महाधिवेशनपछि पार्टी सभापति रवि र वरिष्ठ नेता वालेन्द्र नै हो : समीक्षा बास्कोटा « Khabarhub

अन्तर्वार्ता

महाधिवेशनपछि पार्टी सभापति रवि र वरिष्ठ नेता वालेन्द्र नै हो : समीक्षा बास्कोटा



काठमाडौं– २०८२ मङ्सिर १४ गते विवेकशील साझा पार्टी र राष्ट्रिय स्वतन्त्र पार्टीबीच एकीकरण भयो। त्यसबेला विवेकशील साझाकी अध्यक्ष समीक्षा बास्कोटासहित महामन्त्री रञ्जु दर्शना लगायतको सिङ्गो टिम राष्ट्रिय स्वतन्त्र पार्टीमा प्रवेश गरे । त्यसपछि केही नेताहरूलाई रास्वपाले केन्द्रीय सदस्यको भूमिका दियो । रञ्जु लगायत नेताहरूले प्रत्यक्षबाट जितेर सांसद बनेका छन्। उता समीक्षा बास्कोटा समानुपातिक कोटाबाट सांसद भइन् ।

बास्कोटा अहिले कानुन न्याय तथा संसदीय मामिला समितिको सभापति बनेकी छिन्। संसद्‍ र पार्टी दुवैतिर अहिले उनी सक्रिय छिन् । यस्तोमा राष्ट्रिय स्वतन्त्र पार्टीले यही असार ७ गतेदेखि काठमाडौँमा पहिलो महाधिवेशन गर्न लागेको छ। पहिलो महाधिवेशनमा पार्टी सभापति रवि लामिछाने र वरिष्ठ नेता वालेन्द्र शाह बन्ने कुरामा कुनै पनि तलमाथि नहुने बास्कोटा बताउँछिन् । 

विवेकशील साझाका मूल नीति सिद्धान्तलाई राष्ट्रिय स्वतन्त्र पार्टीले अवलम्बन गरिरहेको उनको तर्क छ । आगामी दिनमा पनि यही मार्ग अवलम्बन गरेर अगाडि बढ्ने कुरामा उनी ढुक्क छिन् । 

विवेकशीलबाट राष्ट्रिय स्वतन्त्र पार्टीमा प्रवेश गरिसकेपछिको राजनीतिक यात्रा सहज रुपमा अगाडि बढेको स्पष्टीकरण दिँदै उनले राजनीति अभ्यासलाई थप सशक्त र प्रभावकारी बनाइरहेको बताइन् । 

समीक्षाले स्पष्ट पारिन्– ‘इमानदारी, पारदर्शिता, लोकतान्त्रिक प्रक्रिया, लोक कल्याणकारी राज्य यो त हाम्रो बजेट निर्माणमा पनि जोडिएर आएको छ। हामी जहाँ उद्यमशील समाज निर्माण गर्न चाहन्छौँ। सेवक सरकारको मुद्दा उठाइरहेका थियौँ।  भाषा फरक होला । अहिले प्रधानमन्त्रीदेखि क्याबिने सदस्यले भनेको सुशासनको जगमा सेवा प्रणाली सुधार्ने यही सरकारको अवधारणा हो।’

पार्टीले सुशासनलाई महत्त्वपूर्ण कडी मानेर काम गरिरहेकाले विपक्षीले प्रधानमन्त्रीलाई कारण देखाएर सदन अवरोध गरिरहनु राम्रो नभएको उनी बताउँछिन्। उनी यसलाई चुनावी परिणामलाई स्वीकार नगरेको रूपमा ठहर गर्छिन्। अरु पार्टीले चुनावी परिणामलाई क्रमशः स्वीकार्ने अवस्था रहँदै गए पनि एमाले नसुध्रिएको समीक्षाको भनाइ छ । 

समीक्षा यसपटकको महाधिवेशनमा केन्द्रीय समितिको निर्वाचन हुने र सचिवालयको नेतृत्व मिलेसम्म सर्वसम्मतिमा चुनिने बताउँछिन्। राष्ट्रिय स्वतन्त्र पार्टीमा कुनै गुट नरहेको बताउने उनी बरू पार्टी राम्रो बनाउने गुणचाहिँ प्रशस्त रहेको दाबी गर्छिन्।

समीक्षासँग राष्ट्रिय स्वतन्त्र पार्टीको पहिलो महाधिवेशन, विवेकशील साझाबाट प्रवेश गर्दाका सहमति, अबको पार्टी नेतृत्व, सरकारका गतिविधि र विपक्षीको भूमिकाका सन्दर्भलाई लिएर कुराकानी गरिएको छ ।

यहाँहरू विवेकशील साझाबाट राष्ट्रिय स्वतन्त्र पार्टीमा प्रवेश गर्नुभएको थियो । रास्वपाको पहिलो महाधिवेशन आउँदैछ, कतिको उत्साहित हुनुहुन्छ ?

पार्टीको पहिलो महाधिवेशन हुनु भनेको आफैँमा गम्भीर र ठूलो विषय हो। हामीजस्तो नयाँ दलका लागि पार्टी संस्थागत र पार्टीका विधानहरू परिमार्जन हुनु एकदमै आवश्यक छ। 

राजनीतिक दस्तावेजहरूमा स्पष्टता ल्याउने र संस्थागत गर्ने कुरामा एकदमै उत्साहित छौँ। नाम क-कसले केमा ल्याउँछन्, त्योबारे मलाई धेरै चासो छैन। पार्टी महाधिवेशनले सही नेतृत्व स्थापित गर्छ भन्नेमा ढुक्क छौँ । 

पहिलो महाधिवेशन नै नभएको पार्टीको लागि यो विशेष पनि किन हुन्छ भन्दा विभिन्न समूहबाट जोडिएका साथीहरूलाई एउटै मञ्चमा राखेर एकै ठाउँमा ल्याउने काम भएको छ । महाधिवेशनले एजेन्डा र थातिरहेका विषयहरू टुंग्याउँछ। 

हरेक विषयमा छलफल गर्ने थलो भनेकै महाधिवेशन हो। पहिलो महाधिवेशनले पार्टीलाई थप सशक्त र मजबुत बनाएर जाने कुरामा हामी ढुक्क छौँ । त्यही अनुसार तयारी भएको छ । 

रास्वपाका नेताहरू कहिलेकाहीँ एजेण्डामा बहकिँदा र मुद्दामा कमजोरी हुँदा विवेकशीलका योद्धा भएको पार्टी पनि यस्तो भनेर यहाँहरूमाथि प्रश्न उठ्ने गरेको छ । विवेकशीलको नीति सिद्धान्त र विचार रास्वपाले समात्ला ? 

सबैभन्दा पहिला राष्ट्रिय स्वतन्त्र पार्टी चार वर्षभित्रमा देशको पहिलो शक्ति कसरी बन्यो भन्ने कुरालाई ख्याल गर्नुपर्छ। राष्ट्रिय स्वतन्त्र पार्टी बन्दै गर्दा यो शुभेच्छुक मात्र होइन, अन्य दल परित्याग गरेर आउनुभएका व्यक्तिहरू पनि यहाँ जोडिनुभएको छ। 

उहाँहरू सबैले मिलेर भोट हालेरै देशको पहिलो दल बनाउनुभएको छ। पहिलो दल भइसके पछाडि विभिन्न महत्वाकांक्षा बोकेर विभिन्न योजना बुनेर साथीहरू जोडिनु नै हुने भयो। विभिन्न किसिमका मानिस प्रवेश गर्नु नौलो कुरा होइन। यही अधिवेशन र महाधिवेशनहरूले नै त्यसलाई फिल्टर गरेर जाने हो। 

राष्ट्रिय स्वतन्त्र पार्टी आफैँ पनि अनुशासनको पक्षमा कडा छ । अनुशासन विभागले पनि विभिन्न ठाउँमा बसेर काम गरि नै राखेको छ। नेतृत्वले थाहा पाउनेबित्तिकै त्यो लेभलको कारबाही गरेकै छ। छिटफुटबाहेक हामी ९९ प्रतिशत व्यक्ति अनुशासनहीन छैनौँ। हामी अनुशासनसहितको पार्टी निर्माण गर्न चाहन्छौँ । 

एकथान पार्टी बनाउने होइन, यो देशको नेतृत्व रूपान्तरण, लामो समयको नेतृत्व गर्ने र देशलाई सही ट्र्याकमा पुर्‍याउने किसिमको पार्टी बनाउन चाहन्छौँ। बीचमा केही विषयहरू उठ्लान्, ती विषयलाई कसरी सेटल गरेर जाने भन्ने महत्वपूर्ण हो। अनुशासनको जगमा यो पार्टीले अनुशासनको कडी पनि पालना गरिरहेको छ। हामी मात्रै होइन राष्ट्रिय स्वतन्त्र पार्टीका सबै नेतृत्व अनुशासनको पक्षमा हुनुहुन्छ। 

विवेकशील साझा राष्ट्रिय स्वतन्त्र पार्टीमा प्रवेश गर्दा यहाँहरूले हाम्रा आफ्ना पार्टीका मूल मार्गनिर्देशक सिद्धान्तलाई अपनाउँछौँ भन्नुभएको थियो। महाधिवेशनपछाडि ती कुराहरूमा सैद्धान्तिक र नीतिगत रुपले दस्तावेजीकरण होला ?

एकदमै जान्छ।  त्यसमा म विश्वस्त छु। किनभने हामीले पार्टी एकीकरण गर्दा पनि निस्वार्थ रुपमा एकीकरण गरेको हो। दलले बोकेका आधारभूत कुरा राष्ट्रिय स्वतन्त्र पार्टीले पनि बोकेकै छ। इमानदारी, पारदर्शिता, लोकतान्त्रिक प्रक्रिया, लोककल्याणकारी राज्य यो त हाम्रो बजेटमा पनि जोडिएर आएको छ। हामी जहाँ उद्यमशील समाज निर्माण गर्न चाहन्छौँ। सेवक सरकारको मुद्दा उठाइरहेका थियौँ।  भाषा फरक होला । 

अहिले प्रधानमन्त्रीदेखि सबै क्याबिनेटले भनेको सुशासनको जगमा सेवा प्रणाली सुधार गर्ने भन्ने कुरा यही सरकारको अवधारणा हो। नागरिकले चुस्त दुरुस्त सेवा प्रणालीको महसुस गर्न पाउनुपर्छ भन्ने नै हो । त्यसैले उद्यमशीलता प्रवर्द्धन गर्ने नीति आइराखेका छन् । त्यो भनेको उद्यमीहरू बढाउनुपर्‍यो, समाजलाई उद्यमशीलतातर्फ मोड्नु पर्यो‍ ।

यी विषयहरूमा हामी एकै ठाउँमा छौँ र आन्तरिक लोकतन्त्रको बारेमा मज्जाले प्राक्टिस पनि गरिराखेका छौँ । त्यसको वकालत पनि गरिराखेकाले अहिले अधिवेशनहरूमा आन्तरिक लोकतन्त्रको अभ्यास भइरहेको छ । हामी एकै ठाउँमा छौँ । हामीले टेकेको जग त्यही हो। हामी व्यवस्था होइन, अवस्था परिवर्तन गर्नुपर्छ भनेर बढेका छौँ। 

विवेकशील साझा २०७४ मा त्यसै भनेर आएको हो । रास्वपा पनि अहिले त्यही भनेर आएको छ। हामीसँगै हिँड्दा हाम्रो गति पनि एउटै छ– बोलाई गराई सबै एउटै छ। त्यसमा छुटफुट केही रहेछन् भने महाधिवेशनले चिरेर जान्छ । हामीले कस्तो समाज निर्माण गर्ने कस्तो देश निर्माण गर्ने कस्तो दल निर्माण गर्ने भन्नेमा दृष्टिकोण एकै ठाउँमा छ। 

प्रधानमन्त्रीले बोलेको कुरामा सदनमा उभिएर जवाफ नदिँदा विवेकशीलबाट रास्वपार्टी प्रवेश गरेका नेताहरूको फरक धारणा आयो । उहाँको व्यवहारले अप्ठ्यारो महसुस भइरहेको छ कि छैन ? जुन जगमा हिँड्नुभएको थियो, अलिकति हल्लिएको जस्तो महसुस भएन ?

छैन ।  एउटा कुरा के बुझ्नुपर्‍यो भने संविधानको धारा ७६ ले प्रधानमन्त्री मन्त्रिपरिषद् र सबैप्रति जिम्मेवार हुनुपर्छ। हाम्रो अहिले सदन कति दिन चल्यो र प्रधानमन्त्री कति दिन आउनुभयो । त्यो कुराबाट सुरुवात गरौँ न प्रधानमन्त्री के एक दिन पनि नआएको हो भन्दा त्यो त होइन नि । 

प्रधानमन्त्रीले जवाफ दिने सन्दर्भमा पनि एकचोटि त उहाँले जवाफ दिइसक्नुभयो। विपक्षीले एजेन्डा नभएर दिनदिनै प्रधानमन्त्री आउनै पर्‍यो भन्ने कुरालाई चाहिँ हामीले बढुवा दिँदैनौँ। कार्यपालिका न्यायपालिका र व्यवस्थापिका शक्ति पृथकीकरणको सिद्धान्तले पनि चल्छ। जसले कार्यकारी शक्ति बोक्छ, उसले त्यही अनुसार काम गर्छ। 

दिनदिनै उहाँको उपस्थिति खोज्नु भन्दा पनि उहाँले जवाफ दिने काममा सदनप्रति जिम्मेवार हुने काममा जवाफदेहिताको जगमा उहाँ काहीँ पनि चुक्नुभएको छैन। भोलि चुक्नुभएछ भने पनि हामीले त्यही तहको खबरदारी गर्छौँ । तर प्रतिपक्षीले दुईतिहाइनजिकको सरकारलाई एउटा हिसाबले काम गर्ने वातावरण मिलाइदिनुपर्छ। 

सरकारका तर्फबाट भएका गल्ती कमजोरीलाई पनि सरकारले क्षमा याचना गर्नुपर्छ। हाम्रोमा प्रतिपक्ष भन्ने बित्तिकै गलत कुरा र नेगेटिभ कुरा मात्रै उठाउने त्यसलाई मात्रै व्याख्या गर्ने भन्ने कुरा होइन। ३५ वर्षदेखिको व्यथिति बोकेर हामी थिति बसाल्न आइरहेका छौँ । 

३५ वर्षमा नभएका काम ३५ दिनमा गर भन्दा त्यो असम्भव छ। हामी कमजोर कानुन ठीक ढंगले सुधार गरेर नयाँ तरिकाले अगाडि बढ्नुपर्छ भन्ने कुरामा प्रष्ट छौँ। अहिले नै मूल्यांकन गर्न अलिक छिटो हुन्छ। हामीले प्रधानमन्त्रीलाई जवाफदेही बनाएका छौँ, तर दिनदिनै प्रधानमन्त्रीको उपस्थिति खोज्ने कुरा ठिक छैन। 

आजसम्मका प्रधानमन्त्रीले बालुवाटारबाट शासन चलाउँथे तर हाम्रो प्रधानमन्त्रीले बिहान ७ बजेदेखि बेलुका ८ बजेसम्म सिंहदरबारमै बसेर काम गरिराख्नुभएको छ । 

अर्को कुरा राष्ट्रिय स्वतन्त्र पार्टीमा विभिन्न गुटहरू छन्। अब हुने केन्द्रीय कमिटी र सचिवालयमा पनि भागबण्डा हुन्छ भन्ने छ नि ?

यो रमाइलो प्रश्न सोध्नुभयो। यो प्रश्न चाहिँ ठ्याक्कै नेपालको राजनीतिलाई प्रतिनिधित्व गर्छ। नेपालको राजनीतिले आजसम्म देखेकै गुट मात्रै हो। एकै जना सांसद जितेको पार्टीले पनि २० वटा गुट बनाएर हिँड्ने अवस्था हो। 

हामी २०८२ मङ्सिर १४ मा जोडियौँ। त्यसपछि अन्य साथीहरू पनि जोडिएर आउनुभयो। अब हामी सबै राष्ट्रिय स्वतन्त्र पार्टीका मेम्बर भइसक्यौँ। हामीले बनाउने महाधिवेशनबाट नेतृत्व राम्रो सक्षम क्षमताको आधारमा र उत्कृष्टताको आधारमा पार्टीलाई कसले सही ढंगले अघि बढाउन सक्छ भन्ने आधारमा स्थापित हुने हो । 

कसैले गुट छ भन्नुहुन्छ भने उहाँहरूको मनको कुरा हो। उहाँहरू मनको शान्तिको लागि  भन्दै गर्नुहुन्छ । मलाई विवेकशील साझाको तर्फबाट सोध्नुभएको भने त्यस्ता गुटहरू हामी बनाएर हिँड्दैनौँ । हाम्रो एउटै गुट, छ त्यो हो– राष्ट्रिय स्वतन्त्र पार्टी राम्रो बनाउने । 

महाधिवेशनको तयारी कस्तो भइरहेको छ ?

महाधिवेशनको तयारी राम्रोसँग भइरहेको छ। आइतबारसम्म सबै जिल्लाको अधिवेशन सक्ने भनेका थियौँ। केही छिटपुट बाँकी छ। नगर, वडाको अधिवेशन सकियो। २६ गते सातैवटा प्रदेशको अधिवेशन सकिएपछि असारमा राष्ट्रिय महाधिवेशनको तयारी भइरहेको छ। चितवनमा हामीले हल लगायत अरू अत्यावश्यक कुराको तयारी गरेका छौँ । १८ वटा आयोजक उपसमितिले काम गरिरहेको छ। 

नेता व्यवस्थापन कसरी गर्दै हुनुहुन्छ ?

नेता व्यवस्थापन गर्न हामीलाई समस्या छैन । जसरी हुन्छ राष्ट्रिय स्वतन्त्र पार्टीलाई सशक्त बनाएर अगाडि बढ्छौँ। सशक्त र अझ मजबुत भएर आउँछ । त्यसका लागि हामीले के के त्याग र छलफल गर्नुपर्छ तयार छौँ। 

राष्ट्रिय स्वतन्त्र पार्टीले यो महाधिवेशनबाट सरप्राइज नेतृत्व दिन्छ कि पुरानै नेतृत्वलाई दोहोर्‍याउँछ ?

नेतृत्व भनेर केमा जोड्न खोज्नुभएको सभापति रवि लामिछाने रहनुहुन्छ । रवि लामिछानेको विकल्प छैन। जसले एउटा राजनीतिक अभिभावकत्व पूरा गरेर यहाँसम्म लिएर आउनुभयो  । अबको सभापति रवि लामिछाने नै हो। 

त्यसो भए किन महाधिवेशन गर्नुपर्‍यो भन्ने टिप्पणी पनि सुन्नुभएको होला नि ?

यस्तो टिप्पणी ठिक छैन । यो अहिलेको अवस्थामा हामी रवि लामिछानेको विकल्प खोज्ने पक्षमा छैनौँ । पहिलो महाधिवेशन पनि गरेको छैन, जसले यो पार्टी र छरिएका वैकल्पिक राजनीति समूहलाई एक ठाउँमा ल्याएर यति ठूलो काम गरिरहेको छ। सभापतिको विकल्प कुनै हालतमा छैन। सभापति रवि नै हुनुहुन्छ। 

सभापति रवि भइसकेपछि वरिष्ठ नेता विधानमा थप्ने तयारी हो ? 

हो ।  विधानमा वरिष्ठ नेता पद थपेर प्रधानमन्त्रीज्यूले त्यो भूमिका सम्हाल्नुहुन्छ । विकल्प खोज्ने बेला भएको छैन। चुनावमै जाँदाखेरि हामीले हाम्रो प्रधानमन्त्रीको उम्मेदवार सारिसकेको भएर । 

पुरानो राजनीतिको धङधङी बोकेर हामी नयाँ राजनीति गर्नै सक्दैनौँ। हामी नयाँ राजनीति गर्न चाहन्छौँ। विकल्प खोज्ने बेला पनि होइन । विकल्प खोज्नुपर्छ भन्ने बहस चलाउने बेला पनि होइन । त्यसमा हामी क्लियर छौँ। 

उसो भए केन्द्रीय समितिको निर्वाचनलाई स्वतन्त्र छोडिदिनुहुन्छ । सचिवालय बनाउँदा चाहिँ सहमति गर्नुहुन्छ ?

त्यसको खाका तयार भइसकेको छैन । त्यो विधान संशोधन लगायतका काम बाँकी छन् । कुन मोडलमा जाने र कसरी जाने भन्ने विषयमा बृहत् छलफल हुन पाएको छैन। 

प्रदेश अधिवेशन सकिएपछि मात्रै राष्ट्रिय अधिवेशनको विषयमा घनिभूत छलफल होला। सक्षम नेतृत्व आउँछ त्यो कुरामा हामी विश्वस्त भएर अगाडि बढ्नुपर्‍यो ।

यहाँ आफूले चाहिँ पहिलो महाधिवेशनका लागि के तयारी गरिराख्नुभएको छ ?

मैले केही तयारी गरेको छैन । म राष्ट्रिय स्वतन्त्र पार्टीको नेता हो। म राष्ट्रिय स्वतन्त्र पार्टीमै छु। पार्टीमा सक्षम नेतृत्व आऊन् भन्ने छ । केन्द्रीय समितिमा पनि सबै सक्षम नेतृत्व आउनु हुन्छ र आउँछौँ भन्नेमा छौँ। 

यहाँ पहिलोपटक सांसद बन्नुभएको छ । अहिले कानुन न्याय तथा मानव अधिकार समिति सभापतिको जिम्मेवारीमा समेत हुनुहुन्छ। छोटोमा अनुभव भन्दा कस्तो छ ? 

संसदीय अभ्यास र समितिगत जिम्मेवारी एकदमै ठूलो हो । नेपालमा चाहिँ समितिको जिम्मेवारी र संसदको भूमिकालाई एकदमै खुम्च्याएर राखेका छौँ। एउटा सांसदले प्रभावकारी ढंगले काम गर्न सक्यो भने उसले धेरै काम गर्न सक्छ। 

कानुन समितिमा विधेयकहरू आइसकेपछि दुर्गामी महत्वका कार्यक्रमहरू हुन्छ। कसरी प्रभावकारी काम गर्न सकिन्छ भनेर म दिनरात त्यतैतिर मात्र बढी केन्द्रित छु। 

प्रधानमन्त्री र सांसदहरूले सामाजिक सञ्जालको उपयोग गरेर महत्त्वपूर्ण विषयवस्तुलाई किनारा लगाउने काम गर्नुभयो भन्ने टिका टिप्पणी हुन थाल्या छ नि ?

मैले यो विषयमा त्यति धेरै गहिरो ढंगले अध्ययन गर्न पाएको छैन। प्रधानमन्त्रीको जम्मा एउटा ४.३ मिलियन वाला पेज फलो गर्छु। त्यो पेजमा केही पनि स्टाटस आएको छैन। त्यसबाहेक अरु कुन कुन पेज छन्् मलाई थाहा छैन । सामाजिक सञ्जालमा एक्टिभ हुनुपर्छ तर एक्टिभ के गरी हुने कसरी हुने भन्ने कुरा व्यक्तिगत विषय हो। 

उसो भए विवेकशील साझालाई राष्ट्रिय स्वतन्त्र पार्टीमा विलय गराइसकेपछिको राजनीतिक अभ्यास सहज छ ?

आफूले गरिराखेको अभ्यासलाई महत्त्वपूर्ण जिम्मेवारी ठानेर अगाडि बढ्दा कम्फर्ट हुने नै भयो। जे कुरा र विषय पनि गम्भीरतापूर्वक लिनुहुन्छ त्यति नै तपाईंले नतिजा निकाल्न सक्ने हो। मेरो प्रयास चाहिँ संसदीय अभ्यास आफैँमा एउटा ओजपूर्ण जिम्मेवारी हो। मैले पाएको जिम्मेवारीलाई कसरी ठिक ढंगले अगाडि बढाउन सकौँ भन्ने मात्र छ। 

यहाँले प्रधानमन्त्रीमार्फत् सरकारलाई दिनुपर्ने सुझाव केही छ ?

सरकारले १०० दिनको काम पूरा गरिसके पछाडि थप सुझाव दिन्छु। अहिलेलाई त्यस्तो गम्भीर सुझाव केही छैन। सरकारका केही कार्यक्रमहरू आइराखेका छन् । ती कार्यक्रमहरूमा पोजेटिभ फिडब्याक दिने आफ्नो ठाउँमा छ। 

अहिलेसम्म सरकारले जुन सुशासनलाई प्राथमिकता दिएको छ, त्यसमा म व्यक्तिगत रूपमा उत्साहित छु। किनभने हिजोदेखि हामीले ठूलो माछा पक्रिय भनेर त्यसपछाडि सुशासन सुशासन सुशासन भनेर उठाएको उहाँले सुशासनलाई नै पहिलो कडी मानेर काम गरिरहनुभएको छ। अहिले चाहिँ ‘वेट एन सी’ को अवस्थामा छ। 

अन्तिममा अहिले विपक्षीको भूमिकालाई कसरी हेर्ने ?

विपक्षीहरू एकदमै आत्तिनुभएको छ । उहाँहरूले चुनावी नतिजालाई स्वीकार गर्न सक्नुभएको छैन। त्यसमा पनि विशेष गरेर एमालेले चुनावी नतिजालाई कुनै हिसाबले स्वीकारेको छैन। एमालेमा पनि केपी ओली समर्थकहरूले राष्ट्रिय स्वतन्त्र पार्टी र चुनावी नतिजालाई स्वीकार्न नसकेको देखिन्छ । 

विपक्षीले पनि एउटा सत्ता सञ्चालनमा सहयोग गर्ने हो। राम्रो काम गरेर देखाउनलाई विपक्षीले पनि सत्ता सञ्चालन देखि लिएर विभिन्न कुराहरूमा सकारात्मक ढंगबाट लिन सक्छ । विरोध गरेर कहीँ पनि पुगिँदैन भन्ने कुरामा हामी क्लियर हुनुपर्छ। 

विरोधका लागि विरोध गरेर नागरिकको आवाज नै बन्द गर्ने ठाउँसम्म पुग्नुले हामीलाई कहीँ पनि पुर्‍याउँदैन। विपक्षीले पनि त्यो कुरा बुझ्नुभएको होला भन्ने लाग्छ। अरु पार्टीले लगभग कुरा बुझे पनि एमालेले विशेषत केपी ओली गुटले हामीलाई निरन्तर प्रहार गरिरहेको देखिन्छ । अरु पार्टीहरू लगभग साइजमा आउनुभयो । तर एमाले सुध्रिएको छैन। 

चुनावी परिणाम एमाले अथवा विपक्षले स्वीकार गरे नगरे पनि नागरिक म्यान्डेटलाई अस्वीकार गरेर खाली नागरिकको अपमान गर्नु हुँदैन। जनता जनार्दन र नागरिक सर्वशक्तिमान् हुन् । नागरिकको म्यान्डेटलाई हामीले सर्लक्क स्वीकार्ने हो।

प्रकाशित मिति : २६ जेठ २०८३, मंगलबार  १ : ११ बजे

पाकिस्तान र लेबनानका सेनाप्रमुखको भेटवार्ता

इस्लामावाद- पाकिस्तानी र लेबनानी सशस्त्र सेनाका प्रमुखहरूबीच मङ्गलबार भेटवार्ता भएको

तेलको जहाजमा अमेरिकी मिसाइल हमला, ओमानको सहयोगमा बचाइयो २४ भारतीयलाई

ओमान- ओमानको समुद्री क्षेत्रमा एमटी मेरिवेक्स नामक तेल ट्यांकरमा भएको

धापखर्कका १३ घरमा पानीको अभाव

भोजपुर– भोजपुर नगरपालिका–५ र १० धापखर्कका २२ स्थानीय घरले खानेपानीको

हर्मुजनजिकै खस्यो अमेरिकी हेलिकप्टर, दुवैजना पाइलट बाँच्न सफल

तेहरान- हर्मुज स्ट्रेटनजिकै सोमबार अमेरिकी सेनाको एक एएच-६४ अपाचे हेलिकप्टर

नदी नियन्त्रण योजना समयअघि नै सम्पन्न

म्याग्दी– बेनी नगरपालिका–४ सिंगा तातोपानीको मसारमा नदी नियन्त्रण योजना लक्ष्यअघि नै