रोममा अमेरिका–इटाली संवाद « Khabarhub

रोममा अमेरिका–इटाली संवाद


२५ बैशाख २०८३, शुक्रबार  

पढ्न लाग्ने समय : 3 मिनेट


30
Shares
  • change font
  • change font
  • change font

रोम- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँगको युद्धका विषयमा सहयोग नगरेको भन्दै इटालीमाथि सार्वजनिक आलोचना गरेपछि वासिङ्टन र रोमबीच देखिएको असहजता कम गर्ने प्रयासस्वरूप अमेरिकी विदेशमन्त्री मार्को रुबियोले शुक्रबार इटालीकी प्रधानमन्त्री जोर्जिया मेलोनीसँग महत्त्वपूर्ण भेटवार्ता गरेका छन् । पछिल्ला दिनमा ट्रान्सअटलान्टिक सम्बन्धमा बढ्दो तनावबीच भएको यो भेटलाई कूटनीतिक दृष्टिले अर्थपूर्ण रूपमा हेरिएको छ ।

रुबियोले एक दिनअघि भ्याटिकनमा पोप लियो चौधौँसँग ‘मैत्रीपूर्ण र रचनात्मक’ भेटवार्ता गरेका थिए । युद्धविरोधी अभिव्यक्तिका कारण ट्रम्पले पोपको आलोचना गरेपछि रुबियोको रोम भ्रमण अझ बढी संवेदनशील बनेको विश्लेषण गरिएको छ । त्यसपछि शुक्रबार उहाँले रोमस्थित कार्यालयमा दक्षिणपन्थी नेतृ मेलोनीसँग प्रत्यक्ष वार्ता गरेका हुन् ।

मेलोनीलाई ट्रम्प प्रशासनको सबैभन्दा निकट युरोपेली सहयोगीमध्ये एक मानिन्छ । तर इरानसँगको युद्धका क्रममा पर्याप्त सहयोग नगरेको आरोप लगाउँदै ट्रम्पले हालै उनीमाथि तीखो टिप्पणी गरेका थिए । गत महिना एक इटालियन पत्रिकासँगको अन्तर्वार्तामा ट्रम्पले आफू मेलोनीको भूमिकाबाट ‘स्तब्ध’ भएको बताउँदै उनीसँग साहस हुने अपेक्षा गरेको तर आफू गलत सावित भएको टिप्पणी गरेका थिए ।

ट्रम्पको त्यो अभिव्यक्ति मेलोनीले अमेरिकी मूलका पहिलो पोप लियो चौधौँमाथि गरिएको ट्रम्पको आलोचनालाई अस्वीकार्य भनेको केही समयपछि आएको थियो । यसले व्यक्तिगत सम्बन्ध नजिक भए पनि इटाली र अमेरिकी प्रशासनबीच विदेश नीतिका केही मुद्दामा मतभेद बढ्दै गएको सङ्केत दिएको छ । हालै ट्रम्पले इरान युद्धमा इटालीले ‘कुनै सहयोग नगरेको’ भन्दै इटालीबाट अमेरिकी सेना फिर्ता बोलाउने चेतावनीसमेत दिएका थिए ।

यसले नाटो गठबन्धनभित्र अमेरिका र युरोपबीचको सम्बन्धलाई लिएर नयाँ बहस सुरु भएको छ । शुक्रबार रुबियोसँग छुट्टै भेट गरेका इटालीका विदेशमन्त्री एन्टोनियो ताजानीले अमेरिका र युरोपबीचको साझेदारी अझै अपरिहार्य रहेको बताए । उनले ट्रान्सअटलान्टिक सम्बन्धलाई कमजोर बनाउन नहुने धारणा राख्दै दुवै पक्ष एकअर्काका लागि आवश्यक रहेको उल्लेख गरे ।

ताजानीले बिहीबार पत्रकारहरूसँग कुरा गर्दै युरोपलाई अमेरिकाको र अमेरिकालाई युरोपको उत्तिकै आवश्यकता रहेको बताए । उनले मित्र राष्ट्रहरूबीच मतभेद हुन सक्ने भए पनि त्यस्ता विषय खुला रूपमा उठाउनु नै साँचो साझेदारीको विशेषता भएको धारणा व्यक्त गरे । उनका अनुसार सहयोगी हुनुको अर्थ आफ्ना अडान स्पष्ट रूपमा राख्दै साझा भूमिकाको खोजी गर्नु हो ।

रुबियोको भ्रमणका क्रममा इटालीको विदेश मन्त्रालयले उनको पारिवारिक पृष्ठभूमिसँग सम्बन्धित विशेष दस्तावेज पनि हस्तान्तरण गरेको थियो । क्युबाली मूलका अमेरिकी नागरिक रुबियोका पुर्खा इटालीसँग सम्बन्धित रहेको पुष्टि गर्ने ती कागजातलाई उनले ‘विशेष सम्मान’ र ‘भावनात्मक क्षण’ का रूपमा लिएका थिए ।

स्पेनिस भाषामा धाराप्रवाह बोल्ने रुबियोले आफू अब इटालियन भाषा सिक्ने तयारीमा रहेको पनि बताए । उनले अर्को पटक इटाली फर्किंदा इटालियन भाषामै भाषण दिने प्रयास गर्ने उल्लेख गरे । कूटनीतिक तनावबीच गरिएको यस्तो व्यक्तिगत र सांस्कृतिक संवादलाई सम्बन्ध सुधारतर्फको सकारात्मक सङ्केतका रूपमा पनि हेरिएको छ ।

इटालीका विदेशमन्त्री ताजानीले रुबियोसँग हर्मुज जलघाँटीको अवस्थाबारे पनि विस्तृत छलफल गर्ने बताएका छन् । इरानले प्रभावकारी रूपमा अवरुद्ध बनाएको उक्त समुद्री मार्ग अहिले विश्व ऊर्जा आपूर्ति र अन्तर्राष्ट्रिय व्यापारका लागि गम्भीर चिन्ताको विषय बनेको छ । दुवै पक्षबीच लेबनानको अवस्था, मध्यपूर्वीय सुरक्षा चुनौती तथा इरानसँग बढ्दो तनावबारे पनि कुराकानी हुने जनाइएको छ ।

त्यसैगरी भेनेजुएला, क्युबा र युक्रेन युद्धका विषय पनि छलफलको एजेन्डामा रहेका छन् । इटालियन अधिकारीहरूका अनुसार रोमले युक्रेन युद्धमा रुसविरुद्ध किएभलाई समर्थन गर्ने आफ्नो नीति कायम राखेको छ र त्यसबारे अमेरिकी पक्षसँग समन्वय जारी रहनेछ । यस हप्ताको सुरुमा मेलोनीले इटालीबाट अमेरिकी सेना फिर्ता लिने सम्भावित निर्णय आफ्नो नियन्त्रणभन्दा बाहिरको विषय भएको बताएकी थिइन् ।

उनले व्यक्तिगत रूपमा त्यसमा सहमत नरहेको पनि स्पष्ट पारेकी थिइन् । मेलोनीले इटालीले सधैँ आफ्ना अन्तर्राष्ट्रिय प्रतिबद्धता पूरा गर्दै आएको उल्लेख गरिन् । उनले विशेष गरी नाटोभित्र इटालीले अफगानिस्तान र इराकमा आफ्ना प्रत्यक्ष राष्ट्रिय हित नजोडिएको अवस्थामा समेत जिम्मेवारी निर्वाह गरेको स्मरण गराइन् ।

ट्रम्प प्रशासनले हाल स्पेनबाट अमेरिकी सेना फिर्ता गर्ने चेतावनी दिइसकेको छ भने पेन्टागनले जर्मनीबाट पाँच हजार अमेरिकी सैनिक हटाउने योजना सार्वजनिक गरिसकेको छ । यसले युरोपमा अमेरिकी सैन्य उपस्थितिको दीर्घकालीन रणनीतिबारे नयाँ प्रश्न उठाएको छ ।

आधिकारिक तथ्याङ्कअनुसार डिसेम्बर ३१, २०२५ सम्म इटालीमा १२ हजार ६६२ अमेरिकी सक्रिय सैनिक तैनाथ थिए । स्पेनमा तीन हजार ८१४ सैनिक रहेका थिए भने जर्मनीमा अमेरिकी सैनिकको सङ्ख्या ३६ हजार ४३६ पुगेको थियो । युरोपमा अमेरिकी सैन्य उपस्थिति पुनर्संरचना गर्ने सम्भावित योजनाले नाटो सदस्य राष्ट्रहरूमा रणनीतिक चासो र चिन्ता दुवै बढाएको छ ।

प्रकाशित मिति : २५ बैशाख २०८३, शुक्रबार  ६ : ०७ बजे

सचिवालय छल्ने दाउमा ओली, संकट टार्न केन्द्रीय कमिटीको सहारा !

काठमाडौं– गत भदौ २३ र २४ को दुई दिने जेन-जी

साप्ताहिक अर्थसंक्षेप : ऋण थप्दै सरकार, उद्योगीले पाए नयाँ नेतत्व र व्यवसायी फकाउँदै रवि

उद्योग वाणिज्य महासंघमा नयाँ नेतृत्व चयन, को–को भए निर्वाचित ?

सरकारलले दर्जनौँ बस्ती भत्काइसकेपछि सर्वोच्चले भन्यो : सुकुम्वासीलाई तत्काल नहटाउनू

काठमाडौं- वालेन्द्र शाह नेतृत्वको सरकारले काठमाडौं उपत्यका र बाहिरका दर्जनौँ

दोलखाका ४ गाउँपालिका पूर्णखोप सुनिश्चितता घोषणा

दोलखा- दोलखा जिल्लाका चारवटा गाउँपालिका पुर्णखोप सुनिश्चितता गाउँपालिका घोषणा गरिएको

नेपाल ‘ए’ द्वारा अमेरिका पराजित

काठमाडौं- एक दिवसीय खेलमा नेपाल ‘ए’ ले संयुक्त राज्य अमेरिकालाई