रास्वपा विधान : बालेनलाई खतराको ‘घन्टी’ ? « Khabarhub

रास्वपा विधान : बालेनलाई खतराको ‘घन्टी’ ?



काठमाडौं- चार पटक संशोधन भएको राष्ट्रिय स्वतन्त्र पार्टीको विधानलाई लिएर चर्चा सुरु भएको छ । रास्वपाले असार ७ गतेदेखि १२ गतेसम्म चितवनमा गरेको प्रथम महाधिवेशनमा संशोधित विधानमा गरिएको व्यवस्थाले वर्तमान प्रधानमन्त्री वालेन्द्र शाहको विकल्प खोजिने हो कि भन्ने प्रश्न पनि उठ्न थालेको छ ।

धेरैले विधान सार्वजनिक भएपछि पार्टी सभापति रवि लामिछानेले प्रधानमन्त्री बालेनमाथि प्रहार गर्न लागेका हुन् भन्ने शङ्का समेत गर्न थालेका छन् । तत्कालै रविले डण्डा चलाउने अवस्था नरहे पनि भविष्यमा विधानको प्रवधानका कारण बालेन जोखिममा भने देखिन्छ । बालेन मात्र होइन, संसदीय दलको नेता जो कोही भएको खण्डमा पनि विधानमा भएको व्यवस्थाले जोखिम निम्त्याउने छ । हुन त राष्ट्रिय स्वतन्त्र पार्टीले पहिलो महाधिवेशन गरेर जारी गरेको विधानले पार्टी सभापति रवि लामिछानेलाई थप शक्तिशाली बनाएको देखिन्छ ।

यसको पुष्टि ५१ जना केन्द्रीय कमिटी सदस्यहरू सभापतिले मनोनित गर्नसक्ने, २० जना बढी सचिवालय सदस्य पनि उनैले मनोनित गर्ने र १० जना पदाधिकारी पनि रवि आफैँले मनोनित गर्न पाउने व्यवस्थाका कारण रवि शक्तिशाली भएका हुन् भन्ने पुष्टि हुन्छ । अहिले रवि शक्तिशाली हुँदैछन् भन्ने कुराको प्रमाणित अर्को पनि कुरा छ । त्यो हो- रविमाथि लागेको सहकारी ठगी प्रकरणको मुद्दा विभिन्न जिल्लाका अदालतबाट फिर्ता हुनु ।

यसरी भएका थिए बालेन प्रधानमन्त्री

कुरा फागुन भदौ २३ र २४ को जेनजी आन्दोलनबाट सुरु हुन्छ । आन्दोलनबाट तत्कालीन नेपाली कांग्रेस-नेकपा एमालेको सरकार ढलेपछि फागुन ३० गतेपछि सुशीला कार्की नेतृत्वको अन्तरिम सरकार बन्यो । पूर्वप्रधानन्यायाधीश कार्की सरकारको नेतृत्व सम्हाल्दा काठमाडौं महानगरको मेयर पदमा रहेका बालेनले साथ पनि दिएको देखिन्थ्यो । अप्रत्यक्ष रुपमा रवि पनि संलग्न थिए । आन्दोलनका बेला नख्खु कारागारमा रहेका रविलाई जेलबाट नाटकीय रूपले निकालियो र उनी उत्साहित हुँदै निस्किए । सुशीला कार्की नेतृत्वको सरकारले फागुन २१ मा निर्वाचनको मिति घोषणा गर्‍यो । मुद्दा खेपेकै बेला राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको नेतृत्वमा पार्टी निर्वाचनमा गयो । त्यसमा बालेन पनि जोडिए ।

भदौ २३ र २४ को आन्दोलनपछि विशेषतः वैकल्पिक धार समाएका राजनीतिक शक्तिहरू एक ठाउँमा आएर निर्वाचन फेस गर्ने मनसाय राखेका थिए । पुराना दलहरूलाई बढार्ने रणनीति अनुरुप वैकल्पिक शक्तिहरू मिल्दा बालेन–रविबीच पुस १३ गते बेलुका ७ बुँदे सहमति अनुसार तालमेल भएको थियो । काठमाडौँ महानगरपालिकाको मेयर पदबाट बिदा भएर बालेनले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेसँग राजनीतिक यात्रा अघि बढाउने निर्णय १३ गते गरेका थिए ।

७ बुँदे सहमति भएर दुई नेताहरू एक भएका बेला ४ नम्बर बुँदामा राष्ट्रिय स्वतन्त्र पार्टीको केन्द्रीय सभापति रवि लामिछाने नै रहने र आसन्न प्रतिनिधि सभाको निर्वाचनपछि संसदीय दलको नेता तथा भावी प्रधानमन्त्रीको उम्मेदवारका रूपमा बालेन शाहलाई अघि सार्ने निर्णय भएको थियो । त्यही सहमतिलाई अक्षरशः पालना गर्दै राष्ट्रिय स्वतन्त्र पार्टी फागुन २१ को निर्वाचनमा होमियो । पार्टीले अनपेक्षित रुपमा दुई तिहाई बहुमत नजिकको सिट प्राप्त गर्‍यो ।

निर्वाचनअगाडि देशभर आफ्ना पार्टीका नेता जिताउन दौडिएका बालेन्द्रले आफ्नो योजना सफल बनाएका थिए । फागुन २१ को निर्वाचनपछाडि परिणाम आउँदा राष्ट्रिय स्वतन्त्र पार्टी साँच्चिकै दुईतिहाइ बहुमत नजिक पुगेपछि बालेन्द्रले चैत १३ गते रामनवमी पर्वको अवसर पारेर प्रधानमन्त्रीको शपथ लिए । त्यसभन्दा अगाडि चैत १२ गते राष्ट्रिय स्वतन्त्र पार्टीको केन्द्रीय समिति बैठक बसेर बालेनलाई संसदीय दलको नेता बनाएको थियो ।

विधान परिमार्जन गर्दै बालेन्द्र संसदीय दलको नेता बन्दा पार्टी सभापति रविले पनि कुनै आनाकानी गरेनन् । एक्कासी पार्टीमा आएको बाहिरियालाई दुई चार महिनामै प्रधानमन्त्री र संसदीय दलको नेताको जिम्मेवारी दिँदा पनि पार्टीमा खासै विरोध र आलोचना भएन । सामान्यतया नेताहरुले असन्तुष्ट प्रकट गरे पनि गाइँगुइँ बाहेक ठूलो परिणाममा असन्तुष्टि देखिएन । त्यसपछि बालेन-रविले सल्लाह गरेरै सरकारमा आफ्ना मन्त्रीहरु पठाए । सरकारमा पठाउने आफ्ना मन्त्रीहरूको विषयमा दुई जनाबीच भागबण्डा भएको प्रष्ट देखिन्थ्यो ।

चितवनमा भएको पहिलो महाधिवेशनमा पनि बालेन्द्र-रविबीच तालमेल नै देखिन्थ्यो । सहमति पालना गर्दै प्रधानमन्त्री बालेन्द्रले सभापतिमा उठेनन् । रवि स्वतः पार्टी सभापति भए । महाधिवेशनमा पारित भएको तेस्रो दिनको विधान सार्वजनिक हुँदा पार्टी संसदीय दलको नेता सभापतिले हटाउन सक्ने प्रावधान राखिएको देखिँदैन थियो । तर अचानक सोमबार जारी भएको नयाँ विधानमा पार्टी सभापतिलाई चाहेको खण्डमा संसदीय दलको नेता फेरबदल गर्न सक्ने अधिकार दिएको छ ।

यो प्रकरणपछि अहिले सबैको ध्यान त्यसतर्फ गएको छ । महाधिवेशनको तेस्रो दिन अर्थात् असार ९ गते बन्दसत्रबाट पारित भएको विधान र सोमबार जारी भएको विधानमा फरक भेटिएको नेताहरु बताउँछन् । विधानबारे बालेन्द्र पक्षका नेताहरूले असहमति जनाए पनि खास कुरा के हो भन्नेबारे मुख खोलेका छैनन् । तर हलमा पारित भएको विधान र अहिलेको विधान हेर्दा बिल्कुल फरक देखिन्छ । यही विधानका कारण बालेन्द्र-रविमा दरार आउने पनि कतिपयले आँकलन गरेका छन् । तर, तत्काल यस्तो अवस्था भने नरहेको स्रोत बताउँछ ।

स्रोतले दिएको जानकारी अनुसार प्रधानमन्त्री पनि पार्टीको नेता भएकाले पार्टीको नीति सिद्धान्त र विधि मान्नुपर्ने सर्त राखिएको हो । आफ्नै तालमा प्रधानमन्त्री अघि सारेको रविपक्षका नेता बताउँछन् । हुन त विपक्षीले पनि प्रधानमन्त्री बालेन्द्र शाहको भूमिकाप्रति प्रश्न उठाउँदै आएका छन् । धेरैले त विधान संशोधन कार्यदलका संयोजक विपिन आचार्यमाथि प्रश्न उठाइरहेका छन् । आचार्य रविनिकट मानिन्छन् ।

के छ विधानमा ?

राष्ट्रिय स्वतन्त्र पार्टीको विधान संशोधन गर्ने कार्यदलका संयोजन तत्कालीन सहममन्त्री विपिन आचार्यले गरेका थिए । आचार्यले हलमा प्रस्तुत गरेको प्रतिवेदन र अहिलेको प्रतिवेदनबीच फरक रहेको नेताहरु बताउँछन् । तेस्रो दिनमा हलमा प्रस्तुत भएको विधानमाथि त्यसबेला कुनै पनि नेताले छलफल र टिप्पणी गर्न पाएका थिएनन् । किनकि विधान प्रस्तुत भएर सर्वसम्मतिले पारित गरिएको थियो । छलफलको वातावरण थिएन ।

सोमबार सार्वजनिक विधानको ६८ नम्बर धारामा संसदीय दलको नेतालाई पदमुक्त गर्ने र प्रत्याह्वान सम्बन्धी व्यवस्था गरिएको छ । जहाँ लेखिएको छ-

पद रिक्त हुने सामान्य अवस्थाहरूः
देहायका कुनै अवस्थामा संसदीय दलको नेताको पद स्वतः रिक्त भएको मानिनेछ :

(क) निजले दलको नेताको पदबाट लिखित राजीनामा दिएमा वा निजको मृत्यु भएमा ।
(ख) निज सम्बन्धित संघीय संसद् वा प्रदेश सभाको सदस्य नरहेमा (सांसद पद खारेज भएमा वा कार्यकाल सकिएमा) ।
(ग) निजले पार्टी त्याग गरेमा वा पार्टीबाट निष्कासित भएमा ।
(घ) सरकारको नेतृत्व गरिरहेको अवस्थामा सम्बन्धित संसदको सदनभित्रै विश्वासको मत गुमाएमा ।
(ङ) यस विधानको ११ (क) को अ को ३ अनुसार पार्टी सभापतिले दिएको नीतिगत मार्गनिर्देशन पालना नगरेमा ।
(च) निजविरुद्ध संसदीय दलमा प्रत्याह्वान वा अविश्वास प्रस्ताव पारित भएमा ।

रास्वपा विधानको धारा ११ (क) मा पार्टी सभापतिको काम, कर्तव्य र अधिकारको व्यवस्था छ । सभापतिको काम, कर्तव्य र अधिकार अन्तर्गत ‘संसदीय दलसँगको समन्वय’ समावेश छ । यो उपधाराले संसदीय दलसँग समन्वय गर्ने अधिकार पार्टी सभापतिलाई दिएको छ ।

उक्त धाराको ११ (क) मा लेखिएको छ-

(११) पार्टीका पदाधिकारीहरुको काम, कर्तव्य र अधिकार :
(क) पार्टी सभापतिको काम, कर्तव्य र अधिकार पार्टी सभापति सङ्गठनको सर्वोच्च कार्यकारी प्रमुख, वैचारिक मार्गनिर्देशक र पार्टी एकताको प्रतीक हुनेछ । विधान र विधिको शासनभित्र रही पार्टीलाई सुदृढ र गतिशील नेतृत्व प्रदान गर्न सभापतिको काम, कर्तव्य र अधिकार देहायबमोजिम हुनेछ-

(अ) वैचारिक तथा राजनीतिक नेतृत्वः
(१) समग्र नेतृत्व र वैचारिक दिशाबोधः पार्टीको समग्र राजनीतिक, साङ्गठनिक र वैचारिक नेतृत्व गर्ने । पार्टीका आदर्श, सिद्धान्त र लोकतान्त्रिक मूल्य–मान्यतालाई उच्च राख्दै सङ्गठनलाई सबल, पारदर्शी र जनउत्तरदायी बनाउन सर्वोपरि नेतृत्व प्रदान गर्ने ।

(२) आधिकारिक भाष्य र प्रतिनिधित्वः पार्टीको प्रमुख नेता र आधिकारिक प्रतिनिधिको हैसियतमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय मञ्चहरू, राज्यका निकायहरू र अन्य राजनीतिक दलहरूसँगको सम्बन्धमा पार्टीको आधिकारिक दृष्टिकोण प्रस्तुत गर्ने र प्रतिनिधित्व गर्ने/गराउने ।

(३) संसदीय दलसँगको समन्वयः पार्टी र संसदीय दलबीच वैचारिक, नीतिगत तथा राजनीतिक समन्वय कायम गर्ने । पार्टी सभापति संसदीय दलको नेता नरहेको अवस्थामा, संसदमा पार्टीको आधिकारिक नीति, सिद्धान्त, निर्णय र दृष्टिकोणको प्रभावकारी प्रतिनिधित्व तथा कार्यान्वयनका लागि संसदीय दललाई आवश्यक नीतिगत मार्गनिर्देशन प्रदान गर्ने । यस्तो मार्गनिर्देशनको पालना गर्नु संसदीय दल, संसदीय दलका नेता तथा सदस्यहरूको अनिवार्य कर्तव्य हुनेछ ।

६८ को (१) को (ङ) मा ‘यस विधानको ११ (क) को ‘अ’ ३ अनुसार पार्टी सभापतिले दिएको नीतिगत मार्गनिर्देशन पालना नगरेमा’ संसदीय दलको नेताबाट पदमुक्त हुने भनिएको छ ।

‘च’ मा निज विरुद्ध संसदीय दलमा प्रत्याहावन वा अविश्वास प्रस्ताव पारित भएमा संसदीय दलको नेताबाट हट्ने भन्ने राखिएको छ ।

यो विधान हेर्दा पार्टी सभापति रवि लामिछानेले बालेनलाई जुनसुकै बेला पनि पदबाट मुक्त गर्न सक्ने देखिन्छ । पार्टी सभापति रवि लामिछाने भएकाले संसदीय दलको नेताबाट बालेनलाई हटाउनसाथ उनी प्रधानमन्त्रीबाट बिदा हुनुपर्छ । पार्टीका नेताहरूले बालेनभन्दा रविलाई साथ दिएको खण्डमा अहिले बालेन कमजोर देखिने अवस्थामा छन् ।

नयाँ विधानमा महामन्त्री रवि लामिछाने निकट विपिन आचार्य भएकै कारण यो विधान ल्याइएको धेरैले आशंका गरेका छन् । यसबारे सोध्दा पार्टीको उच्च स्रोत मौन छ । स्रोत भन्छ– ‘प्रधानमन्त्री पनि पार्टीको कार्यकर्ता भएकाले उसले नीति नियम त मान्नुपर्छ नि । पार्टीको नीति त सबैलाई बराबर हुनुपर्छ ।’

तर राष्ट्रिय स्वतन्त्र पार्टीका एक दुई जना नेता प्रधानमन्त्रीलाई उत्तरदायी र पार्टीप्रति जिम्मेवार बनाउनकै लागि यो विधान राखिएको बताउँछन् । हलमा यो विधानबारे आफूहरूलाई जानकारी नभएको ती नेताहरूको प्रष्टीकरण छ । राष्ट्रिय स्वतन्त्र पार्टीमा दुई जना महामन्त्री हुने व्यवस्था छ । बालेन पक्षबाट हुने भनिएका महामन्त्री भूपदेव शाहलाई पार्टी सभापति रविले अहिलेसम्म मनोनित गरेका छैनन् । त्यसकारण यो विधान संशोधन गर्नुमा महामन्त्री र पार्टी सभापतिकै ठूलो हात भएको आँकलन धेरैले गरेका छन् ।

बालेन पक्ष के भन्छ ?

यो विधानप्रति बालेन स्वयं सन्तुष्ट छन् या असन्तुष्ट उनले मुख खोलेका छैनन् । कुनै पनि विवाद आउँदा तत्काल सामाजिक सञ्जालमा प्रतिक्रिया जनाउने बालेनले अहिलेसम्म यो विषयमा कुनै प्रतिक्रिया जनाएको देखिँदैन ।

पार्टीको नयाँ विधानबारे हामीले बालेनपक्षीय नेतालाई सोध्दा यसबारे थप अध्ययन गरिरहेको बताउँछन् । ‘सोमबार त्यस्तो विधान सार्वजनिक भएको छ । हलमा त्यस्तो व्यवस्था थिएन। ‘ङ’ र ‘च’ थपिएको छ, यो कसरी भयो ? हामी अध्ययन गरिरहेका छौँ ।’ बालेन निकट ती नेताले भने, ‘सुरुमा ‘क’, ‘ख’, ‘ग’ र ‘घ’ मात्रै थियो । चराको ‘च’ र मासगेडी ‘ङ’ थिएन । उहाँहरुले आफूखुसी यस्तो गर्नुभएको हो भने पक्कै पनि खोजीको विषय रहन्छ । प्रधानमन्त्रीज्यूले अहिलेसम्म यसबारे केही बोल्नुभएको छैन ।’

के बालेनमाथि खतराको घण्टी बजेको हो ?

यो विषयमा प्रश्न गर्दा धेरैजना नेताहरू प्रश्नबाटै अचम्मित भएको बताउँछन् । पार्टीले नेताहरूलाई उत्तरदायी बनाउन विधान बनाएको बताउँदै राष्ट्रिय स्वतन्त्र पार्टीले जनताप्रति गरेको वाचालाई एक इन्च पनि तलमाथि हुन नदिने एक नेताले उल्लेख गरे । यस विषयमा हामीले सरकारका मन्त्री विराजभक्त श्रेष्ठलाई जिज्ञासा राख्दा उनले जनताबाट विश्वास लिएर सरकार चलिरहेकाले त्यसमा कुनै पनि शङ्का गर्नु आवश्यक नरहेको बताए ।

‘पार्टीले विधान आफ्नो ढंगले बनाउँछ । तर सरकार र प्रधानमन्त्रीको विषयमा पाँच वर्ष चाहिँ ढुक्क हुनु नै भन्छु । पार्टीको विधान बन्दैमा प्रधानमन्त्री नै परिवर्तन हुने फेरबदल हुने भन्ने हुँदैन ।’ श्रेष्ठले भने, ‘आफ्नो ढंगले पार्टी सञ्चालनका नीति नियम हुन्छन् । हाम्रो पार्टी सभापति र वरिष्ठ नेता तथा प्रधानमन्त्रीको कोअर्डिनेसन यति मज्जाले मिलेको छ कि त्यहाँ कसैले शङ्का गर्नुपर्ने ठाउँ नै छैन ।’

हुन त यस अगाडि नै पार्टीकी नेतृ समीक्षा बास्कोटालाई पनि यो प्रश्न गर्दा पाँच वर्ष जनताले बालेनलाई प्रधानमन्त्री भनेर पार्टीलाई भोट दिएको बताउँदै जनताको विश्वासलाई सम्बोधन गर्ने बताइन् । उनी नेता पार्टी अधीनमा बस्नुपर्ने कुरामा भने सकारात्मक छिन् ।

हुन त पार्टी नेता गणेश पराजुलीले पनि प्रधानमन्त्री र पार्टी सभापति बीचको सम्बन्धलाई शङ्का गर्नुपर्ने ठाउँमा रहेको बताउँछन् । उनी पार्टीका आफ्नै नीति नियम हुने बताउँदै यसलाई विभिन्न ढंगले व्याख्या गर्नु उपयुक्त नभएको टिप्पणी गर्छन् ।

रविनिकट नेताहरू विधानप्रति असन्तुष्ट नरहे पनि बालेन पक्षका नेताहरू भने विधानप्रति असन्तुष्ट छन् । यही असन्तुष्टिको संकेत पार्टी नेता गणेश कार्की, सागर ढकाल, भूपदेव शाह सुनिल लम्साल लगायतका नेताहरुले गरेको देखिन्छ । उनीहरूले मुख नखोले पनि पार्टीको यो विधानले गर्दा धेरै नेताहरुलाई शङ्का गर्ने मेलो भने बनाएको छ ।

पार्टीको विधानले जुनसुकै बेला पनि प्रधानमन्त्री बालेनलाई आक्षेप लगाएर निलम्बन गर्न सक्ने भएकाले बालेन पनि चनाखो हुनुपर्ने अवस्थामा पुगेको नेताहरूको टिप्पणी छ । पार्टी सभापति रवि लामिछाने चनाखो भएर बालेनलाई लगाम लगाउने गरी नियम बनाएको धेरैले विश्लेषण गर्छन् । तर पार्टीले नीति/विधिमा चल्नका लागि आफ्नो ढंगले विधान बनाउन सक्ने भएकाले यसलाई धेरै व्याख्यात्मक ढंगले हेर्नु नहुने विश्लेषकको टिप्पणी छ ।

जे भएपनि दुई वटा बुँदा थपिँदा रविले बालेनमाथि पुरा भरोसा भने नगरेको किसिमबाट विश्लेषण भइरहेको छ । विधानको व्यवस्था टेकेर बालेन तत्काल निलम्बनमा पर्ने अथवा प्रधानमन्त्रीबाट बिदा हुनुपर्ने अवस्था नरहे पनि भविष्यमा कुनै न कुनै सम्भावना भने देखाएको छ । तर पार्टीले पूर्ण रूपमा पाँच वर्षका लागि बालेनलाई जिम्मेवारी दिएकाले पार्टी सभापतिले यसबारे कुनै हस्तक्षेप नगर्ने कतिपय नेताहरु टिप्पणी गर्छन् । जे भएपनि सभापति रविले बालेनलाई चाहेको खण्डमा हटाउन सक्ने भएकाले रवि शक्तिशाली हुने अवस्थामा छन् ।

प्रकाशित मिति : २४ असार २०८३, बुधबार  ७ : ४७ बजे

रुससँग डिजेल सम्झौतापछि ट्रम्प-जेलेन्स्की विवाद चर्कियो, ट्रम्पले मागे युक्रेनमा नयाँ नेतृत्व

काठमाडौं– अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीलाई हटाएर

बेत्रावतीस्थित फलाकु खोलामा सेनाले बनाएको एक्रो बेलीब्रिज सञ्चालनमा (तस्बिरहरू)

काठमाडौं– रसुवाको भोटेकोशी क्षेत्रमा भदौ १० गते आएको भीषण बाढीका

चलचित्र ‘३६ को आँकडा’को ‘बहुलाउँछु कि क्या हो ?’ गीत सार्वजनिक

काठमाडौँ– अभिनेत्री रेखा थापा अभिनीत फिल्म ‘३६ को आँकडा’को गीत

वैदेशिक रोजगारी छाडेर गाउँमै बाख्रापालनमा रमाउँदै लक्ष्मीप्रसाद, कमाउँछन् वार्षिक एक लाख ५० हजार

भोजपुर– वैदेशिक रोजगारीबाट फर्किएपछि पुनः विदेश जाने सोच बनाउने युवाका लागि

समस्याग्रस्त सहकारीका बचतकर्तालाई  विवरण अद्यावधिक गर्न आग्रह

काठमाडौं– समस्याग्रस्त सहकारी व्यवस्थापन समितिको कार्यालयले सम्बन्धित सहकारी संस्थाका बचतकर्तालाई