विपक्षीको कठघरामा रवि, प्रधानमन्त्रीको ठेक्का नलिन चेतावनी « Khabarhub

विपक्षीको कठघरामा रवि, प्रधानमन्त्रीको ठेक्का नलिन चेतावनी



काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले बोलाएको सर्वदलीय बैठकमा सबै दलका नेताहरूले चित्त दुखाएका छन् ।

बैठकमा बोल्ने क्रममा विपक्षी दलका सबै नेताहरूले सरकार एकलकाँटे भएको भन्दै आलोचना गरे । सरकारले विपक्षीको कुरै नसुनेको र नियत स्पष्ट नभएको भन्दै पार्टी सभापति लामिछानेसँग गुनासो पोखेको हुन् । 

लामिछानेले बोलाएको बैठकमा विपक्षी दलका तर्फबाट काङ्ग्रेस संसदीय दलका नेता भीष्मराज आङदेम्बे, नेकपा एमालेका प्रमुख सचेतक ऐन महर, नेपाली कम्युनिस्ट पार्टीका तर्फबाट सहसंयोजक माधवकुमार नेपाल र सांसद वर्षमान पुन, राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाबाट राजेन्द्र लिङ्देन लगायतका नेताहरू सहभागी थिए । 

श्रम संस्कृति पार्टीले बहिष्कार गरेको बैठकमा शीर्ष नेताहरू कोही पनि उपस्थित नहुँदा राजेन्द्र र माधव उपस्थित भए । बैठकमा बोल्ने अधिकांश नेताले सरकारले कुनै पनि मुद्दामा विपक्षीको कुरा नसुनेको सुनाएका थिए । 

 असन्तुष्टका कुरा सुन्नु

बैठकमा बोल्ने सबै नेताहरूले विपक्षीका कुराहरू समेटेर सरकार अगाडि बढ्दा आफूहरूले असहयोग नगर्ने कुरै नभएको बताएका थिए । आफू खुसी निर्णय लिने काम भएको र कसैका कुरै नसुनी गतिविधि भइरहेकाले पारदर्शी र सुसंस्कृत राजनीति अभ्यास गर्ने दलले यस्तो कुरालाई बढावा नदिन ध्यानाकर्षण गराए । 

बैठकमा बोल्ने क्रममा नेपाली कम्युनिस्ट पार्टीका संयोजक माधवकुमार नेपालले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति लामिछाने, परराष्ट्रमन्त्री शिशिर खनालको भारत भ्रमण र प्रधानमन्त्री बालेन्द्र शाहले सदनबाट नेपालले पनि भारतको भूमि मिचेको भनेर दिएको अभिव्यक्तिका विषयमा स्पष्ट जवाफ मागेका थिए । 

नेपाली कांग्रेस संसदीय दलका नेता भीष्मराज आङ्देम्बेले पनि प्रधानमन्त्रीले सदनबाट नेपालले भूमि मिचेको अभिव्यक्ति दिनु र पार्टी सभापति र परराष्ट्रमन्त्री भारत भ्रमणमा निस्किनुले जनतालाई शङ्का उत्पन्न भएको बताए । 

एमालेका तर्फबाट बोलेका प्रमुख सचेतक ऐन महरले पनि कुनै प्लान अनुसार यो गतिविधि भएको हो कि भनेर प्रश्न राखेका थिए।

‘पार्टी सभापति भारत भ्रमणमा निस्किने अघिल्लो दिन अकस्मात् सदन आएर प्रधानमन्त्रीले नेपालले पनि भारतको भूमि मिचेको छ भन्ने अभिव्यक्ति दिनु र भोलिपल्टै पार्टी सभापति भारत जानु के हो ? यसलाई संयोग मात्रै भन्ने कि कसरी हेर्ने ?’ महरले भनेका थिए– ‘प्रधानमन्त्रीले सदनबाट बोलेको कुरा चानचुने पटक्कै होइन। यसको जवाफ सदनबाटै हामीलाई दिनुपर्छ। नत्र हामी सदनमा अवरोध कायम राख्छौँ। पार्टी सभापति र मन्त्रीहरूले प्रधानमन्त्रीले बोलेको कुरा सच्याएर पुग्दैन ।’ 

कांग्रेस दलका नेता आङदेम्बेले प्रमुख प्रतिपक्षी भएर पनि राष्ट्रिय मुद्दाहरूमा आफूहरूले सहयोग गरिरहेकै स्मरण गराए । आङ्देम्बेले प्रधानमन्त्रीले आफूभन्दा ठूलो कोही पनि छैन भनेर सोचेर मनपरी बोल्नु र राष्ट्रियतामाथि नै प्रहार गर्नुले नियतमाथि शङ्का गर्ने ठाउँ भएकाले स्पष्ट जवाफको माग राखे। 

‘कांग्रेसले राष्ट्रिय मुद्दाहरूमा सहयोग गरेकै छ तर प्रधानमन्त्रीले आफू खुसी अभिव्यक्ति दिने र राष्ट्रिय हित र सार्वभौमसत्तामाथिमा नि निरन्तर प्रहार गरेपछि हामीले त्यसलाई सहन सकेनौ । तपाईँ स्वयम् पनि भारत भ्रमणमा निस्किनुभएको थियो । देशको सिमानाको विषयमा के के कुरा गर्नुभयो ? हामीलाई जानकारी दिनुहोला । सीमाका विषयमा के चाहँदो रहेछ भारत  ? भ्रमणमा यहाँले त मोदीसँग पनि भेट्नुभयो । के कस्ता कुराहरू आएका छन् ?’ आङ्देम्बेले बैठकमा भनेका थिए– ‘यहाँबाट मोदीलाई भेट्ने सेड्युल नै नबनिकन भारत पुगेपछि भेटिएको अवस्था छ। भेट्नुभयो सम्बन्ध सुधार गर्नुभयो त्यो राम्रै पक्ष हो । तर नेपाली र भारतीय बीचको मुद्दाहरूका विषयमा के के कुराकानी भयो जानकारी दिनुहोला ।’ 

बोल्ने क्रममा माधव नेपालले पनि भारतीय भ्रमण राम्रो भएको जानकारी आए पनि के के कुरामा र कस्ता कस्ता मुद्दामा राम्रो भएको भन्ने कुरा स्पष्ट नखुलेको बताएका थिए। नेपाली आफू व्यक्तिलाई मात्रै भलो हुने काममा सम्बन्ध सुधार भएको हो कि ? नेपाललाई नै भलो हुने काममा सुधार भएको हो त्यसबारे स्पष्ट जानकारी नआएको कुरा राखे। 

‘भारत भ्रमण उपलब्धिमूलक भयो भन्नुभयो, सम्बन्धहरूको पनि पुनरावलोकन भएको छ भन्नुभयो। तर व्यक्तिगत रुपमा पुनरावलोकन भएको हो या नेपाल र राष्ट्रिय हितका लागि पुनरावलोकन भएको जानकारी दिनुहोला’, नेपालले बैठकमा भने– ‘स्पष्ट के के मुद्दाहरू उठे ? उताबाट कस्तो रेस्पोन्स आयो ? त्यस विषयमा यहाँले जानकारी दिनुभएन । एकपक्षीय रूपमा मात्रै भ्रमण राम्रो भो भन्ने कुराहरू आएका छन्। यसलाई हामीले कसरी बुझ्ने ?’

कांग्रेसका आङ्देम्बेले पनि विपक्षीको कुरै नसुन्ने सरकारले जनताका माग सम्बोधन गर्न नसक्ने बताउँदै राष्ट्र हितमा काम गर्न सबैका कुराहरू सुन्नुपर्ने बताएका थिए। 

बैठकमा एमाले प्रमुख सचेतक महरले सरकारको नियतमाथि शङ्का गर्ने ठाउँ रहेको बताएका थिए। एमाले महरलाई जवाफ दिँदै सभापति लामिछानेले तथ्यपरक र सकारात्मक आलोचना गर्न आग्रह गरे । 

कांग्रेस, नेपाली कम्युनिष्ट पार्टीसँग नरम देखिएका रवि एमालेसँग भने चिढिएको देखिन्थे । 

बैठकमा मुख्यतया रवि र परराष्ट्र मन्त्री खनालको भारत भ्रमण र संसद्को अवरोधका विषयमा लामो कुराकानी भएको थियो। 

रविले भने– भारतले सीमा विवादहरू कुटनीतिक ढङ्गले समाधान गरौं भनेको छ 

बैठकमा रविले भारतले सीमा विवादहरू कुटनीतिक ढङ्गबाट टेबल टक गरेर मिलाउने कुराकानी गरेको बताएका थिए। मोदीसँगको भेटमा सीमा विवादभन्दा पनि दुई पार्टीको राजनीति विषयमा कुराकानी भएकाले नेपाल भारत सम्बन्धका विषयमा पनि मोदी अहिले नकारात्मक नरहेको रविले बैठकमा जानकारी गराए । 

बैठकमा बोल्ने क्रममा विपक्षीलाई रविले मिलेर काम गर्न आग्रह गरेका थिए। सुन्नुपर्ने कुराहरू आफूले सुनिराखेकाले आफूहरू बाचापत्र अनुसार काम गर्नका लागि छोडिदिन पनि आग्रह गरे। रविले भने– ‘मिलेर काम गरौं सुन्नुपर्ने कुराहरू सुनिनै राखेका छौँ। हामीले नेपाली जनताको माग सम्बोधन गर्न वाचापत्र अनुसार काम गर्नुपर्नेछ। ३०–३५ वर्षदेखि यहाँहरूले नै शासन सञ्चालन गर्नुभएको थियो। अहिले हामीले सच्याएर काम गर्ने प्रयत्न गरेका छौँ र यहाँले केही नै गर्नुभएन भन्ने हाम्रो कुरा होइन तर धेरै कामहरु गर्न बाँकी छ।’

नयाँ सरकार र नेपाल भारत सम्बन्धका बहुआयामिक विषयहरूमा भारतीय प्रधानमन्त्री मोदी सकारात्मक रहेको रविको भनाइ थियो।

‘मेरो राजनीति भ्रमण भएकाले सीमा विवाद लगायतका विषयमा गहिरो ढंगले कुराकानी हुने कुरो भएन । एजेन्डाहरु पनि हामीले लगेका थिएनौँ । किनभने यो बिलकुल राजनीति भ्रमण थियो । नेपालमा हुँदा भारतीय प्रधानमन्त्री मोदीसँग भेट हुने जानकारी राम्रोसँग थिएन । म पार्टीको निमन्त्रणामा गएको हो। त्यहाँ पुगेपछि प्रधानमन्त्रीज्यू भेट्न सकारात्मक भएपछि हामीबीच कुराकानी भयो। कुराकानीका क्रममा नेपाल भारतका जुनसुकै कुटनीतिक कुराहरू पनि टेबल टक गरेर समाधान गर्ने कुरा भएको छ । नेपाल भारतबीच सुमधुर सम्बन्ध कायम हुने र दुई देश बीचको विवादहरू वार्ता र संवादबाट तथ्यपरक रुपमा समाधान खोज्ने कुराकानी भयो।’ 

रविले भने, ‘प्रधानमन्त्रीज्यू भारत भ्रमणमा जाँदा सम्पूर्ण तयारी गरेर यसबारे कूटनीतिक समाधान खोज्नुहुन्छ । प्रधानमन्त्रीलाई भारत भ्रमणका लागि निमन्त्रणा यस अगाडि नै भएको थियो । फेरि पनि निमन्त्रणा प्राप्त भएको छ। बिलकुल राजनीतिक भेटवार्ता भएकाले हामीले अलि बढी पार्टीका संरचना संगठन लगायतका विषयमा कुराकानी गर्‍यौ। सरकारप्रति उहाँहरूले सकारात्मक रुपमा दुईपक्षको वार्ता संवाद हुने विषयमा हामीलाई जानकारी दिनुभयो ।’ 

रविले नेपाल भारत सम्बन्धका विषयमा प्रधानमन्त्रीले पनि विपक्षहरूसँग एकचोटि कुरा गरेर मात्रै भ्रमण गर्न सक्ने संकेत दिएका छन् ।

‘यहाँहरूले पनि नेपाल भारत सम्बन्ध र विवादको समाधानका विषयमा गर्नुपर्ने कामहरू केलाउनुभएको होला । त्यो हामीलाई सुझाव दिनुहोस्। आवश्यक परेको खण्डमा यस्तै बैठक प्रधानमन्त्रीज्यूले पनि भारत जानु अगाडि गर्नुहोला । सरकारले केही पनि गरेन , सरकारले विपक्षीको कुरै सुनेन भन्ने कुरालाई यहाँहरूले त्यागिदिस् । हामीले यसरी नै हो सम्बन्धलाई अगाडि बढाउने । विपक्षीले पनि हाम्रा गतिविधिहरूलाई वैचारिक रूपले सुझाव दिनुहोला।’

रविले अगाडि भने– ‘विरोधका लागि विरोध भन्दा पनि वैचारिक र नीतिगत एजेण्डा केन्द्रित भएर बहसहरूमा सुझाव दिन आग्रह गर्दछु। यहाँहरूले भनेको जस्तै सरकार एकलकाँटे भएको छैन। ३०–३५ वर्षदेखि रहेका बेथितिहरू हामीले सकेसम्म हटाउन कोसिस गरिरहेका छौँ ।कहाँसम्म सफल हुन्छौ आशा छ हामी सफल हुन्छौँ।’ 

बैठकमा रविले विपक्षीलाई प्रधानमन्त्री सदनमा आएर जवाफ नदिने, सदन मुद्दा केन्द्रित र एजेण्डा केन्द्रित भएर चल्नुपर्ने मागसमेत राखे । तर विपक्षी दलले भने प्रधानमन्त्रीले सदनमा बोलेको कुरा चानचुने  नभएकाले त्यसरी नै बुझ्दिन सभापति रविलाई आग्रह गरेका थिए। 

रविले आवश्यक परे आफूले पनि त्यसको जवाफ दिने बताउँदा विपक्षीले भने प्रधानमन्त्री स्वयमले जवाफ दिनुपर्ने माग राखेको एमाले सांसद महरले बताएका छन्।

प्रकाशित मिति : २५ जेठ २०८३, सोमबार  ६ : २३ बजे

इरानी नौसैनिक शाखामाथि ईयूको नयाँ प्रतिबन्ध

ब्रसेल्स- युरोपेली सङ्घ (इयू) ले इरानको इस्लामिक रिभोलुसनरी गार्ड्स कोर्प्स

सवारी साधनको ठक्करबाट एकजनाको मृत्यु

चन्द्रपुर– रौतहटको गढीमाई नगरपालिका–४ सुन्दरपुर स्थित समनपुर–गरुडा सडकखण्डमा आज बिहान

पकेट क्षेत्रमा आलुको उत्पादन घट्यो

म्याग्दी– म्याग्दीको रघुगङ्गा गाउँपालिका-८ मङ्गलेखानीकी बलदेवी छन्त्यालले गत वर्ष दुई

राधास्वामी होल्डिङ सेन्टरमा दुई घण्टा बिताउँदा जे देखियो

काठमाडौं- ‘आफन्त भेट्न आउनुभएको हो ?’ कीर्तिपुरस्थित राधास्वामी सत्संग आश्रम