बालेन सरकारको अर्थनीति कांग्रेसी विरासतले हाँक्ने « Khabarhub

बालेन सरकारको अर्थनीति कांग्रेसी विरासतले हाँक्ने



काठमाडौं– नेपालको राजनीतिमा ‘जेनजी’ पुस्ताको आन्दोलन र फागुन २१ गतेको प्रतिनिधिसभा सदस्य निर्वाचनले मुलुकको राजनीतिक शक्ति सन्तुलनमा ठूलो फेरबदल ल्यायो ।

फागुन २१ गतेको निर्वाचनपश्चात् राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को उदयले सत्ताको परम्परागत समीकरण भत्काएर मुलुकमा नयाँ र रोचक शक्ति सन्तुलन पैदा गरेको छ ।

वालेन्द्र शाह (बालेन) को नेतृत्वमा रास्वपा सरकार बनेसँगै सिंहदरबारमा नयाँ अनुहारहरूको प्रवेश भएको छ । सरकारले परम्परागत राजनीतिक दलका मुख्य नेतृत्वमाथि एकाएक विभिन्न मुद्दामा अनुसन्धान अघि बढाएको छ ।

तर, अर्थतन्त्रका प्रमुख ‘कमाण्ड पोस्ट’ हरूमा भने परम्परागत दलसँग नजिक रहेर सत्ताअभ्यास गरेका व्यक्तिहरूकै बर्चस्व हुन पुगेको छ ।

प्रधानमन्त्री बालेनले आफ्नो आर्थिक टिममा यस्ता व्यक्तिहरूलाई चयन गरेका छन्, जसको प्राज्ञिक र व्यवसायिक छवि उच्च छ, तर उनीहरूको राजनीतिक सम्बन्ध भने नेपाली कांग्रेससँग गहिरो र लामो छ ।

अर्थशास्त्री डा स्वर्णिम वाग्लेले बालेन सरकारमा अर्थमन्त्रालय सम्हालेका छन् । अन्तर्राष्ट्रिय ख्यातिप्राप्त अर्थशास्त्री डा. वाग्ले लामो समय नेपाली कांग्रेसको वैचारिक धारमा कांग्रेसकै सरकारको तर्फबाट योजना आयोगको उपाध्यक्षसमेत बनिसकेका थिए ।

वाग्लेले रास्वपाको राजनीतिलाई बौद्धिक जग प्रदान गरेको पनि धेरैले विश्लेषण गरेको पाइन्छ । तर, कांग्रेसी विरासतले गर्दा उनले पुरानो प्रणालीलाई कसरी सुधारको पहल गर्लान् भन्ने जिज्ञासा उठ्ने गरेको पाइन्छ ।

सरकारले मंगलबारमात्रै मन्त्रिपरिषद्को बैठकबाट कांग्रेस नजिक रहेर काम गर्दै आएका नेपाल राष्ट्र बैंकका पूर्व कार्यकारी निर्देशकडा. गुणाकर भट्टलाई राष्ट्रिय योजना आयोगको उपाध्यक्षमा नियुक्त गरेको छ । डा. भट्टलाई कांग्रेसकै सिफरिसमा अघिल्लो सरकारले राष्ट्र बैंकको गभर्नरमा नियुक्त गर्न खोजेकोमा असफल भएको थियो ।

नेपाल राष्ट्र बैंकको कार्यकारी निर्देशक र प्रवक्ताको रूपमा लामो अनुभव सँगालेका उनी व्यावसायिक कर्मचारीतन्त्रीय पृष्ठभूमिबाट आएको देखिए पनि उनको कार्यशैली र नीतिगत झुकाव स्थापित आर्थिक संरचनासँगै मेल खाने पनि टिप्पणी गरेको पाइन्छ ।

त्यस्तै, राष्ट्र बैंकका हालका गर्भनर प्रा.डा. विश्व पौडेल पनि कांग्रेसमा नै लामो समय क्रियाशील भएका व्यक्ति हुन् । उनी ०७९ को निर्वाचनमा कांग्रेसको तर्फबाट चितवनमा उठेर पराजित भएका थिए ।

क्षमताको विषयमा कुनै प्रश्न नउठेका प्राडा पौडेलको बालेन सरकारको आर्थिक नीति तथा कार्यक्रमलाई सफल बनाउने विषयमा महत्वपूर्ण भूमिका निर्णायक हुन्छ ।

सामाजिक सञ्जालमार्फत संगठित भएर भदौ २३ र २४ गते गरिएको ‘जेन–जी’ पुस्ताको आन्दोनको पृष्ठभूमिमा भएको निर्वाचनले दशकौँदेखि जरा गाडेर बसेका पुराना दलहरूलाई किनारा लगाउँदै रास्वपालाई सत्ताको बागडोर सुम्पिएको थियो ।

रास्वपाका नेताहरूकै औपचारिक धारणाअनुसार यो परिवर्तन केवल सत्ता हस्तान्तरण मात्रै थिएन, बरु भ्रष्टाचारविरुद्धको आक्रोश र सुशासन प्रतिको तीव्र चाहनाको परिणाम थियो । रास्वपाले नयाँ ‘थिति बसाल्ने’ नारा दिँदै आएको छ, जसको मुख्य आधार भ्रष्टाचार निवारण, सुशासन, र आर्थिक सुधार हुन् ।

१९ वर्षदेखि नेपाली राज्यसत्तामा उदारवादी प्रजातान्त्रिक राजनीतिक कित्ताको नेतृत्व कांग्रेस र वामपन्थी राजनीतिका एमाले र माओवादीले नेतृत्व गर्दै प्रतिस्पर्धात्मक सहभागिता जनाउँदै आएका थिए । त्यसअघि ०४६ सालदेखि ०६२ सम्म पनि सत्तामा विशेषगरी कांग्रेस र एमालेले नै प्रतिस्पर्धात्मक सहभागिता जनाउँदै आएका थिए ।

विशेषगरी परम्परागत कार्यशैली, भ्रष्टाचार र नातावातको विरोध गर्दै भएको जेनजी आन्दोलनको धरातलमा निर्वाचनमार्फत नयाँ र बलियो जनादेश प्राप्त गरेको सरकारमा पुरानो सत्ताअनुभव र सम्बन्ध भएका अनुहार आउँदा सरकारले कति नवीनता दिनसक्छ भन्ने जिज्ञासा पनि पैदा गरेको छ ।

यद्यपि, वर्तमान सरकारको तर्फबाट अर्थतन्त्रको बागडोर सम्हाल्न पुगेका व्यक्तिहरूको क्षमतामा भने सार्वजनिक प्रश्न उठेको भने पाइँदैन ।

रास्वपाले आफ्नो वाचापत्रमै प्रष्टसँग पार्टीले उदार अर्थनीतिअनुसार काम गर्ने विषय उल्लेख छ । कांग्रेस पनि उदार अर्थनीतिमा विश्वास गर्ने तर लोकतान्त्रिक समाजवादी पार्टी हो ।

रास्वपा सरकारको अर्थतन्त्रका तीनवटै प्रमुख पद (अर्थ मन्त्रालय, राष्ट्र बैंक, र योजना आयोग) मा कांग्रेसी पृष्ठभूमि वा सोही धारका विज्ञहरू हुनुका बहुआयामिक अर्थहरू छन् ।

अर्थविद् डा. गोविन्द नेपालले अहिलेको सरकार स्पष्ट उदारवादमा विश्वास गर्ने सरकार भएकाले सोही अनुसारका पात्रहरू नै नियुक्ति गरेको बताउँछन् ।

‘यो सरकार अलिक बढी उदारवादमा विश्वास गर्ने सरकार हो, त्यसैले यो सरकारले उदारवादी अर्थतन्त्रलाई विश्वास गर्ने मान्छेलाई नै नियुक्ति गरेको छ भन्ने लाग्छ’, उनले भने । तर, मुलुकको समृद्धिको दृष्टिकोणबाट हेर्दा भने सरकारले सबै विज्ञलाई समेटेर जानुपर्ने उनले बताए ।

नेपालले अर्थतन्त्रको हटसिटमा आइपुगेकाहरूले विगतको आफ्नो पृष्ठभूमिको आधारमा भन्दापनि सरकारलाई सफल बनाउने गरी काम गर्नेमा आफूलाई विश्वास लागेको पनि बताए । साथै, सो सरकारमा समाजवादी वा बामपन्थी अटाउन सक्ने सम्भावना आफूले नदेखेको पनि उनको भनाइ छ ।

‘यो सरकार उदार अर्थतन्त्रमै विश्वास गर्ने देखिएकोले यसमा समाजवादी वा वामपन्थी विचारधारा भएका अटाउँछन् जस्तो मलाई लाग्दैन’, उनले भने ।

अर्थमन्त्री डा. वाग्लेले यो सरकारले आगामी ५ वर्षभित्र अर्थतन्त्रको क्षेत्रको निकै सुशासन स्थापित गर्दै ठूलो सुधार गर्ने बताएका छन् । साथै, उनले यो सरकारले ०४८ सालयताको रूपान्तरणकारी बजेट ल्याउने समेत बताएका छन् ।

वालेन्द्रको नेतृत्व र जेन–जीको समर्थनमा बनेको सरकारले अर्थतन्त्रको कमान्ड अनुभवी र स्थापित विज्ञहरूलाई सुम्पिएर ‘सुरक्षित अवतरण’ को प्रयास गरेको देखिन्छ ।

कांग्रेसी विरासत बोकेका तर रास्वपाको झण्डामुनिका यी अर्थशास्त्रीहरूले यदि परम्परागत कर्मचारीतन्त्रीय ढिलासुस्ती र राजनीतिक दबाबलाई चिर्न सके नेपाली अर्थतन्त्रले नयाँ दिशा लिने निश्चित छ । अन्यथा, यो केवल ‘नयाँ बोतलमा पुरानै रक्सी’ जस्तो हुने जोखिम उत्तिकै रहेको विज्ञहरू बताउँछन् ।

प्रकाशित मिति : २५ चैत्र २०८२, बुधबार  ५ : ५३ बजे

जेन-जी आन्दोलनका सहिद परिवारलाई रोजगारी दिने प्राधिकरणको निर्णय

काठमाडौं – नेपाल विद्युत् प्राधिकरण सञ्चालक समितिको १०२९औँ बैठकले जेनजी

कोशीका मुख्यमन्त्री कार्कीलाई मातृ शोक

विराटनगर- कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कुमार कार्कीलाई मातृ शोक परेको

बस र ट्रक ठोक्किँदा १५ जना भारतीय तीर्थयात्री घाइते

म्याग्दी- म्याग्दीको बेनी नगरपालिका–९ जलेश्वरमा आज साँझ बस र ट्रक

संविधान संशोधन बहसपत्र कार्यदलको बैठकमा कसले के भने?

काठमाडौं- संविधान संशोधन बहसपत्र कार्यदलले राजनीतिक दलका प्रतिनिधिसँग छलफल गरेको

अनलाइन ठेक्का प्रणाली ह्याक गर्ने ६ जना पक्राउ

काठमाडौँ- सार्वजनिक खरिद प्रणाली (ई-गभर्मेन्ट प्रोक्यरमेन्ट सिस्टम) ह्याक गरी ठेक्काका