माल्टा जाने सपना पूरा नहुँदै जेन-जी आन्दोलनका सहिद बने योगबहादुर  « Khabarhub

माल्टा जाने सपना पूरा नहुँदै जेन-जी आन्दोलनका सहिद बने योगबहादुर 


२४ पुस २०८२, बिहीबार  

पढ्न लाग्ने समय : 3 मिनेट


102
Shares
  • change font
  • change font
  • change font

चौतारा– सिन्धुपाल्चोकको बाह्रबिसे नगरपालिका–६ का २२ वर्षीय योगबहादुर श्रेष्ठ गाउँमै उच्च माध्यमिक तहको अध्ययन सकेर तीन वर्षअघि आत्मनिर्भर बन्ने सिलसिलामा काठमाडौँ गएका थिए । स्नातक तहमा अध्ययनरत श्रेष्ठ पछिल्लो समय माल्टा जाने तयारी गर्दै थिए। 

योगबहादुरका दाजु रामकृष्ण श्रेष्ठ अभिभावकका रुपमा प्रत्येक दिनजसो भाइलाई फोन गरिरहन्थे। दाजुभाइबीच पारिवारिक समृद्धिका विषयमा भलाकुसारी हुन्थे । गत भदौ २३ गते काठमाडौँमा जेन-जी पुस्ताको आयोजनामा सरकारलाई खबरदारी गरिएको थियो । 

सो क्रममा प्रहरी र विद्यार्थी झडप भयो । त्यसक्रममा प्रहरीले चलाएको गोली लागेर ठूलो सङ्ख्यामा आन्दोलनकारी युवा विद्यार्थीको निधन भयो । सोही घटनाका विषयलाई लिएर भोलिपल्ट काठमाडौँसहित देशभर विरोध प्रदर्शन भयो । 

योगबहादुर त्यसदिनको विरोध प्रदर्शनमा सामेल भए। गौशालाचोक नजिक गोली लागेर योगबहादुरको निधन भइसकेको रहेछ । भदौ २४ गते दिउँसो २ बजेतिर रामकृष्णले काठमाडौँको हालखबर बुझ्न भाइ योगबहादुरलाई फोन गए। फोन उठे पनि तर त्यो आवाज भाइको थिएन ।

‘भाइ आन्दोलनस्थलमै गोली लागेर ढलिसकेका रहेछन्, अर्को एक जनाले फोन उठाएर तपाईंको मान्छेलाई एम्बुलेन्समा लगेको छ भनेपछि हामी अत्तालियौँ, उनलाई रातभर काठमाडौँका अस्पतालमा खोज्यौँ, पछि बुझ्दै जाँदा त्रिवि शिक्षण अस्पतालमा भाइको शव फेला पर्यो,’ गहभरि आँशु पार्दै रामकृष्णले भने। 

योगबहादुरलाई आन्दोलनका क्रममा कोखामा गोली लागेको रहेछ । 

‘भ्रष्टाचारमुक्त देश माग्दा भाइले गोली खाएर ज्यान गुमाउनुपर्‍यो , जसले सिङ्गो परिवार मर्माहत त भएको छ, त्यससँगै बलिदानी खेर जाला भन्ने चिन्ताले पिरोलेको छ,’ दाजु रामकृष्णले भने। 

योगबहादुर जेन जी आन्दोलनमा सहभागी भएका बारेमा परिवारजनलाई थाहै थिएन । परिवारजनलाई भाइ कोठामै बसेको होला भन्ने लागेको थियो ।

 ‘उ आन्दोलनमा गएको हामीलाईपछि मात्रै थाहा भयो, यस्तो घटना घट्ला भन्ने कल्पना पनि थिएन,’ रामकृष्णले भने। 

गाउँमै हुँदा पनि योगबहादुर दुःखी गरिबको सेवामा तल्लिन थिए। विपन्न र उपचार नपाएर नागरिकको मृत्यु भएका घटनाले उनलाई घोचिरहने गथ्र्यो । योगबहादुर पुतलीसडकमा फूपुको घरमा बस्थे। योगबहादुरको निधनको खबर सुनेपछि कामका सिलसिलामा बाह्रबिसे बजार झर्नुभएका दाजु रामकृष्ण सबै काम छाडेर हत्तपत्त घर फर्किए । 

काठमाडौँमा भएका आफन्तलाई फोन गरेर भाइका बारेमा बुझ्न आग्रह गरे। तर, भाइको बारेमा केही जानकारी पत्ता लागेन । त्यो दिन सम्झदै दाजु रामकृष्णले भने,’त्यो दिन भाइको अवस्था पत्ता लगाउनै सकिएन ।’

भाइको मोबाइल, कलेजको परिचयपत्र केही नहुँदा अस्पतालले समेत पहिचान गरेर जानकारी दिन सकेनन् । रातिसम्मै आफन्त र साथीसँग सोधपुछ चलिरह्यो । कतै समाचार वा सामाजिक सञ्जालमा गोली लागेर मृत्यु भएको भन्ने सुन्दा पनि उनको परिवार आत्तिन्थ्यो । रातभर जागै बसे पनि परिवारले योगबहादुरको खबर पाएन । भदौ २५ गते बिहानै बुबा तिलकबहादुर र आमा देवीमायासहित परिवारजन काठमाडौँ पुगे। 

‘त्यहाँ गएर खोजबिन गर्दा धेरै घाइतेलाई सिभिल अस्पतालमा राखिएको थाहा पाएँ । त्यहाँ गएँ तर योगबहादुर भेटिएनन् । अस्पताल–अस्पताल चहार्दै गएँ । घाइते र शव दुवै हेर्न थाले । जब शिक्षण अस्पतालको शवघर पुगेँ, त्यहाँ योगबहादुरको शव भेटियो’, दाजु रामकृष्णले भने। 

घरका कान्छो छोरा योगबहादुरको सानैदेखि आमाबुबालाई खुसी र सुखी राख्ने सपना थियो । रामकृष्णका अनुसार योगबहादुर कुनै राजनीतिक दलमा आबद्ध थिएनन्। जेन-जी आन्दोलनमा जानेबारे घरपरिवार कसैलाई जानकारी पनि थिएन । भदौ २३ गते काममा व्यस्त भएकाले रामकृष्णले दिउँसो मात्र फोन भाइलाई फोन गरेका थिए। उनलाई योगबहादुर कोठामै छ होला भन्ने लाग्थ्यो । 

‘तर अब उ त गइसक्यो । भाइको बलिदान खेर नजाओस् भन्ने परिवारको चाहना छ’, दाजु रामकृष्णले भने। 

सहिद परिवार व्यक्तिगत भन्दा पनि सामूहिक रूपमै अगाडि बढ्नुपर्ने रामकृष्णको धारणा छ । जेन-जी आन्दोलनले चाहेजस्तो परिवर्तन हुनुपर्ने उनी बताउँछन्। 

‘यति ठूलो बलिदान, पुरानै नेता र दललाई प्राथामिकता दिन भएको होइन, निर्वाचनबाट नयाँ शक्ति आउनैपर्छ’, उनले भने। 

जेन-जी आन्दोलनको बलमा गठित सरकारले आगामी फागुन २१ गते प्रतिनिधिसभा सदस्य निर्वाचन घोषणा गरेको छ । निर्धारित मितिमै निर्वाचन सम्पन्न गराउन सरकारले राजनीतिक दल, जेन-जी पुस्तासँग निरन्तर छलफल र संवादलाई अघि बढाइरहेको छ । 

जेन-जी आन्दोलनमा ज्यान गुमाएकामध्ये ४५ जनालाई सरकारले जेन-जी सुशासन योद्धा घोषणा गरेको छ । जेन-जी सहिद परिवारलाई सरकारले राहतस्वरुप  १५ लाख आर्थिक सहयोग गसिकेको छ । सहिद परिवारलाई रोजगारी र जीविकोपार्जनका लागि मासिक भत्ता दिने योजना अघि बढाएको छ ।

रासस

प्रकाशित मिति : २४ पुस २०८२, बिहीबार  २ : ०३ बजे

बाजुरामा क्षयरोगबाट १८ जनाको मृत्यृ

बाजुरा- जिल्लामा पाँच वर्षको अवधिमा क्षयरोगका कारण १८ जनाको मृत्यु

सिराहाको गोलबजारबाट खैरो हिरोइनसहित दुई जना पक्राउ

सिरहा- सिरहाको गोलबजारबाट लागुऔषध खैरो हिरोइनसहित दुई जनालाई प्रहरीले पक्राउ

४२ प्रतिशत क्षयरोगका बिरामी अझै उपचार बाहिर

काठमाडौं – सन् २०३५ सम्म क्षयरोग महामारी अन्त्य गर्ने र

पोखरामा ‘अपरेसन ३६५’: चार सय १४ मोटरसाइकल समातिए

कास्की– जिल्ला प्रहरी कार्यालय कास्कीले सञ्चालन गरेको ‘अपरेसन ३६५’ अन्तर्गत

चन्द्रनिगाहपुरमा नक्कली सुनसहित चारजना पक्राउ

रौतहट- प्रहरीले रौतहटको चन्द्रनिगाहपुरस्थित जगत रिसोर्ट होटलबाट नक्कली सुनसहित चारजनालाई