काठमाडौं– राष्ट्रियसभा सदस्यहरूले विदेशमा ज्यान गुमाएका नेपाली, विकास बजेट रोक्का, महँगी नियन्त्रणसहित आगामी निर्वाचनको सुरक्षासम्मका विषयमा सरकारको ध्यानाकर्षण गराएका छन् ।
सभाको आजको बैठकमा शून्य समयमा बोल्दै सांसद गोमादेवी तिमिल्सिनाले भारतको मेघालयस्थित कोइलाखानीमा भएको विस्फोटमा मृत्यु भएका नेपालीको शव स्वदेश फर्काउन र हराइरहेका श्रमिकको खोजी कार्य तीव्र पार्ने पहल गर्न सरकारसँग आग्रह गरिन्।
सांसद जयन्ती देवी राईले जेनजी आन्दोलनका क्रममा घाइते भएकाहरूको शीघ्र स्वास्थ्यलाभको कामना गर्दै उनीहरूको चिन्ताजनक अवस्थाबारे सरकारको ध्यानाकर्षण गराइन्। सांसद दुर्गाकुमारी गुरुङले विकास निर्माणमा देखिएको अवरोधतर्फ संकेत गर्दै विकास बजेट रोक्का नगर्न स्पष्ट आग्रह गरिन्।
यस्तै, आगामी निर्वाचनलाई लक्षित गर्दै नरबहादुर विष्ट र सुरेशकुमार आलेमगरले स्वतन्त्र, निष्पक्ष र धाँधलीरहित निर्वाचन सुनिश्चित गर्न सबै राजनीतिक दल जिम्मेवार हुनुपर्नेमा जोड दिए ।
सांसद विष्टले विशेषगरी झापा जिल्लामा सम्भावित द्वन्द्व र झडपको जोखिमप्रति समयमै सचेत रहन सरकारको ध्यानाकर्षण गराए। सांसद युवराज शर्माले निष्पक्ष निर्वाचनका लागि वर्तमान संविधानका पक्षधर शक्तिहरूले कडा र स्पष्ट प्रस्तुति दिनुपर्ने धारणा राखे।
सांसद भुवनबहादुर सुनारले महँगी नियन्त्रणको विषय उठाउँदै ग्यास, पेट्रोलियम पदार्थ र खाद्यान्नलगायत दैनिक उपभोग्य वस्तुको मूल्यवृद्धि नियन्त्रणका लागि तत्काल कदम चाल्न आग्रह गरे। सांसद मदनकुमारी शाह (गरिमा)ले सुदूरपश्चिमका सडकहरू असुरक्षित बन्दै गएको बताउँदै यात्रु सुरक्षाका लागि तत्काल सुधार आवश्यक रहेको बताइन्।
सांसद राजेन्द्र लक्ष्मी गैरेले राष्ट्रिय स्वास्थ्य बिमा कार्यक्रम गम्भीर संकटमा रहेको बताउँदै यसलाई जोगाउन सरकार तुरुन्त अघि बढ्नुपर्ने माग गरिन्। उनले कर्मचारी र सेवाग्राही दुवैलाई हतोत्साहित हुनेगरी मापदण्ड बनाउन नहुने तर्कसमेत प्रस्तुत गरिन् ।













प्रतिक्रिया