काठमाडौं- कुलमान घिसिङ अहिले आफ्नो उज्यालो नेपाल पार्टीको संगठन विस्तारमा देशभर दौडिरहेका छन् । धरानमा कोशीको भेला गरेर हर्कलाई टक्कर दिएका कुलमानले आफ्नो पार्टीले राजनीतिक यात्रालाई संयमित भएर अगाडि बढाइरहेको बताउँछन् । राष्ट्रिय स्वतन्त्र पार्टीसँग एकता प्रक्रिया भाँडिएपछि उनी समयसँगै आफूले राजनीतिक खेल बुझिसकेको धारणा राख्छन् ।
उनले हर्क र सुदनसँग अहिले एकताको प्रक्रिया नपुगेको, तर भविष्यमा मोर्चाबन्दी बनाएर अघि बढ्ने बाटाहरू खुला रहेको दाबी गरे । वैकल्पिक शक्तिबीच राजनीतिक हिसाबले कुराकानी अगाडि बढे पनि एकताको कुनै कुरा नभएको कुलमानको प्रष्टोक्ति छ ।
‘सुदनले तपाईँ र हर्कलाई मिलाउन खोज्दैछन् रे नि ?’ भन्ने प्रश्नमा कुलमानले भने, ‘परिस्थितिले के गर्छ थाहा छैन, तर अहिले केही पनि पाकेको छैन ।’ पूर्वको यात्रापछि सुदनसँग भेट भएको उनले स्वीकार गरेका छन् । सरकारको गतिविधिप्रति भने उनी सन्तुष्ट छैनन् ।
प्रधानमन्त्री वालेन्द्र शाहलाई लक्षित गर्दै उनले सरकारले हरेक निर्णयमा हतार गरिरहेको टिप्पणी गरे । यस्तो तरिकाले राजनीति स्थायी रूपमा अगाडि बढ्न नसक्ने उनको भनाइ छ । सरकारसँग काम गर्न पाँच वर्षको समय रहेकाले ‘तातै खान्छु र जलेर मर्छु’ भन्ने हिसाबमा नलाग्न उनले सुझाव दिए । कुलमानसँग गरिएको कुराकानी-
तपाईँ त सुदन किराती र हर्क साम्पाङसँग एकता संवादमा हुनुहुन्छ रे हो ?
राजनीतिक हिसाबले सबैसँग संवाद त हुन्छ, तर अहिलेसम्म हर्कजीसँग भेटघाट गरेर कुरा भएको छैन । एकताको विषयमा त्यस्तो केही छैन ।
सुदनसँग त भेटवार्ता नै भयो रे त ?
हो । उहाँ मलाई भेट्न आउनुभएको थियो । केही कुराहरू भए, तर पार्टी एकताको विषयमा धेरै कुरा भएको छैन। उहाँ आज श्रम संस्कृतितिर लाग्नुभएछ, शुभकामना । हाम्रो अहिले केही छैन ।
भनेपछि स्थानीय निर्वाचनसम्ममा उज्यालो र श्रम संस्कृतिबीच मोर्चा बन्ला ?
भविष्यमा के हुन्छ थाहा छैन। तत्कालैभन्दा चाहिँ मोर्चा बन्ने सम्भावना छैन । तर निर्वाचन आउन अझै केही समय लाग्ने भएकाले यी विषयहरूमा छलफल हुनसक्छ । हामी रणनीतिक तरिकाले अगाडि बढिरहेका छौं । तर हाम्रो कुनै तुस छैन ।
सुदनले तपाईँ र हर्कलाई मिलाउँछु भनेर अगाडि बढेका छन् रे नि ?
परिस्थितिले के गर्छ थाहा छैन, तर अहिले पनि केही पाकेको छैन। वैकल्पिक विचार भएका शक्तिहरू एक ठाउँमा आउनु स्वाभाविक मानौँ, तर अहिलेलाई केही तय भएको छैन ।
अहिले पार्टीको रणनीति के छ ?
पार्टी संगठन विस्तार गर्दैछौँ, साथीहरू जोड्दै छौँ र अगाडि बढ्दैछौँ। स्थानीय निकाय र प्रदेशलाई मध्यनजर गर्दै रणनीति बनाइरहेका छौँ । जनताका मुख्य समस्याहरू कसरी समाधान गर्न सकिन्छ र सरकारलाई कसरी घच्घच्याउन सकिन्छ भन्ने विषयमा पनि गम्भीर छौँ ।

हामी अहिले सबै जिल्लामा पुगेर संगठन विस्तार गर्ने र पार्टीबारे जनतालाई बुझाउने प्रयासमा छौँ । अहिले नै टाढाको राजनीतिक यात्रा गर्छौँ भनेर रोटी सेक्ने काम गर्दैनौँ । विस्तारै जनताले हाम्रो कुरा बुझिरहनुभएको छ र साथ दिइरहनुभएको छ । राजनीतिले हामीलाई अत्याएको छैन । हामी जनताको सेवा गर्न आएका हौँ, त्यसैले हतारमा कुनै निर्णय गर्ने पक्षमा छैनौँ ।
पूर्वका विभिन्न जिल्ला घुमेको देखियो, कस्तो छ माहोल ?
हाम्रो पार्टीको माहोल एकदमै राम्रो बनेको छ। धेरै साथीहरू हामीसँग जोडिनुभएको छ । पाँचथर, धरान, ताप्लेजुङ, तेह्रथुमलगायत विभिन्न जिल्लाबाट पार्टीमा प्रवेशको लहर राम्रो छ। धरानमा प्रदेशस्तरीय भेलामा पनि प्रवेश गर्ने र आफ्ना विचार राख्ने व्यक्तिहरू देख्दा हामी उत्साहित छौँ ।
अहिले संगठन कसरी निर्माण गरिरहनुभएको छ ?
हामीले स्थानीय तह र प्रदेश निर्वाचनलाई केन्द्रमा राखेर जनतासँग प्रत्यक्ष जोडिने अवसर पाएका छौँ । उहाँहरूका कुरा सुन्ने र समाधानका उपाय खोज्ने प्रयास गरिरहेका छौँ । देशभर संगठन निर्माण गरेर जनताको पार्टी बन्ने लक्ष्य छ । सुरुमा बुझाउन केही समय लाग्न सक्छ, तर विस्तारै जनताहरू नजिकिँदै जानुभएको छ ।
पछिल्लो समय सरकारका गतिविधिको विषयमा यहाँहरूको धारणा के हो ?
सरकारले हरेक निर्णयमा हतार गरेको देखिन्छ । परिपक्व ढङ्गले काम गर्नुपर्छ । सरकारसँग छिटो गरौँ, अगाडि बढौँ भन्ने हुटहुटी देखिन्छ । तर हतार गर्दा कहाँ दुर्घटना हुन्छ भन्ने थाहा हुँदैन ।
सुकुम्वासीको विषयमा पनि हामीले भनेका छौँ, मानवीय संवेदनशीलता हेरेर व्यवस्थापन गर्नुपर्छ । हतारमा होइन, दीर्घकालीन ढङ्गले समाधान गर्नुपर्छ । यो देशव्यापी समस्या हो । सही र दीर्घकालीन व्यवस्थापन आवश्यक छ । जबरजस्ती व्यवस्थापनले सरकारलाई केही समय लोकप्रिय बनाउला, तर दीर्घकालमा त्यसले सरकारलाई पनि घाटा हुन्छ र जनता घरबारविहीन बन्न सक्छन् ।
सरकार छिटो दौडिन खोजेको देखिन्छ । तर छिटो दौडिँदा धेरै दुर्घटना भएका उदाहरण छन् । नियम, कानुन र प्रक्रियाभन्दा छिटो कोही पनि दौडनु हुँदैन भन्ने हाम्रो मान्यता हो । पाँच वर्षको समय छ, त्यसैले धेरै हतार गर्नु हुँदैन भन्ने मेरो सुझाव हो ।
‘तातै खान्छु, जलेर मर्छु’ भन्ने हिसाबले नलागौँ । यो देश गरिब र धनी सबैको हो । देशका प्रधानमन्त्री अभिभावक बनिदिएर सबैलाई न्यायोचित ढङ्गले सम्बोधन गर्नुहोस् भन्ने मेरो आग्रह हो । प्रधानमन्त्री साझा अभिभावक बन्नुस् र संवैधानिक हिसाबले काम गरिदिनुहोस् । हाम्रो सहयोग रहन्छ । तर जुन ढङ्गले अहिले सरकारले काम गरिरहेको छ, विभिन्न निर्णयमा हतार र संवैधानिक स्पष्टता दुवै देखिएको छैन ।














प्रतिक्रिया