युद्धपछि पहिलोपटक देखिए इरानी सर्वोच्च नेता मुजतबा, स्वास्थ्यबारे उठेका प्रश्नमा नयाँ बहस « Khabarhub

युद्धपछि पहिलोपटक देखिए इरानी सर्वोच्च नेता मुजतबा, स्वास्थ्यबारे उठेका प्रश्नमा नयाँ बहस


२४ श्रावण २०८३, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


285
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- इरानका नयाँ सर्वोच्च नेता मुजतबा खामेनेई युद्धपछि पहिलोपटक सार्वजनिक रूपमा देखिएको भिडियो सार्वजनिक भएको छ।

इरानी समाचार एजेन्सी मेहरले सार्वजनिक गरेको भिडियोमा मुजतबा जमिनमा बसेर केही मानिसहरूसँग कुराकानी गरिरहेको देखिन्छ।

सर्वोच्च नेता बनेपछि सार्वजनिक भएको यो उनको पहिलो भिडियो भएको बताइएको छ। यद्यपि, भिडियो कहिले र कहाँ खिचिएको हो भन्नेबारे कुनै जानकारी दिइएको छैन।

पछिल्ला केही दिनदेखि मुजतबाको स्वास्थ्य अवस्थालाई लिएर विभिन्न दाबी सार्वजनिक हुँदै आएका थिए। इजरायली च्यानल–१४ ले स्रोतलाई उद्धृत गर्दै उनको अवस्था गम्भीर रहेको र अस्पतालमा उपचार भइरहेको दाबी गरेको थियो। कतिपय रिपोर्टमा उनको चाँडै मृत्यु हुन सक्ने आशंकासमेत व्यक्त गरिएको थियो।

यस्तो अवस्थामा मुजतबा सार्वजनिक भएको भिडियो बाहिरिएपछि उनको स्वास्थ्यबारे गरिएका दाबीमाथि प्रश्न उठेको छ। यद्यपि उनको वास्तविक स्वास्थ्य अवस्था कस्तो छ भन्ने अझै स्पष्ट भइसकेको छैन।

मुजतबा इरानमा नरहेको दाबी

यसअघि साउदी सञ्चारमाध्यम अल–हदथले इजरायली सुरक्षा स्रोतलाई उद्धृत गर्दै मुजतबा त्यस समयमा इरानमा नरहेको दाबी गरेको थियो।

स्रोतका अनुसार मुजतबाको नामबाट जारी भइरहेका सरकारी सन्देशहरू इस्लामिक रिभोलुसनरी गार्ड कर्प्स (आईआरजीसी) का नयाँ प्रमुख अहमद वाहिदी र अन्य उच्च अधिकारीहरूले तयार गरिरहेका थिए।

सर्वोच्च नेता बनेपछि मुजतबा सार्वजनिक रूपमा कतै देखिएका थिएनन्। उनले कुनै सार्वजनिक सम्बोधनसमेत गरेका थिएनन्। सरकारी सञ्चारमाध्यमहरूले उनको नामबाट केही लिखित सन्देश मात्रै सार्वजनिक गरेका थिए।

इरानी सञ्चारमाध्यमका अनुसार उनका पिता तथा पूर्व सर्वोच्च नेता अयातोल्लाह अली खामेनेईको निधनपछि पनि मुजतबाले कुनै मन्त्रीसँग प्रत्यक्ष भेट गरेका थिएनन्। उनी आफ्ना पिताको अन्त्येष्टिमा समेत सार्वजनिक रूपमा देखिएका थिएनन्।

इरानी राष्ट्रपति मसुद पेजेस्कियनले समेत मुजतबासँग प्रत्यक्ष सम्पर्क गर्न कठिन रहेको बताएका थिए।

के भनेको थियो इरानले ?

इरानले मुजतबाको स्वास्थ्यलाई लिएर सार्वजनिक भएका विभिन्न अड्कलबाजी यसअघि नै खारेज गरिसकेको थियो।

यसअघि इजरायली सञ्चारमाध्यमहरूले फेब्रुअरी २८ मा अमेरिका र इजरायलले गरेको आक्रमणमा मुजतबा गम्भीर घाइते भएको दाबी गरेका थिए।

‘द न्युयोर्क टाइम्स’ को रिपोर्टलाई उद्धृत गर्दै सार्वजनिक विवरणमा आक्रमणपछि मुजतबा गोप्य स्थानमा बसेर चिकित्सकहरूको निगरानीमा उपचार गराइरहेको दाबी गरिएको थियो।

रिपोर्टमा उनको अवस्था गम्भीर रहेको र एउटा खुट्टामा तीनपटक शल्यक्रिया गरिएको उल्लेख थियो। उनलाई कृत्रिम खुट्टा लगाउनुपर्ने अवस्था आउन सक्ने दाबीसमेत गरिएको थियो। एउटा हातमा पनि शल्यक्रिया गरिएको तथा अनुहार र ओठमा गम्भीर चोट लागेकाले बोल्नसमेत समस्या भएको बताइएको थियो।

तर इरानी अधिकारीहरूले यी दाबी अस्वीकार गर्दै मुजतबालाई कुनै गम्भीर चोट नलागेको बताएका थिए।

पिताको निधनपछि सर्वोच्च नेता

मुजतबा खामेनेई इरानका पूर्व सर्वोच्च नेता अयातोल्लाह अली खामेनेईका दोस्रो छोरा हुन्। अली खामेनेईको निधनपछि ५६ वर्षको उमेरमा मुजतबा इरानको नयाँ सर्वोच्च नेता बनेका हुन्।

मुजतबा लामो समयदेखि इरानको सत्ता संरचनामा पर्दापछाडिबाट प्रभाव राख्ने नेताका रूपमा चिनिँदै आएका थिए। उनले कहिल्यै निर्वाचन लडेका थिएनन् र सरकारमा कुनै औपचारिक पदसमेत सम्हालेका थिएनन्। तर उनका पिताको कार्यालय, आईआरजीसी तथा सुरक्षा संयन्त्रमा उनको बलियो सम्बन्ध रहेको बताइँदै आएको थियो।

सर्वोच्च नेता बन्नुअघि मुजतबाको सार्वजनिक राजनीतिक परिचय निकै सीमित थियो। उनले इरान–इराक युद्धको अन्तिम चरणमा आईआरजीसीमा सेवा गरेका थिए। त्यसपछि कोममा शिया धर्मशास्त्र र इस्लामी कानुनको अध्ययन गरेका थिए।

मुजतबा आफ्ना पिताका निकट मानिन्थे। सन् २००९ को राष्ट्रपतीय निर्वाचनपछि भएको विरोध प्रदर्शनका क्रममा पनि उनको नाम इरानको सत्ता संरचनामा प्रभावशाली व्यक्तिका रूपमा चर्चामा आएको थियो।

सन् २०१९ मा अमेरिकाले मुजतबामाथि प्रतिबन्ध लगाएको थियो। अमेरिकी पक्षले त्यतिबेला कुनै निर्वाचित पदमा नरहे पनि उनले सर्वोच्च नेताको प्रतिनिधिका रूपमा काम गरिरहेको आरोप लगाएको थियो।

प्रकाशित मिति : २४ श्रावण २०८३, आइतबार  १ : ४६ बजे

गगनले त्यो दिन सम्झिँदै भने, ‘भदौ २४ गते हाम्रो परिवारलाई घरभित्रै थुनेर आगो लगाइयो’

काठमाडौं- नेपाली कांग्रेसका सभापति गगन थापाले पछिल्लो राजनीतिक संकटका क्रममा

मोरक्कोका दशौँ हजार आप्रवासी रोक्न नसकेको स्पेनले गर्‍यो इटालीका १९९ आप्रवासीको खानतलासी

काठमाडौं– अफ्रिकी मुलुक मोरक्कोबाट केही समयअघि सेउटा छिरेका दशौँ हजार

इतर पक्षलाई गगनको जवाफ,‘मलाई तर्साएर तर्सिन्न, दबाएर दबिन्न, फकाएर फकिन्न’

काठमाडौं- प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसका सभापति गगन थापाले आफूलाई दबाब,

सर्वोच्चको पुनरावलोकन आदेशबारे गगन भन्छन्, ‘शानका साथ अदालत जान्छौँ, आफ्ना कुरा राख्छौँ’

काठमाडौं- नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीको दोस्रो विशेष महाधिवेशनसम्बन्धी

‘रोड टु एभरेस्ट’ वृत्तचित्रको फर्स्ट लुक पोस्टर र अफिसियल टिजर सार्वजनिक

काठमाडौं– विश्वको सर्वोच्च शिखर सगरमाथाको साहस, रहस्य, जिज्ञासा र जलवायु