तिहारका पटाकाले बढाउँछ प्रदूषण « Khabarhub

तिहारका पटाकाले बढाउँछ प्रदूषण


२३ कार्तिक २०८३, सोमबार  

पढ्न लाग्ने समय : 4 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– आँगनमा ढकमक्क फुलेका फूल, साँझपख झिलिमिली बालिएका बत्ती र गाउँटोलमा गुञ्जिने देउसी–भैलोले तिहारको मौलिक रौनकता बढाएको छ । 

दाजुभाइ तथा दिदीबहिनीबीचको आत्मीयता र प्रेमको प्रतीक भाइटीकाको तयारी चलिरहेको छ । बजार तिहारका सामग्रीले भरिभराउ छन् भने किनमेल र चहलपहल पनि उत्तिकै बढेको छ ।

तिहारका कतिपय परम्परा र गतिविधि आफैँमा सुन्दर छन् । फूल, बत्ती र देउसी–भैलोले वातावरणमा उत्साह र उमङ्ग थपिरहेका छन् । तर, यही उल्लासका बीच पटाकाको आवाजले भने कतिपयलाई ‘डिस्टर्ब’ गरिरहेको छ । 

तिहार सुरु भएदेखि नै पटाका पड्किने क्रम बढेको छ । विशेषगरी रातको समयमा हुने पटाकाको चर्को आवाजले टोलबस्तीको शान्त वातावरणलाई बिथोलिरहेको छ । 

कतिपय टोलबस्तीमा राति सुतिरहेका मानिससमेत पटाकाको आवाजले झस्किने र निद्रा पूरा गर्न नपाउने अवस्था छ । चाडपर्वको खुसी मनाउने नाममा अरूको निद्रा र शान्ति नै खलल हुने गरी यस्ता पटाका पड्काउने प्रवृत्तिले स्थानीयवासीलाई असहज बनाएको छ । 

पटाकाले ध्वनी प्रदूषण मात्रै होईन त्यसबाट निस्कने धुँवाका कारण वायुलाई समेत अस्वस्थ बनाइरहेको छ । एयर क्वालिटी इन्डेक्स (एक्यूआई) का अनुसार आज मध्याह्नसम्म काठमाडौँको वायु प्रदूषण अस्वस्थ तहमा पुगेको छ । 

तथ्यांकअनुसार १४३ एक्यूआईसहित उपत्यकाको प्रदुषण विश्वकै १० स्थानमा छ ।  एक्यूआईको मापदण्डअनुसार ०–५० सम्म ‘राम्रो’, ५१–१०० ‘मध्यम’, १०१–१५० ‘अस्वस्थ’, १५१–२०० ‘सबैका लागि अस्वस्थ’, २०१–३०० ‘धेरै अस्वस्थ’ र ३०० भन्दा माथि ‘अत्यन्त खतरनाक’ मानिन्छ ।

वातावरण विभागका महानिर्देशक ज्ञानराज सुवेदीले तिहारमा प्रयोग गरिने प्लास्टिकका फूल, पटाका तथा अन्य प्रदूषणजन्य सामग्रीले वातावरणमा प्रतिकूल असर पार्ने  र कार्बन उत्सर्जनसमेत बढाउने बताएका छन् ।

‘तिहारमा घर, कार्यालय तथा सार्वजनिकस्थल सजाउन प्लास्टिकका फूलको प्रयोग गर्ने प्रवृत्ति बढ्दै गएको छ । सांस्कृतिक पर्वका नाममा प्रयोग गरिने यस्ता सामग्रीले दीर्घकालीन रूपमा वातावरणमा नकारात्मक असर पार्ने भएकाले प्राकृतिक फूलको प्रयोगलाई प्रोत्साहन गर्नुपर्छ,’ उनले भने, ‘प्लास्टिकका फूलको आयात नियन्त्रण गर्न सरकारले प्रयास गरे पनि खुला सिमानाका कारण त्यसलाई पूर्ण रूपमा रोक्न कठिन भइरहेको छ ।’

महानिर्देशक सुवेदीका अनुसार लुकीछिपी प्लास्टिकका फूल भित्रिने क्रम जारी रहेकाले आयात नियन्त्रणसँगै उपभोक्ताको व्यवहारमा परिवर्तन ल्याउन आवश्यक छ । उपभोक्ताले नै प्लास्टिकका फूल प्रयोग नगर्ने प्रतिबद्धता जनाएमा यसको प्रयोग न्यूनीकरण गर्न सहज हुने उनले उल्लेख गरे। 

महानिर्देशक सुवेदीले तिहारका बेला पटाका तथा आतसबाजी पड्काउँदा वायु र ध्वनि प्रदूषणको समस्या थप जटिल बन्ने गरेको बताए। पटाकाबाट निस्कने धुवाँ, धुलो तथा विषाक्त ग्यासले वायुमण्डलको गुणस्तरमा असर पार्ने तथा ध्वनिको तीव्रताले मानव स्वास्थ्य र वातावरणमा समेत नकारात्मक प्रभाव पार्ने उनको भनाइ छ ।

महानिर्देशक सुवेदीले कुल वायु प्रदूषणको आधाभन्दा बढी हिस्सा बाह्य स्रोतबाट हुने प्रदूषणले ओगटेको बताए। यस्तो अवस्थामा चाडपर्वका नाममा थप प्रदूषण निम्त्याउने गतिविधि बढाउनु उचित नहुने उनको धारणा छ ।

चाडपर्व मनाउने क्रममा संस्कृति र परम्पराको संरक्षणसँगै वातावरणीय स्वच्छतालाई पनि प्राथमिकता दिनुपर्नेमा जोड दिँदै महानिर्देशक सुवेदीले प्लास्टिकका फूलको सट्टा प्राकृतिक फूल र पटाका तथा आतसबाजीको विकल्पमा प्रदूषणरहित तरिका अपनाउन आग्रह गरे। 

विज्ञ भन्छन् स् पटकाले वायु प्रदूषण बढाउन सहयोग पुर्‍याइरहेको छ

वातावरणविद् राजन थापाले तिहारमा पड्काइने पटाकाबाट निस्कने धुवाँ, धुलो तथा रासायनिक पदार्थले वायु प्रदूषण बढाउन सहयोग पुर्‍याइरहेको बताएका छन् ।

‘समयअघि चक्रवातको प्रभावले नेपालमा करिब तीन दिन वर्षा भएपछि मौसम खुलेको थियो ।  वर्षाका कारण वायुमण्डलमा रहेका धुलो तथा प्रदूषक कण पखालिँदा काठमाडौँ उपत्यकाको वातावरण स्वच्छ बनेको थियो ,’ उनले भने, ‘तर अहिले पुनः वायु प्रदूषण बढेर अस्वस्थकर अवस्थातर्फ उन्मुख छ ।’

विज्ञ थापाले पटाका पड्काउँदा निस्कने धुवाँ र रासायनिक पदार्थले वायुमण्डलमा प्रदूषक कण थप्ने भएकाले मानव स्वास्थ्यमा मात्र नभई पशुपन्छी तथा अन्य जीवजन्तुमा समेत असर पार्ने बताए। 

‘अहिले सार्वजनिक बिदाका कारण उपत्यकाबाट धेरै सवारीसाधन बाहिरिएका छन् । उपत्यकाभित्र सवारीसाधनको चापसमेत घटेको छ । सामान्य अवस्थामा सवारीसाधनको चाप कम हुँदा प्रदूषण घट्नुपर्ने भए पनि अहिले प्रदूषण बढिरहेको अवस्थाले अन्य स्रोतबाट पनि प्रदूषण भइरहेको देखाउछ,’ थापाले भने। 

उनका अनुसार अहिले उपत्यकामा पूर्वाधार निर्माणका गतिविधि पनि खासै भइरहेका छैनन । विज्ञ थापाका अनुसार काटिएको धानको पराल जलाउने समय भएको छैन । अहिले वायु प्रदूषणको स्तर बढ्नुले तिहारमा प्रयोग भइरहेका पटाका तथा अन्य प्रदूषणजन्य गतिविधितर्फ ध्यान दिनुपर्ने बताए। पटाकाको चर्को आवाजले जनावर तर्सिने र उनीहरूको प्राकृतिक व्यवहारमा समेत असर पर्ने भएकाले यसको प्रयोग वातावरणमैत्री हुन नसकेको उनको तर्क छ ।

विज्ञ थापाले चाडपर्वको खुसी मनाउने नाममा वातावरण र जीवजन्तुलाई असर पुग्ने गतिविधि गर्नु उचित नहुने बताउँदै पटाका प्रयोगलाई निरुत्साहित गर्नुपर्नेमा जोड दिए । 
    
पटाकाको चर्को आवाजले स्थायी बहिरोपनको जोखिम

 तिहार तथा दीपावलीमा रमाइलोका लागि पड्काइने पटाका र आतिसबाजीबाट निस्कने चर्को आवाजले कानको श्रवण क्षमतामा गम्भीर क्षति पु¥याउन सक्ने चिकित्सकले बताएका छन् । वीर अस्पतालका नाक, कान तथा घाँटी रोग विशेषज्ञ डा. विमलेशकुमार गुप्ताले  पटाका पड्काउँदा उत्पन्न हुने अत्यधिक ध्वनिका कारण तत्कालै कानमा चोट पुग्ने तथा स्थायी बहिरोपनसमेत हुनसक्ने जोखिम रहने बताए। 

‘सामान्यतया ८५ डेसिबलसम्मको ध्वनिलाई सुरक्षित मानिन्छ । तर पटाका विस्फोट हुँदा १४० देखि १५० डेसिबल वा सोभन्दा बढी ध्वनि उत्पन्न हुन सक्छ । यस्तो तीव्र ध्वनिले कानको भित्री संरचनामा गम्भीर क्षति पुर्‍याउन सक्छ, जसलाई चिकित्सकीय भाषामा ‘एकोस्टिक ट्रमा’ भनिन्छ’, उनले भने। 

डा. गुप्ताले पटाकाबाट उत्पन्न हुने आवाज सामान्य निरन्तर ध्वनिभन्दा फरक र अचानक ठूलो आवाजमा विस्फोट हुने भएकाले कानमा थप जोखिम निम्त्याउने बताए। 

‘पटाकाको विस्फोटबाट उत्पन्न हुने तीव्र ध्वनिले कानको जाली फुटाउने र कान भित्रीका श्रवणसम्बन्धी सूक्ष्म कोषिका (हेयर सेल्स)नष्ट गर्न सक्छन् ।  यी कोषिका नष्ट भएपछि पुनः निर्माण हुँदैनन् । त्यसैले यस्तो क्षतिका कारण स्थायी बहिरोपनसमेत हुन सक्छ,’ उनले भने। 

चिकित्सक गुप्ताका अनुसार पटाकाको चर्को आवाजले कानमा निरन्तर सिट्टी बजेजस्तो, गुनगुनाएजस्तो वा सुसाएको आवाज आउने, अरूले बोलेको स्पष्ट नसुनिने, कान बन्द भएको वा भारी भएको महसुस हुने र कान दुख्ने जस्ता समस्या देखिन सक्छन् । कानको जाली फुटेमा रगतसमेत आउन सक्छ ।

डा. गुप्ताले तिहारमा पटाका पड्काउनु रमाइलो र उत्सवको एउटा माध्यमका रूपमा लिइने भए पनि त्यसले स्वास्थ्यमा पार्ने असरप्रति पर्याप्त ध्यान नदिइएको बताए। कानलाई यस्तो जोखिमबाट जोगाउन पटाका पड्काइरहेको स्थानबाट सुरक्षित दूरी कायम गर्नुपर्ने र विशेषगरी बालबालिकालाई पटाका नजिक जान दिन नहुने उनले सुझाव दिए । 

पटाकाको आवाजबाट कानको सुरक्षाका लागि इयर प्लग वा अन्य श्रवण सुरक्षा सामग्री प्रयोग गर्न सकिने उनले बताए । 

डा गुप्ताले पटाको आवाजले कानमा सिट्टी बज्ने, आवाज धमिलो सुनिने वा कान थुनिएको महसुस भए त्यसलाई सामान्य समस्या ठानेर बेवास्ता गर्न नहुने सुझाव दिए । यस्ता लक्षण २४ देखि ४८ घण्टासम्म पनि कम नभए तत्काल नाक, कान तथा घाँटी रोग विशेषज्ञसँग परामर्श लिनुपर्ने उनले बताए। 

चर्को आवाजबाट हुने श्रवण क्षति समयमै पहिचान र उपचार गर्नुपर्ने भएकाले तिहार मनाउँदा मनोरञ्जनसँगै स्वास्थ्य सुरक्षालाई पनि प्राथमिकता दिनुपर्ने चिकित्सकको सुझाव छ । 

पटकाले लियो ज्यानै 

प्रदूषण मात्रै होइन । पटकाले ज्यानै पनि लिन सक्छ । जिल्ला पर्सा पकहामैनपुर गाउँपालिका–२ मा पटका पट्काउने क्रममा छर्रा लागेर एक बालकको मृत्यु भएको छ । 

नेपाल प्रहरीका अनुसार स्थानीय रामगुलाम सहनीका ८ वर्षीय छोरा कुन्दन सहनी आफ्नै घर अगाडि आज पटका पट्काउने क्रममा छर्रा छातीको बीच भागमा लागेर घाइते भए । घाइते बालकलाई उपचारका लागि वीरगञ्जस्थित तराई अस्पताल लगिएकोमा चिकित्सकले मृत घोषणा गरेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : २३ कार्तिक २०८३, सोमबार  ३ : ०० बजे

तिहारका पटाकाले बढाउँछ प्रदूषण

काठमाडौँ– आँगनमा ढकमक्क फुलेका फूल, साँझपख झिलिमिली बालिएका बत्ती र

घोप्टेभीरको पहिरोले अस्तव्यस्त पृथ्वी राजमार्ग (तस्बिरहरु)

काठमाडौं-पृथ्वी राजमार्गअन्तर्गत चितवनको इच्छाकामना गाउँपालिका–४ घोप्टेभीरमा सोमबार बिहान खसेको सुख्खा

चिनियाँ अन्तरिक्ष क्षमताबाट अमेरिकी प्रभुत्वलाई चुनौती

बेइजिङ- अन्तरिक्षमा सैन्य तथा रणनीतिक क्षमता तीव्र रूपमा विस्तार गरिरहेको

घोप्टेभिरको पहिरो पन्छाएर दुईतर्फी यातायात नियमित

चितवन– घोप्टेभिरको पहिरो सफा गरिएको छ । पहिरोका कारण सडक

कलंकीस्थित एनबीटीसी कम्प्लेक्समा आगलागी 

काठमाडौं – काठमाडौंको कलंकीस्थित एनबीटीसी कम्प्लेक्समा आगलागी भएको छ ।