झापा– ‘मौरी दिदी’ भनेर परिचित शिवसताक्षी नगरपालिका–११ की देवीकुमारी दाहालले पालेका १५० घारका मौरी रोग लागेपछि मरेका छन् । अब उनको ५० घारमा मात्र मौरी बाँकी छन् ।
अठार वर्षअघि एक हजारको लगानीमा दुई घार मौरीबाट व्यावसायिक मौरीपालन सुरु गरेकी उनको समूहसँग कुनै बेला ९०० सम्म मौरीका घार थिए । वार्षिक १० हजार किलो शुद्ध मह उत्पादन गर्दै उनले बर्सेनि ३० लाखसम्म आम्दानी गर्थिन् ।
मौरीपालनका कारण राष्ट्रपति पुरस्कार पनि पाएकी दाहालले रोगको सङ्क्रमण र बजारको समस्या चुनौती बनेर खडा भएपछि यो व्यावसायलाई निरन्तरता दिन कठिन भइरहेको बताइन् । ‘विभिन्न रोगको सङ्क्रमणले ठूलो क्षति भयो,’ उनले भनिन्, ‘ठूलो लगानी डुब्दा व्यवसायलाई निरन्तरता दिन कठिन भइसक्यो । किसानलाई प्रोत्साहन गर्ने र बजार सुनिश्चित गर्ने वातावरण सम्बन्धित निकायले बनाउनु जरुरी छ ।’
मौरीपालन व्यवसायबाट राम्रो आम्दानी गर्न सकिने सम्भावना भए पनि पछिल्ला दिनमा रोग सङ्क्रमण, विषादीको प्रयोग, सरकारी प्रोत्साहनको अभाव र बजार व्यवस्थापनको चुनौतीले किसान निरुत्साहित हुन थालेका छन् । कनकाईका भुवन अधिकारीले १०० घार मौरीपालनबाट वार्षिक २० लाख आम्दानी गर्दै आएको बताए । कनकाई मौरीपालन उद्योगका सञ्चालक उनले व्यावसायिक मौरीपालनले लगानी अनुसारको प्रतिफल दिन नसकेको गुनासो सुनाए ।
चरनमा गएका मौरी विषादीका कारण मरेर नफर्किने र सरकारी निकायले प्रोत्साहन नदिने हुँदा किसान चिन्तित बनेको उनको भनाइ छ । उनले मौरीपालन व्यवसायलाई जगेर्ना गर्न स्थानीय तह र प्रदेश सरकारले किसानमैत्री कार्यक्रम सञ्चालन गर्नुपर्नेमा जोड दिए ।
अहिले पनि किसानले मौरीका दुई हजारभन्दा बढी घारबाट मह उत्पादन गरिरहेका शिवसताक्षी नगरपालिकाका कृषि शाखा प्रमुख रविन भट्टराईले बताए । मौरीपालन व्यवसायप्रति किसानको आकर्षण घट्दै जानुमा रोग सङ्क्रमण, विषादीको प्रयोग र बजारको समस्या प्रमुख कारण रहेको उनको भनाइ छ ।
वार्षिक दुई हजार किलीससम्म मह उत्पादन गर्दै आएका शिवसताक्षीका किसान नन्दकुमार दङ्गालले खेतबारीमा जथाभावी विषादीको प्रयोगले मौरीपालन व्यवसायमा ठूलो सङ्कट निम्तिएको बताए ।
किसानले भोगिरहेका समस्याको समाधान गर्दै महको बजारीकरण, ब्रान्डिङ र प्याकेजिङमा सहयोग पुर्याउन सके मौरीपालन व्यवसायलाई थप व्यवस्थित गर्न सकिने शिवसताक्षी उद्योग वाणिज्य सङ्घका अध्यक्ष अग्निप्रसाद दुलालको धारणा छ ।














प्रतिक्रिया