एमालेमा नेतृत्व फेर्ने बहस सुरू, धुलो टक्टक्याएर कसरी उठ्लान् पुराना दल ? « Khabarhub

एमालेमा नेतृत्व फेर्ने बहस सुरू, धुलो टक्टक्याएर कसरी उठ्लान् पुराना दल ?



काठमाडौं– फागुन २१ को प्रतिनिधिसभा सदस्य निर्वाचनमा पुराना भनिएका ठूला दलको सर्मनाक हार भएको छ । ७० वर्ष लामो इतिहास बोकेका नेपाली कांगेस र नेकपा एमालेले पार्टी जीवनकै सबैभन्दा ठूलो धक्का व्यहोरेका छन् ।

दोस्रो चुनावको अनुभवमै राष्ट्रिय स्वतन्त्र पार्टीले दिएको यो धक्काले यी ठूला दल लगभग भुइँमै पुगेका छन् । रास्वपाको धक्का कारण थला परेका यी दलले अब धुलो र खरानी टक्टक्यााउँदै उठ्नुपर्ने चुनौती छ । यही चुनौतीबीच दुवै पार्टीभित्र नयाँ बहस अघि बढेको छ।

रास्वपाको धक्काले ठूला भनिएका पुराना दल लगभग खरानी जस्तै भएका छन् । कांग्रेस, एमाले र नेकपा करिब धुलोमा पुगेका छन्। विशाल सांगठानिक संरचना भएका उनीहरू टुक्राटुक्रा र धुजाधुजा भएका छन् । जेन-जी र रास्वपाको यो धक्का खरानी बनाइएका यी तीन दलसामु अब त्यसलाई टक्टक्याएर उठ्ने चुनौती आएको छ।

यही चुनौतीबीच एमालेमा पदाधिकारीहरूबाटै नेतृत्व परिवर्तन गर्नुपर्ने बहस सुरु भएको छ । नेपाली कांग्रेस र नेपाली कम्युनिष्ट पार्टी (नेकपा)का नेता–कार्यकर्ताले पनि सामाजिक बहस छेड्न थालेका छन् ।

गत भदौको दुई दिने जेन–जी आन्दोलनले पुराना दलका नेतृत्वपङ्तिलाई पहिलो धक्का दिइसकेको थियो । खासगरी पुराना दलको कुशासन र भ्रष्टाचारका कारण उक्त आन्दोलन भएको प्रतिवेदन गौरीबहादुर कार्की नेतृत्वको आयोगले सरकारलाई बुझाइसकेको छ ।

आयोगको यो प्रतिवेदनसँगै अब कांग्रेस–एमालेले उक्त आन्दोलनको दोष अरुलाई दिएर उम्किने अवस्था पनि रहेन । त्यसबेलाको आन्दोलनले झण्डै दुईतिहाइनजिकको एमाले अध्यक्ष केपी शर्मा ओली नेतृत्वको कांग्रेस–एमाले सरकारलाई क्षणभरमै ढालिदिएको थियो ।

त्यतिमात्रै होइन, त्यस आन्दोलनले पुराना दलका शीर्ष नेतृत्वलाई आ–आफ्नो पार्टीबाट बिदा हुन जबरजस्त सन्देश पनि दिएको थियो ।

तर, कुनै पुराना र ठूला र दलका शीर्ष नेतृत्वले जनस्तरबाट आएको नयाँ सन्देशलाई स्वीकार गरेनन् । एमाले अध्यक्ष ओलीले पार्टी पुनः आफ्नो टिमले नै कब्जा गर्ने फ्रेम तयार गरेर नामको मात्रै महाधिवेशन गर्दै आफूअनुकुलकै नेतृत्व निर्माण गरे ।

अर्को ठूलो पार्टी कांग्रेसका तत्कालीन सभापति शेरबहादुर देउबाले नेतृत्व हस्तान्तरण गर्न नमान्दा हालका सभापति गगन थापा नेतृत्वको समूहले १४औँ महाधिवेशनका बहुमत प्रतिनिधिको बलमा विशेष महाधिवेशन गरेर पार्टी नेतृत्व हातमा लिए । तर, उक्त महाधिवेशनमा कांग्रेसकै ठूलो संख्या सहभागी भएन। यससँगै देउवा नेतृत्वको उक्त समूहले विशेष महाधिवेशनको भावनात्मक अपनत्व लिएन ।

तत्कालीन नेकपा (माओवादी केन्द्र) र नेकपा (एकीकृत समाजवादी) लगायतका साना दलले पनि आफ्ना पुराना कमिटी विघटन गरेर नेकपा बनाए । तर, उनीहरूले नेतृत्व भने यो वा त्यो नाममा नछाड्ने संकेत पनि गरेका छन् ।

अरु साना दलले भने जेन–जी आन्दोलनको शन्देशलाई वास्ता गरेनन् र आफ्नै रफ्तारमा अघि बढे । जुन मध्ये निर्वाचनसँगै राष्ट्रिय प्रजातन्त्र पार्टी बाहेक अन्य सबैको अस्तित्व संकटमा पुगेको छ ।

कसरी अघि बढ्लान् पुराना दल ?

जेन–जी आन्दोलनको शन्देशलाई अस्वीकार गरेका पुराना ठूला दललाई फेरि फागुन २१ गतेको निर्वाचनले अस्तित्वमाथि प्रश्न उठाउनेगरी धक्का दिएको छ । तर, सोमबार बिहानसम्म कांग्रेस, एमाले र नेकपाको नेतृत्वस्तरबाट समीक्षात्मक वा आत्माआलोचनात्मक कुनै प्रकारको दृष्टिकोण आएको छैन ।

कांग्रेसले सभापति गगनकुमार थापाको नेतृत्वमा विशेष महाधिवेशनपछि चुनावलक्षित ‘बदलियो कांग्रेस, बदल्छौँ देश’ र ‘अबकी बार गगन सरकार’ नारा अघि सारेको थियो । तर यो चुनावबाट कांग्रेस २.० लाई पनि असफल बनाइदियो ।

तर, सभापति थापाले पूर्वसभापति देउवा र उनकी पत्नी आरजु राणा, नेता प्रकाशमान सिंह, रमेश लेखक लगायत केही नेतालाई मात्रै टिकट दिएनन् । लामो समयदेखि सत्ता र शक्तिको आडमा रहेका विजयकुमार गच्छदार, विमलेन्द्र निधी, डा. प्रकाशशरण महत, ज्ञानेन्द्रबहादुर कार्की, टेकबहादुर गुरुङ लगायत थुप्रै पुराना र विवादास्पद छविकाा नेतालाई टिकट दिए । उनले त्यो मात्रै गरेनन्, इँट्टाभट्टामा मान्छे पोलेको आरोप लागेका स्वर्गीय अफताव आलमका छोरालाई पनि टिकट दिएर जिताए ।

यस्ता धेरै कारणले गगन नेतृत्वमा आउँदैमा कांग्रेस बद्लिएको र आगामी दिनमा बद्लिने कुरा आममतदाताले विश्वास गर्न सकेनन् । जनविश्वास आर्जन गर्न नसकेकै कारण ०७९ मा ८९ सिट ल्याएको कांग्रेस यस पटक प्रत्यक्षतर्फ १८ सिटमा खुम्चिएको छ।

तर, विगतमा विभिन्न राजनीतिक मञ्चबाट अरुलाई राजनीतिक नैतिकताको पाठ सिकाउँदै आएका गगनले पार्टी नियमित महाधिवेशनको मुखमा रहेको अवस्थामा नैतिकता देखाउने सम्भावना देखाएका छैनन् ।

उनले आइतबार फेसबुकमार्फत् सर्लाही ४ का प्रतिस्पर्धी अमरेशकुमार सिंहलाई बधार्ई दिएर त्यहाँका निम्ति सधैँ लागिरहने बताए । तर, सभापतिको हैसियतमा निर्वाचनको परिणामबारे उनले कुनै टिप्पणी गरेनन् ।

थापाकी श्रीमती डा. अञ्जना केसी थापाले पनि आइतबार सामाजिक सञ्जालमा लेख्दै बचाउ गरेकी छन् । सभापति थापाले कुनै कसुर बाँकी नराखेको जिकिरसहित उनले समय र परिस्थितिले अर्कै बाटो रोजे पनि फेरि उठ्न सक्ने बताएकी छिन् ।

अञ्जनाको उक्त भनाइले पनि थापाले पार्टीकै नियमित महाधिवेशनको मुखमा नैतिकताको प्रदर्शन गर्ने सम्भावना नदेखाएको संकेत गरेको छ ।

कांग्रेसका उपसभापति विश्वप्रकाश शर्माले आफूहरूकै कमजोरीका कारण पार्टी हारेको बताउँदै गम्भीर समीक्षासहित अब नियमित महाधिवेशनमा जुट्ने बताएका छन् ।

एमालेमा भने लज्जास्पद पराजयपछि अध्यक्ष केपी ओली र इतर पक्षबीच धु्रवीकरण सुरु भएको छ । पार्टीका उपाध्यक्ष विष्णु पौडेल, उपमहासचिव योगेश भट्टराई लगायत नेताहरू नयाँ सन्दर्भमा समीक्षा गर्दै सच्चिएर अघि बढ्नुपर्ने बताइसकेका छन् ।

उपमहासचिव भट्टराईले विगतमनै आफूहरूले पार्टीको नीति ठिक नभएको भनिसकेको स्मरण गराएका छन् । भट्टराईले त एमालेबारे सुझाव र टिप्पणी पठाउन माग गरेका छन् । उपाध्यक्ष विष्णु पौडेलले पनि विगतका गल्ती कमजोरीको समीक्षा गर्न र जनअपेक्षाअनुसार आफैँलाई रूपान्तरण गर्न पार्टीको नीति, नेतृत्व, संगठन र कार्यशैलीलाई जनअपेक्षाअनुसार पुनर्गठनको अग्रसरता लिने बताएका छन् ।

उता अर्का नेता गोकुल बास्कोटाले नसँच्चिने भए डाइनोसरजसरी लोप हुन तयार रहन नेतृत्वलाई चेतावनी दिएका छन् ।

‘नोस्टाल्जिक हुने गरी पार्टी जीवनका उकाली ओरालीको फ्ल्यास ब्याक पल्टाउन तयार हुनासाथ रि-भिजन, रि-थिङ्क, रि-स्ट्रक्चरिङ र रिनोभेट सामान्य रुपमै भइहाल्छ’, उनी भन्छन्, ‘पिरामिड थियो, फुली थप्न सोली बनायौँ । लोकप्रिय छौँ भनेको नेताको मात्रै प्रिय भइएछ । समयले सुधारेन भने डाइनोसर बनिएला।’

नेकपाका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले निर्वाचन परिणामबारे कुनै समीक्षात्मक वा आत्माआलोचनात्मक टिप्पणी गरेका छैनन् । बरू उनले आफ्ना उम्मेदवारहरूले देशैभरबाट निर्वाचन हारिरहँदा रुकुम पूर्वमा वजय जुलुस नै निकाले ।

उनले त्यतिमात्रै गरेनन्, उनले विजय जुलुसको क्रममा आफूहरूलाई नहेप्न रास्वापालाई चेतावनी समेत दिए । प्रचण्डको उक्त भनाइले उनी आत्मसमीक्षा गर्दै सच्चिने होइन, बरु अझै धेरै पुरानै गतिमा अघि बढ्न तयार भएको देखाएको छ ।

उक्त पार्टीका नेता तथा कार्यकर्ताले पछिल्लो समयसम्म आफ्नो पार्टीको नीति तथा नेतृत्वको रूपान्तरणको आवश्यकता देखिएको भनेर पनि सार्वजनिक टिकाटिप्पणी गरेको पाइँदैन ।

प्रकाशित मिति : २५ फाल्गुन २०८२, सोमबार  ४ : २६ बजे

रास्वपालाई प्रत्यक्षबाटै बहुमत नजिकको सिट : यी हुन् संसद् यात्रा तय गरेका १२५ अनुहार

काठमाडौं– दुईवटा निर्वाचन फेस गरेको राष्ट्रिय स्वतन्त्र पार्टीले प्रत्यक्षतर्फ नै झन्डै

अमेरिकाले आकस्मिक सेवा बाहेकका कर्मचारीलाई वाणिज्य दूतावासबाट बाहिर जान निर्देशन

एजेन्सी– वाशिङ्गटनले टर्कीएको अदाना शहर नजिकै रहेको वाणिज्य दूतावासबाट अतिआवश्यक

पर्यटकीय गन्तव्य बन्दै लमजुङको ‘घनपोखरा होमस्टे’

घनपोखरा– लमजुङको मर्स्याङदी  गाउँपालिका–१ स्थित नायुँ र घनपोखरा होमस्टे पछिल्लो

प्रतिनिधिसभा सदस्य निर्वाचन : काठमाडौँमै आठ हजार १९७ मत बदर

काठमाडौं– यही फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनमा सबैभन्दा

आज राति १२ बजेदेखि निर्वाचन आचारसंहिता निष्क्रिय हुने

काठमाडौं– निर्वाचन आयोगले राष्ट्रियसभा सदस्य निर्वाचन र प्रतिनिधिसभा सदस्य निर्वाचनका