिमको दररेटका आधारमा पोसाकबापतको रकमसमेत निर्वाचन प्रहरीले पाउनेछन् ।

कर्तव्य पालनको सिलसिलामा निर्वाचन प्रहरी घाइते भएमा निज स्वयम्ले र मृत्यु भएको खण्डमा निजको नजिकको हकदारले नेपाल सरकारबाट तोकिएबमोजिमको क्षतिपूर्ति प्राप्त गर्नेछन् ।

प्रकाशित मिति : २४ पुस २०८२, बिहीबार  १० : ३४ बजे

तेहरानसहित इरानका विभिन्न शहरमा उग्र प्रदर्शन

तेहरान– इरानको राजधानी तेहरानसहित देशका विभिन्न शहरमा ठूलो सङ्ख्यामा प्रदर्शनकारी

श्रमदान गरेर चौतारी पुनर्निर्माण गरिँदै

पर्वत– पछिल्लो समय सडक विस्तार, बाँदर आतंक, धार्मिक आस्थामा कमीलगायतका

देवघाटमा झोलुङ्गे पुल मर्मत

नारायणगढ– माघे सङ्क्रान्ति मेलालाई मध्यनजर गर्दै पवित्र तीर्थस्थल देवघाटधाममा पुल

अमेरिकाको ‘पीस प्लान’ले रुस–युक्रेनमा हलचल

काठमाडौं– युक्रेन–रुस युद्ध रोक्न अमेरिकाले अघि सारेको प्रस्तावित ‘पीस प्लान’लाई

प्रतिनिधिसभा निर्वाचन : झापामा सात हजार सुरक्षाकर्मी परिचालन गरिने

झापा– आगामी फागुन २१ गते हुने प्रतिनिधिसभाको निर्वाचनका लागि जिल्लामा