काठमाडौं– हाम्रो समाजमा एउटा गहिरो भ्रम व्याप्त छ कि शरीरलाई चाहिने प्रोटिन प्राप्त गर्नका लागि अनिवार्य रूपमा मासु नै खानुपर्छ वा बजारमा पाइने महँगा प्रोटिन पाउडर नै पिउनुपर्छ ।
तर, यो सोचाइ पूर्णतः गलत हो हाम्रो घर–भान्सामा पाकिने सामान्य शाकाहारी भोजनमा पनि शरीरलाई आवश्यक पर्ने पर्याप्त प्रोटिन उपलब्ध हुन्छ ।
शरीरका कोष, मांसपेशी र हाडको विकास गर्न तथा रोग प्रतिरोधात्मक क्षमता बढाउन प्रोटिन अपरिहार्य तत्त्व हो । विशेषगरी गर्भवती महिला र हुर्कंदै गरेका बालबालिकाका लागि यसको आवश्यकता बढी हुन्छ, तर यसको परिपूर्तिका लागि हजारौं रुपैयाँ खर्च गरेर कृत्रिम पाउडर वा औषधि नै खानुपर्छ भन्ने छैन ।
बरु, बजारिया ‘बडी बिल्डिङ’ पाउडरहरूले स्वास्थ्यमा दीर्घकालीन नकारात्मक असर पार्न सक्ने भएकाले विज्ञको सल्लाहबिना तिनको प्रयोग गर्नुहुँदैन ।
प्रकृतिले हामीलाई मासुको विकल्पमा अनेकौँ सस्तो र स्वस्थकर स्रोतहरू दिएको छ । भटमास प्रोटिनको सबैभन्दा ठूलो स्रोत हो, जसमा १०० ग्राममै ४३ ग्रामसम्म प्रोटिन पाइन्छ । यसबाहेक मुँग, चना, सिमी, रहरजस्ता गेडागुडी र दालहरू प्रोटिनका भण्डार हुन् । अझ यिनलाई भिजाएर टुसा उमारी खाँदा वा दाल र भात सँगै खिचडी वा क्वाँटीका रूपमा खाँदा शरीरले पूर्ण प्रोटिन प्राप्त गर्छ ।
घरमै बनाउन सकिने चनाको सातु, दूध, पानी र र मोही पनि प्रोटिनका उत्कृष्ट स्रोत हुन् । हामीले हेला गर्ने कोदो, फापर, जौ, लट्टे (मार्सी) र कर्णालीको चिनो जस्ता रैथाने अन्नमा विदेशबाट आउने महँगो किनुवा वा सेतो चामलमा भन्दा धेरै गुणा बढी प्रोटिन पाइन्छ । साथै, बदाम, आलस र फर्सीको बियाँले पनि शरीरलाई आवश्यक पोषण दिन्छन् ।
स्वस्थ रहनका लागि महँगो खर्च गर्नु पर्दैन । अण्डा खानेहरूका लागि अण्डा र शाकाहारीहरूका लागि घरकै दाल, सातु, ढिँडो र गेडागुडी नै प्रोटिनका लागि पर्याप्त छन् । बालबालिकालाई पनि बजारको सेर्ल्याक्स भन्दा घरमै बनाएको लिटो वा जाउलो खुवाउनु बुद्धिमानी हुन्छ ।
तसर्थ, मासु वा महँगो पाउडरको भ्रमबाट मुक्त भई आफ्नै भान्सामा उपलब्ध पोसिला खानेकुरालाई सही तरिकाले खाने बानी बसाल्नु नै स्वास्थ्यका लागि सर्वोत्तम उपाय हो ।













प्रतिक्रिया