झापा ५ मा ‘गुइँठा’को राजनीति ! « Khabarhub

झापा ५ मा ‘गुइँठा’को राजनीति !


२६ माघ २०८२, सोमबार  

पढ्न लाग्ने समय : 2 मिनेट


501
Shares
  • change font
  • change font
  • change font

झापा- झापा क्षेत्र नम्बर ५ मा अहिले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र काठमाडौं महानगरपालिकाका पूर्वमेयर बालेन्द्र साह जोडतोडले प्रचार प्रसार गरिरहेका छन् ।

किरियापुत्रीका घरदेखि मठमन्दिर र चर्चमासमेत चुनावी चर्चा छ । बालेन्द्र पत्नी सविना काफ्ले त चर्चमै पसेर प्रार्थनासमेत गर्न भ्याइन् । जहाँको भिडियो अहिले भाइरल भइरहेको छ ।

उनैमाथि सादा पोशाकका महिला प्रहरी लिएर भोट माग्दै हिँडेको आरोप पनि लाग्यो । उनकै कारण पति बालेन्द्रले स्पष्टीकरण खाए । यसबारे अहिले पनि निर्वाचन आयोगले अनुसन्धान गरिरहेको छ ।

यहाँ चुनावी एजेन्डा स्थानीयदेखि राष्ट्रियसम्मका छन् । सोमबार गौरीगञ्ज पुगेका बालेन्द्रलाई एकजना मतदाताले पाथीभराको केबलकारदेखि जेन-जीका नाममा जलाइएका संरचनाबारे समेत प्रश्न गरे।

तर बालेनले पार्टी र आफ्नो घोषणा पत्रबारे सोधिएको प्रश्नमा जवाफ दिन सकेनन् । उनले फागुन ४ गतेपछि मात्रै पार्टीले घोषणा पत्र ल्याउने बताउँदै अहिले भेटघाट गर्न मात्रै आएको जवाफ दिएर पन्छिए ।

उता पत्नी सविना भने ओलीले गुइँठाबारे बोलेपछि त्यही बोकेर स्थानीयसँग फोटो खिचाइरहेकी छन्। गुइँठासहित फोटो खिचाउँदै उनले ओलीप्रति कटाक्ष गर्न खोजेको देख्न सकिन्छ ।

उता एमाले अध्यक्ष ओलीलाई गुइँठाबारे आफैंले दिएको अभिव्यक्तिले तनाव दिएको छ। उनी सोमबार गौरीगञ्जमा डुलिरहँदा स्थानीयबासीले उक्त भनाइको प्रतिरक्षा पनि गरे ।

ओलीले गोबर र गुँइठाबारे दिएको अभिव्यक्तिलाई तोडमोड नगर्न उनीहरूले चेतावनी दिएका छन् । सोमबार अध्यक्ष ओलीसमेत गौरीगञ्ज पुगेको समयमा स्थानीयले गोबरको सही उपयोगबारे अध्यक्ष ओलीले बोल्दा केही व्यक्तिहरूले तोडमोड गरेर भ्रम छर्न खोजेको बताए ।

‘गोबर कृषिका लागि उपयोगी छ, यसलाई बरू गोबर ग्यास बनाएर उपयोग गर्दा राम्रो हुन्छ । यसको दैनिक प्रयोगले मानव स्वास्थ्यलाई हानी गर्छ’, गौरीगञ्ज ३ का श्रवण गिरीले भने, ‘यति सामान्य कुरालाई कसैले अनावश्यक तोडमोड गरेर दुष्प्रचार गर्छ भने त्यो राम्रो हुँदैन ।’

ओलीले आफ्‌नो ठाउँमा मात्रै विकास गरेको र अन्यत्र ध्यान नदिएको बताउनेलाई उनले प्रश्न गरे । ‘हुम्लामा कसले मोटरबाटो लग्यो, दैलेखको ग्यास कसले उत्खनन् गरायो, मदन भण्डारी राजमार्ग कसले विस्तार गर्‍यो, क्रिकेट स्टेडियम कस्ले बनायो ?’, उनले भने, ‘त्यसतर्फ चाहिँ केही नबोल्ने अनि अफवाह फैल्याउने ?’

झापा क्षेत्र नं. ५ का उम्मेदवार ओली केही दिनदेखि मतदातासँगको भेटमा सक्रिय छन् । सोमबार उनले गौरीगञ्जका विभिन्न टोलमा पुगि मतदाताका कुरा सुनिरहेका छन् ।

विवाद

केही सातअघि ओलीले गृहजिल्लामै पुगेर झापा–५ सफा सुग्घर रहेको बताएका थिउ । महोत्तरी र धनुषाजस्तो गुइँठा बाल्ने अवस्था झापा ५ मा नरहेको उनले बताएका थिए । उनले त्यसो भनेपछि बालेन पत्नी सविना ओलीमाथि कटाक्षसहित गुइँठासहित फोटो सेसनमा लागेकी छन्।

‘दमक सफा नगरमध्ये पर्छ, व्यवस्थित नगरमध्ये पर्छ । यो महोत्तरी–धनुषा जस्तो अवस्थामा होइन, त्योभन्दा धेरै एड्भान्स छ,’ उनले बालेन्द्रप्रति इङ्गित गर्दै भनेका थिए, ‘सफा–सुग्घर बेग्लै छ । उहाँ त्यो कल्चरबाट आएको मान्छे, यस कल्चरमा… उहाँले खै यहाँ गुइँठा बाल्न सिकाउनु हुन्छ कि के गर्नु हुन्छ, मलाई थाहा छैन । यो ठाउँ त धेरै एड्भान्स छ नि…। उहाँले यहाँबाट सिक्नु पर्छ, यहाँ केही गर्नेभन्दा पनि । सिकेको त काठमाडौँमै देखिन्छ नि… ।’

ओलीले त्यसो भनेपछि झापा ५ का गौरीगञ्ज, गौरादह र कमल गाउँपालिकाका आदिवासी ताजपुरिया, राजवंशीहरू रिसाएको चर्चा छ। बालेन्द्र पत्नी सविनाले गुइँठा उपहार लिएपछि विवाद झन् बढेको छ। त्यही उपहारमा पाएको गुइँठासँगै फोटो खिचेर सविनाले ओलीमाथि प्रहार गर्न खोजेकी हुन् ।

बालेन र सविनाले गुइँठाबारे ओलीको त्यही बोलीलाई भोट तान्न उपयोग गरिरहेका छन् । ओलीले गुइँठाबारे बोल्दा एमालेकै कार्यकर्तालाई समस्या परेको बताउने पनि छन् ।

झापा ५ कै विभिन्न ठाउँमा अझै पनि गुइँठा प्रयोग गर्ने चलन छ । खासगरी हिउँद महिना सुरू भएदेखि वर्षा नलागुञ्जेल यहाँका बासिन्दा गुइँठा बनाउँछन् । झापा ५ का दर्जनौँ टोलमा अहिले पनि गुइँठा बनाउँदै गरेको भेट्न सकिन्छ । गुइँठा सुकेपछि खाना पकाउन प्रयोग गरिन्छ ।

प्रकाशित मिति : २६ माघ २०८२, सोमबार  २ : २० बजे

सरकारी सूचनामा सरकारी सञ्चारमाध्यम मात्र प्रयोग गर्ने निर्णयविरुद्ध पत्रकार महासंघको धर्ना

काठमाडौं– सरकारी सञ्चारमाध्यममा मात्र सरकारी सूचना प्रकाशन र प्रसारण निर्णय

सीमा विवादबारे परराष्ट्रमन्त्रीको भूमिकामा प्रश्न उठाइन् खुश्वुले

काठमाडौं- राष्ट्रिय प्रजातन्त्र पार्टीकी प्रमुख सचेतक खुश्वु ओलीले भारतसँगको सीमा

पूर्व बालसैनिकसम्बन्धी रिटमा सर्वोच्चको परमादेश, लेनिनले भने : एउटा लडाइँ जित्यौँ

काठमाडौं- सर्वोच्च अदालतको पूर्ण इजलासले पूर्व बालसैनिकसम्बन्धी रिट निवेदनमा परमादेश

पोखराको रास्वपा अधिवेशनस्थल घेरे जेन-जीका आफन्तले (तस्बिरहरू)

पोखरा- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को गण्डकी प्रदेश अधिवेशन पोखरा

फिफा विश्‍वकपको एक खेल प्रत्यक्ष हेर्न खर्चिनु पर्छ काठमाडौंमा एउटा घर आउने रकम

काठमाडौं- फिफाले विश्वकप २०२६ केवल फुटबलको महाकुम्भ मात्र नभई इतिहासकै