उदयपुर– त्रियुगा नगरपालिका-११ फिल्म हल नजिक मदन भण्डारी लोकमार्गमा पिकअप जिपमा सिटी सफारी ठोक्किँदा २ वर्षीया बालिकाको मृत्यु भएको छ भने ७० वर्षीया वृद्धा घाइते भएकी छन् ।
शुक्रबार बिहान करिब १०:२५ बजे आँखा अस्पतालबाट मेनचोकतर्फ आउँदै गरेको पानी बोकेको को.प्र.०५-००१ च ०१९० नम्बरको पिकअपमा सोही दिशाबाट आउँदै गरेको को.प्र.०५-००१ ह ०८७६ नम्बरको सिटी सफारी पछाडिबाट ठोक्किँदा दुर्घटना भएको थियो ।
दुर्घटनामा त्रियुगा नगरपालिका-११ बस्ने शिव कुमार सदाको छोरी २ वर्षीया रागिनी सदा गम्भीर घाइते भएकी थिइन् ।
उनलाई उपचारका लागि जिल्ला अस्पताल उदयपुर पठाइएकोमा दिउँसो १२:५६ बजे उपचारका क्रममा मृत्यु भएको हो । त्यस्तै, ७० वर्षीया कन्नि सदा घाइते भएकी छन् । उनको जिल्ला अस्पताल उदयपुरमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।
घटनापछि दुवै सवारीसाधन र चालक नियन्त्रणमा रहेका छन् । सिटी सफारी चालकले मादक पदार्थ सेवन गरेको र आवश्यक कागजात साथमा नभएको प्रारम्भिक अनुसन्धानमा खुलेको छ । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।














प्रतिक्रिया