काठमाडौं- उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री गौरी कुमारीले पछिल्लो समय बजारमा महंगी बढेको कुराले सरकारलाई चिन्तित बनाएको बताएकी छन्।
बुधबार सिंहदरबारमा उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको बैठकमा बोल्ने क्रममा उनले बजारमा चिनीको भाउ प्रतिकेजी १५० रुपैयाँ पुगेको आफूले सुनेको बताइन् ।
मन्त्री गौरी कुमारीले नजिकिँदै गरेको दशैं-तिहारसहितका चाडवाडलाई लक्षित गरी आपूर्ति व्यवस्थालाई प्रभावकारी बनाउने जाने पनि बताइन् ।
‘कालोबजारी रोक्न बजार अनुगमन तीव्र बनाएका छौँ । म अगाडि पनि प्रभावकारी रुपमा जान्छु’, उनले भनिन्, ‘खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडका १४४ जिल्लाका १९३ स्थानबाट सहुलियतमा सामान बेच्छौँ। नेपाल फुड्स ब्रान्डका खाद्यान्नको विक्रीमा प्रतिकिलो ५ रुपैयाँ छुट दिएका छौँ।’
उनले चाडपर्वलाई लक्षित गर्दै २५ हजार मेट्रिक टन चिनी ल्याउने तयारी भएको बताइन् । ‘चाडपर्वका लागि २५ हजार मेट्रिक टन चिनी असोजसम्म १ प्रतिशत भन्सार घटाएर ल्याउने तयारी भएको छ’, उनले भनिन्, ‘हामी महंगी नियन्त्रणको कोसिसमा छौँ । कालोबजारी रोक्ने कोसिसका लागि बजार अनुगमन बढाउँछौँ।’
उनले खाद्य संस्थान र साल्ट ट्रेडिङमा १०० रुपैयाँ आसपासमा बेचिएको चिनीको भाउ आकाशिएको कुरा पनि सुनाइन् । ‘चिनीको मूल्य बजारमा आकाशिएको सुनिएको छ। अहिले बजारमा १५० रुपैयाँ प्रतिकेजीमा चिनी बेचिएको सुनिँदैछ’, उनले भनिन्, ‘खाद्य संस्थानाबाट १०९ रुपैयाँ प्रतिकेजीमा बेचिरहेका छौँ। साल्ट ट्रेडिङबाट दुई किसिमको चिनी १०५ र १०९ रुपैयाँ प्रतिकेजीमा बेच्दैछौँ। यो भन्दा बढीमा बेचिएको भेटेमा हामी कारबाही गर्छौँ ।’












प्रतिक्रिया