काठमाडौं – छोटो भिडियो साझेदारी प्लेटफर्म टिकटकले सन् २०२६ को पहिलो तीन महिनामा नेपालबाट प्रकाशित करिब २० लाख भिडियो कम्युनिटी गाइडलाइन्स विपरीत रहेको भन्दै हटाएको जनाएको छ।
कम्पनीले सार्वजनिक गरेको कम्युनिटी गाइडलाइन्स इन्फोर्समेन्ट रिपोर्ट अनुसार जनवरीदेखि मार्चसम्म नेपालबाट अपलोड गरिएका १९ लाख ६१ हजार ६९८ वटा भिडियो प्लेटफर्मबाट हटाइएका हुन्। यो संख्या उक्त अवधिमा नेपालबाट अपलोड भएका कुल भिडियोको करिब ०.४ प्रतिशत रहेको प्रतिवेदनमा उल्लेख छ ।
प्रतिवेदनअनुसार नेपालमा नियम उल्लङ्घन गर्ने सामग्री हटाउने दर ९९.२ प्रतिशत पुगेको छ । हटाइएका सामग्रीमध्ये ८६.५ प्रतिशत भिडियो पोस्ट भएको २४ घण्टाभित्रै हटाइएको टिकटकले जनाएको छ, जसले नियम कार्यान्वयन प्रक्रिया अझ तीव्र भएको देखाएको छ।
सुरुआती समीक्षापछि गल्तीवश हटाइएका केही सामग्री भने पुनः प्लेटफर्ममा फर्काइएको पनि कम्पनीले जनाएको छ । प्रतिवेदनअनुसार ६१ हजार ९९२ वटा भिडियो पुनःस्थापना गरिएको छ ।
विश्वव्यापी तथ्याङ्कअनुसार टिकटकले यही अवधिमा १८ करोड ४० लाखभन्दा बढी भिडियो हटाएको जनाएको छ। हटाइएका सामग्री प्लेटफर्ममा अपलोड भएका कुल भिडियोको करिब ०.५ प्रतिशत रहेको कम्पनीको दाबी छ। अधिकांश सामग्री स्वचालित पहिचान (अटोमेटेड डिटेक्सन) प्रणालीमार्फत पहिचान गरी हटाइएको बताइएको छ।
नक्कली गतिविधिविरुद्ध पनि कम्पनीले व्यापक कारबाही गरेको जनाएको छ। पहिलो त्रैमासिकमा विश्वभरबाट ८ करोड ६२ लाखभन्दा बढी फेक एकाउन्ट हटाइएको छ। त्यस्तै १३ वर्षभन्दा कम उमेरका हुन सक्ने आशङ्का गरिएका २ करोड ५७ लाखभन्दा बढी एकाउन्ट समेत प्लेटफर्मबाट हटाइएको कम्पनीले जानकारी दिएको छ।
लाइभ प्रसारणमा हुने गतिविधिमाथि पनि टिकटकले निगरानी बढाएको जनाएको छ। प्रतिवेदनअनुसार विश्वभर ५ करोड ८२ लाखभन्दा बढी लाइभ सेसनमा चेतावनी दिने वा मोनिटाइजेसन बन्द गर्ने कारबाही गरिएको छ। साथै २ करोड १९ लाखभन्दा बढी लाइभ क्रियटरविरुद्ध पनि विभिन्न प्रकारका अनुशासनात्मक कारबाही गरिएको कम्पनीले जनाएको छ ।
टिकटकका अनुसार यस्ता प्रतिवेदन नियमित रूपमा सार्वजनिक गर्नुको उद्देश्य प्लेटफर्ममा गरिएका सामग्री तथा एकाउन्टसम्बन्धी कारबाहीबारे प्रयोगकर्तालाई पारदर्शी जानकारी उपलब्ध गराउनु र समुदायको विश्वास कायम राख्नु हो ।












प्रतिक्रिया