काठमाडौँ – काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रमुख एवं प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) सुरेशप्रसाद काफ्लेले तिहार तथा छठ पर्वका समयमा उपत्यकाको ट्राफिक व्यवस्थापनलाई थप प्रभावकारी बनाउन मातहतका प्रहरी कर्मचारीलाई निर्देशन दिएका छन्।
कार्यालयमा सोमबार आयोजित तिहार तथा छठपर्व लक्षित शुभकामना आदानप्रदान कार्यक्रममा बोल्दै उनले चाडपर्वका समयमा ट्राफिक व्यवस्थापनमा कुनै पनि कमीकमजोरी हुन नदिन उच्च सतर्कताका साथ जिम्मेवारी निर्वाह गर्न निर्देशन दिएका हुन्।
नागरिकले हर्षोल्लासका साथ चाडपर्व मनाउन पाउनु नै प्रहरीको मुख्य खुसी भएको उल्लेख गर्दै एसएसपी काफ्लेले नागरिकलाई सहज र सुरक्षित आवागमनको वातावरण सुनिश्चित हुनेगरी आआफ्नो ड्युटीमा खटिन आग्रह गरे।
चाडपर्वका बेला सवारी दुर्घटनाका घटना बढ्ने उच्च सम्भावना रहने भएकाले दुर्घटना न्यूनीकरणलाई पहिलो प्राथमिकतामा राखेर सक्रिय रूपमा ट्राफिक व्यवस्थापन गर्न उनले मातहतका निकायलाई कडा निर्देशन दिएका छन्।
कार्यक्रममा सञ्चारकर्मी, नागरिक समाजका प्रतिनिधि, काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालय तथा मातहतका निकायका ट्राफिक प्रहरी अधिकृत एवं कर्मचारीहरूको सहभागिता रहेको थियो।














प्रतिक्रिया