काठमाडौँ- सबिना मल्ल विगत २० वर्षदेखि राजधानीको थापाथलीस्थित सुकुम्वासी बस्तीमा बस्दै आएकी थिइन् । सरकारले डोजर चलाएर विस्थापित पारेपछि उनी होटेलमा कैदीजसरी बसिरहेकी छिन् ।
उनी र उनको परिवार यतिबेला बालाजुमा सरकारले व्यवस्था गरेको होटलमा बस्दै आएको छ । तर, आफूहरुको होटल बसाई कैदीभन्दा फरक नरहेको उनको भनाइ छ । ६ जनाको परिवारले जम्मा एउटा कोठामा निर्वाह गर्नुपर्दा सकस भएको उनले बताइन् ।
‘हामी दुई बुढाबुढी छौँ । दुई छोरीमध्ये एउटी २५ र अर्को १८ वर्षका छन् । २० वर्षको छोरो छ । बिहे भएकी जेठी छोरीको बच्चो छ,’ खबरहबसँग कुरा गर्दै उनले भनिन्, ‘हामी सबै एकै कोठामा बसेका छौँ । हुर्केबढेका छोराछोरीले एकै खाटमा सुत्नुपरेको छ । यो देख्दा मुटु खन्छ । एकदुई रात पो गुजारा हुन्छ, हामीले अझै कति यसरी बस्नुपर्ने होला ?’
रौतहटमा जन्मिएकी सबिना काम खोज्दै काठमाडौं आएकी थिइन् । किशोरी छँदा उनी गलैँचा कारखानामा काम गर्थिन् । काम गर्दैगर्दा उनले त्यहीँका कामदारसँग बिहे गरिन् । श्रीमानले मकवानपुरमा घर भएको बताएका थिए । तर, नागरिकता मकवानपुरबाट बनाएको भएपनि जिल्लामा श्रीमानसँग कुनै सम्पत्ति वा जग्गा जमिन भने थिएन ।
सम्पत्तिको नाममा जिल्लाबाट जारी नागरिकता मात्रै थियो । जीविकोपार्जनका लागि रोजगारीबाहेक अरु विकल्प थिएन ।
त्यसको लागि काठमाडौं नै उत्तम थियो । सुरुमा कोठा भाँडामा बसेका उनीहरुले पछि थापाथली सुकुम्वासी बस्तीमा एक टुक्रा जमिन पाए । त्यहाँ बसेको २० वर्षमा दुई छोरी र एक छोरा जन्मिए ।
सुखदुख गरेर हुर्किएका छोराछोरीलाई आज एउटै ओछ्यानमा सुताउनुपर्दा आमाको मन फाटेको छ । सानो नातीले खेल्ने ठाउँ पनि पाएको छैन । होटलको बसाइ जेलभन्दा खराब रहेको सबिना बताउँछिन् ।
‘न उमेर पुगेका न बच्चा कसैलाई पनि मिलाउन सकेको छैन । ठूला केटाकेटीले कुरा बुझ्छन्, चुप लाग्छन् । तर बच्चोलाई कसले बुझाइदिने ? खेल्ने ठाउँ नपाउँदा आत्तिएर रुन्छ ।’ उनले भनिन् ।
निर्दोष बच्चाले होटेलको कोठामा मन खोलेर रुन पनि नपाएको उनको भनाइ छ । ‘बच्चा रुँदा डिस्टर्ब भयो भनेर अर्को कोठाकाले गुनासो गरेका छन् । सरकार कति निर्दयी रहेछ, होटलको कोठाभित्र यसरी राख्नुभन्दा बरु जेलमै लगेर राखे हुन्छ ।’
त्यसैगरी सबिनाले होटलको खानामा पनि हेलचेक्र्याईँ हुने गरेको बताइन् । ‘सुरुको दिनमा राम्रै खाना दिएका थिए । पाँच दिनसम्म सरकारले राम्रै गर्यो भन्ने लागेको थियो । हामीले घरमा खाने भन्दा राम्रो खाना दिएका थिए । तर अहिले खानामा हेलचेक्र्याईँ गरिएको छ । कतिसम्म भने पिठो घोलेको दाल खुवाएका छन् । बासी खुवाएका छन् । होटलवालाले समेत हामीलाई मान्छे गनेनन्,’ उनले भनिन् ।
उनले आफ्ना बच्चाले पढ्न नपाएको दुखेसो पनि गरिन् । ‘सबैका छोराछोरी स्कुल गएका छन् । हाम्रा छोराछोरीले पढ्नु पर्दैन ? उनी सरकारसँग सोध्छिन्, ‘सुकुम्वासीका छोराछोरीले पढ्नु पर्दैन ? किताबकापी खै ? ड्रेस खै, स्कुल खै ? घरबारविहीन केटाकेटीको मनस्थिति कस्तो छ ? उनीहरुले कसरी पढ्छन् ? यी कुराको व्यवस्थाबिना किन हाम्रा टहरामा डोजर चलाइयो ?’
आफ्नो टहरो भत्किएको दिन सबिनालाई त्यति दुख लागेको थिएन । बालेन सरकारले राम्रै व्यवस्थापन गर्ला भन्ने उनलाई लागेको थियो । तर दिन बित्दै जाँदा सरकारले आफूहरुलाई बेवास्ता गरेको उनको अनुभव छ ।
उनले भनिन्, ‘खोलाको छेउ बर्खामा सधैँ डराएर बस्नुपर्ने बाध्यता थियो । प्रधानमन्त्रीले पनि बाढीबाट जोगाउन खोजिएको बताउनुभएको थियो । तर यत्तिका दिन हाम्रो व्यवस्थापनको लागि केही भएको छैन ।’
‘होटलको कोठामा परिवारको जिविको कति दिन चल्छ ?’ उनले भनिन्, ‘होटलमा एकदुई रात पो बस्न सकिन्छ । दिन बित्दै जाँदा पट्यार लाग्ने र निस्सासिने हुँदो रहेछ ।’
बस्तीमाथि सजिलै डोजर चलाउन सरकारले ललिपप देखाएपनि व्यवस्थापनको नाममा केही नगरेको उनको भनाइ थियो । ‘पहिलेका सरकारले पनि सुकुम्वासी बस्ती खाली गर्ने भनेको हो । तर हामी एकजुट भएर खाली गर्न दिएनौँ । जर्बजस्ती हटाउन सकेन । तर नयाँ सरकारले हामीलाई ललिपप देखायो, सपना बाँड्यो । हामी सजिलै टहरा छोडेर हिँड्यौँ । तर हाम्रो व्यवस्थापनमा सरकारले यत्तिका दिनसम्म एउटा सिन्को ढालेन ।’
सरकारप्रतिको अविश्वास र होटलमा बस्न नसकेपछि उनी शहरमा कोठा खोज्न हिँड्न थालेकी छिन् । कोठा खोज्न उनको पूरै परिवार नै लागेको छ । तर परिवार ठूलो भएको भनेर कसैले भाडामा दिएका छैनन् ।
उनले भनिन्, ‘सरकारले यसरी राख्छ भन्ने थाहा पाएको भए कस्सम छाती थाप्थेँ, तर टहरामा डोजर चलाउन दिन्नथेँ ।’
थातथलो नै उठिबास लगाएर सरकारले सुकुम्बासीप्रति अन्याय गरेको उनले बताइन् । ‘सरकारले हामीभित्र आक्रोश उब्जिन नदियोस् । अन्तिमसम्म पनि बालेनले गर्छ भन्नेमा छौँ । अरु सरकार भएको भए हामी बस्ती छोड्दैनथ्यौँ । उसैको मुख हेरेर छोडेका हौँ । उसैलाई भोट हाल्यौँ । अब उसैलाई मुर्दावाद भन्दै सडकमा आउने वातावरण नआओस्,’ सबिनाले चेतावनी दिइन् ।














प्रतिक्रिया