महावीरलाई पदीय मर्यादा धान्नै धौ धौ « Khabarhub

महावीरलाई पदीय मर्यादा धान्नै धौ धौ


२५ चैत्र २०८२, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


366
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- ‘मन लागे भोट देऊ, मन नलागे नदेऊ’- यो निर्वाचनको प्रचारका क्रममा पूर्व शिक्षामन्त्री समेत रहेका स्वतन्त्र उम्मेदवार महावीर पुनले पटक–पटक दोहोर्‍याएको वाक्य हो । भुइँतहकै लवजमा गरिएको यो प्रचार निकै भाइरल पनि भयो । यति मात्रै होइन, म्याग्दीमा उनले आफूलाई स्थानीय शैलीमै उतारेर चुनाव पनि फराकिलो मतले जिते ।

उसो त पुन कुनै पद वा शक्तिमा हुँदा होस् वा नहुँदा, सामान्य नागरिकको हैसियत र हाउभाउमै देखिन्छन् । त्यसमाथि उनले आफ्नै जन्मथलो म्याग्दीबाट स्वतन्त्र उम्मेदवारी दिएका थिए । उनको त्यही सरल स्वभाव र तामझामबिनै जनतामाझ पुग्दा जित निकाल्न पनि सहज भयो । फागुन २१ मा भएको निर्वाचनमा लोकप्रिय मतसहित उनी प्रतिनिधि सभाको यात्रामा निस्किए।

पुनले २२ हजार ८५० मत ल्याउँदा उनका निकटतम प्रतिस्पर्धी नेकपा एमालेका हरिकृष्ण श्रेष्ठले ७ हजार ९१९ मत मात्रै प्राप्त गरे । जेन–जी आन्दोलनअघि उनी राष्ट्रिय आविष्कार केन्द्र र वर्षौँदेखि बन्द रहेको वीरगञ्ज कृषि औजार कारखाना सुधारका लागि प्रयासरत थिए । कारखाना ब्यूँत्याउन उनले आफ्नै संघर्ष र अनुभव समेटेर आत्मवृत्तान्त पुस्तक प्रकाशन गरे । उनी आफैँ पुस्तक बेच्न देशभर पुगे । महावीर ताप्लेजुङदेखि कैलालीसम्मका जिल्लामा किताब बेच्दै हिँडे।

पुस्तक बेचेर संकलित रकमबाट औजार कारखानाको स्तरोन्नति गर्ने उनको लक्ष्य छ । त्यही क्रममा जेन–जी अभियन्ताको माग अनुसार सुशीला कार्की नेतृत्वको सरकाले उनलाई शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयको जिम्मा दियो । मन्त्री बनेपछि मन्त्रालयमै आफैँले पकाउने, खाने, त्यहीँ बस्ने गरे । उक्त समय उनको चर्चा सञ्चार माध्यमदेखि सञ्जालमा पनि भइरह्यो ।

असोज ६ मा मन्त्रीको सपथ लिएका उनले माघ ६ गते राजीनामा दिएका थिए । ६ महिने सरकारमा चार महिना टिकेका उनले केही ऐन तथा नियमावली संशोधनमा सरकारले बेवास्ता गरेपछि मन्त्रीबाट राजीनामा दिएर सांसद बन्न होमिएको बताउँदै आएका छन् ।

निर्वाचन जितिसकेपछि विभिन्न पद र शक्तिका लागि संघर्ष र भेटघाट बढाउने सांसदहरूको पुरानो अभ्यास उनलाई रुचेन । त्यही अभ्यास तोड्दै उनी शपथ नखाँदासम्म मतदाता भेटघाट र पुस्तक बिक्रीमै लागे ।

वीरगञ्ज कृषि औजार कारखाना जुनसुकै अवस्थामा स्थापित गर्ने राष्ट्रको जिम्मेवारी उनले एक्लै उठाउन खोजिरहेका छन् । चैत १२ मा उनीसहित नवनिर्वाचित सांसदहरुले पद तथा गोपनीयताको शपथ लिए ।

शपथपछि पहिलोपटक चैत १९ गते गत बिहीबार पहिलो बैठक बस्दा उनले सिंहदरबारलाई विद्यालय र सदनलाई कक्षाकोठाको संज्ञा दिँदै पढ्न जान लागेको टिप्पणी गरेका थिए ।

‘लु आजदेखि त ! म सिंहदरबारको स्कूलमा पढ्न जाने हो बाई, उम्म, उम्म– हा, हा, हा । स्कूलमा पढ्न पाएकोमा क्या रमाइलो होई,’ उक्त दिन संसद् प्रवेश गर्नुअघि उनले सामाजिक सञ्जालमा पोस्ट गरेको भिडियोमा उल्लेख छ । सदनलाई सिकाइको क्षेत्र मान्नु पनि सामान्य हो । तर चैत १९ गतेको बैठकमा भने उनले आफू सदनमा आफू आउनै नपर्ने हुँदासमेत जनताले निर्वाचित गराएर पठाएको बताए ।

‘सर्वप्रथम त म एउटा अचम्मको सांसदको रुपमा यहाँ आएको छु, किनभने म फरक छु, बोल्ने तरिका पनि फरक छ । काम गर्ने तरिका पनि फरक छ। सर्वप्रथम म आफ्नो परिचय दिन चाहान्छु । आउनै नपर्ने मान्छे म, कसरी यो ठाउँमा आएँ भन्न पनि चाहन्छु,’ उनले संसदमै उभिएर भने ।

उनको उक्त अभिव्यक्ति सुनेर सदनमा सबै सांसदहरू गलल्ल हाँसे । उनको उक्त अभिव्यक्तिपछि जनमतलाई हलुका गरी लिएको भन्नेसम्मको चर्चा पनि भएको छ । यसबारे राजनीतिक विश्लेषक जैनेन्द्र जीवन भन्छन्, ‘उहाँमा कुनै लुकेको नियत देखिँदैन, वैकल्पिक शक्तिका लागि आएको ह्वीमले उहाँलाई पनि जितायो । तर देशको उच्च स्थानमा आइसकेपछि पदीय मर्यादालाई ध्यान राखे राम्रो हुन्थ्यो ।’

यस्तै त्रिचन्द्र कलेजका समाजशास्त्र अध्यापक प्रेम चलाउनेले आफूले पाएको मतको स्वामित्व लिँदै जिम्मेवार बन्न महावीरलाई सुझाए ।

उनले भने, ‘उहाँले जिम्मेवार बनेर जनमतको स्वामित्व लिँदै सम्बन्धित क्षेत्र र मुद्दामा बोल्दा राम्रो हुन्छ अन्यथा उहाँको आफ्नै शैली छ– जसलाई जनताले बुझेका छन् जस्तो लाग्छ ।’

प्रकाशित मिति : २५ चैत्र २०८२, बुधबार  ९ : ३९ बजे

पौवादुङमा गाउँपालिकाले बाँदरलाई ‘बन्ध्याकरण’ गर्ने

भोजपुर– भोजपुरको पौवादुङमा गाउँपालिकाले बाँदर आतङ्क नियन्त्रण गर्न बाँदरलाई बन्ध्याकरण

कङ्गोमा इबोला सङ्क्रमण बढ्दै

एजेन्सी– डेमोक्र्याटिक रिपब्लिक अफ कङ्गो (डीआरसी) मा मे १५ मा

एकतीस करोडभन्दा बढी राजस्व सङ्कलन

काँक्रेविहार– कर्णाली प्रदेशका सुर्खेत, जुम्ला र चौरजहारी यातायात कार्यालयबाट चालु

प्रधानमन्त्री शाह काठमाडौं प्रस्थान

चितवन- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को महाधिवेशनमा सहभागी हुन यहाँ आएका

दुग्ध उत्पादनलाई प्रोत्साहन गर्न किसानलाई अनुदान

त्रिवेणी– कावासोती नगरपालिकाले दुग्ध उत्पादनलाई प्रोत्साहन गर्न किसानलाई उत्पादनका आधारमा