काठमाडौँ- ‘मन लागे भोट देऊ, मन नलागे नदेऊ’- यो निर्वाचनको प्रचारका क्रममा पूर्व शिक्षामन्त्री समेत रहेका स्वतन्त्र उम्मेदवार महावीर पुनले पटक–पटक दोहोर्याएको वाक्य हो । भुइँतहकै लवजमा गरिएको यो प्रचार निकै भाइरल पनि भयो । यति मात्रै होइन, म्याग्दीमा उनले आफूलाई स्थानीय शैलीमै उतारेर चुनाव पनि फराकिलो मतले जिते ।
उसो त पुन कुनै पद वा शक्तिमा हुँदा होस् वा नहुँदा, सामान्य नागरिकको हैसियत र हाउभाउमै देखिन्छन् । त्यसमाथि उनले आफ्नै जन्मथलो म्याग्दीबाट स्वतन्त्र उम्मेदवारी दिएका थिए । उनको त्यही सरल स्वभाव र तामझामबिनै जनतामाझ पुग्दा जित निकाल्न पनि सहज भयो । फागुन २१ मा भएको निर्वाचनमा लोकप्रिय मतसहित उनी प्रतिनिधि सभाको यात्रामा निस्किए।
पुनले २२ हजार ८५० मत ल्याउँदा उनका निकटतम प्रतिस्पर्धी नेकपा एमालेका हरिकृष्ण श्रेष्ठले ७ हजार ९१९ मत मात्रै प्राप्त गरे । जेन–जी आन्दोलनअघि उनी राष्ट्रिय आविष्कार केन्द्र र वर्षौँदेखि बन्द रहेको वीरगञ्ज कृषि औजार कारखाना सुधारका लागि प्रयासरत थिए । कारखाना ब्यूँत्याउन उनले आफ्नै संघर्ष र अनुभव समेटेर आत्मवृत्तान्त पुस्तक प्रकाशन गरे । उनी आफैँ पुस्तक बेच्न देशभर पुगे । महावीर ताप्लेजुङदेखि कैलालीसम्मका जिल्लामा किताब बेच्दै हिँडे।
पुस्तक बेचेर संकलित रकमबाट औजार कारखानाको स्तरोन्नति गर्ने उनको लक्ष्य छ । त्यही क्रममा जेन–जी अभियन्ताको माग अनुसार सुशीला कार्की नेतृत्वको सरकाले उनलाई शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयको जिम्मा दियो । मन्त्री बनेपछि मन्त्रालयमै आफैँले पकाउने, खाने, त्यहीँ बस्ने गरे । उक्त समय उनको चर्चा सञ्चार माध्यमदेखि सञ्जालमा पनि भइरह्यो ।
असोज ६ मा मन्त्रीको सपथ लिएका उनले माघ ६ गते राजीनामा दिएका थिए । ६ महिने सरकारमा चार महिना टिकेका उनले केही ऐन तथा नियमावली संशोधनमा सरकारले बेवास्ता गरेपछि मन्त्रीबाट राजीनामा दिएर सांसद बन्न होमिएको बताउँदै आएका छन् ।
निर्वाचन जितिसकेपछि विभिन्न पद र शक्तिका लागि संघर्ष र भेटघाट बढाउने सांसदहरूको पुरानो अभ्यास उनलाई रुचेन । त्यही अभ्यास तोड्दै उनी शपथ नखाँदासम्म मतदाता भेटघाट र पुस्तक बिक्रीमै लागे ।
वीरगञ्ज कृषि औजार कारखाना जुनसुकै अवस्थामा स्थापित गर्ने राष्ट्रको जिम्मेवारी उनले एक्लै उठाउन खोजिरहेका छन् । चैत १२ मा उनीसहित नवनिर्वाचित सांसदहरुले पद तथा गोपनीयताको शपथ लिए ।
शपथपछि पहिलोपटक चैत १९ गते गत बिहीबार पहिलो बैठक बस्दा उनले सिंहदरबारलाई विद्यालय र सदनलाई कक्षाकोठाको संज्ञा दिँदै पढ्न जान लागेको टिप्पणी गरेका थिए ।
‘लु आजदेखि त ! म सिंहदरबारको स्कूलमा पढ्न जाने हो बाई, उम्म, उम्म– हा, हा, हा । स्कूलमा पढ्न पाएकोमा क्या रमाइलो होई,’ उक्त दिन संसद् प्रवेश गर्नुअघि उनले सामाजिक सञ्जालमा पोस्ट गरेको भिडियोमा उल्लेख छ । सदनलाई सिकाइको क्षेत्र मान्नु पनि सामान्य हो । तर चैत १९ गतेको बैठकमा भने उनले आफू सदनमा आफू आउनै नपर्ने हुँदासमेत जनताले निर्वाचित गराएर पठाएको बताए ।
‘सर्वप्रथम त म एउटा अचम्मको सांसदको रुपमा यहाँ आएको छु, किनभने म फरक छु, बोल्ने तरिका पनि फरक छ । काम गर्ने तरिका पनि फरक छ। सर्वप्रथम म आफ्नो परिचय दिन चाहान्छु । आउनै नपर्ने मान्छे म, कसरी यो ठाउँमा आएँ भन्न पनि चाहन्छु,’ उनले संसदमै उभिएर भने ।
उनको उक्त अभिव्यक्ति सुनेर सदनमा सबै सांसदहरू गलल्ल हाँसे । उनको उक्त अभिव्यक्तिपछि जनमतलाई हलुका गरी लिएको भन्नेसम्मको चर्चा पनि भएको छ । यसबारे राजनीतिक विश्लेषक जैनेन्द्र जीवन भन्छन्, ‘उहाँमा कुनै लुकेको नियत देखिँदैन, वैकल्पिक शक्तिका लागि आएको ह्वीमले उहाँलाई पनि जितायो । तर देशको उच्च स्थानमा आइसकेपछि पदीय मर्यादालाई ध्यान राखे राम्रो हुन्थ्यो ।’
यस्तै त्रिचन्द्र कलेजका समाजशास्त्र अध्यापक प्रेम चलाउनेले आफूले पाएको मतको स्वामित्व लिँदै जिम्मेवार बन्न महावीरलाई सुझाए ।
उनले भने, ‘उहाँले जिम्मेवार बनेर जनमतको स्वामित्व लिँदै सम्बन्धित क्षेत्र र मुद्दामा बोल्दा राम्रो हुन्छ अन्यथा उहाँको आफ्नै शैली छ– जसलाई जनताले बुझेका छन् जस्तो लाग्छ ।’













प्रतिक्रिया