नदी नियन्त्रण योजना समयअघि नै सम्पन्न « Khabarhub

नदी नियन्त्रण योजना समयअघि नै सम्पन्न


२६ जेठ २०८३, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


27
Shares
  • change font
  • change font
  • change font

म्याग्दी– बेनी नगरपालिका–४ सिंगा तातोपानीको मसारमा नदी नियन्त्रण योजना लक्ष्यअघि नै  सम्पन्न भएको छ । 

म्याग्दी नदीको कटान र बाढीको जोखिममा परेको तातोपानी बस्ती संरक्षणका लागि जलस्रोत तथा सिँचाइ व्यवस्थापन आयोजना कार्यालय पोखराले ठेक्कामार्फत ‘कम्पोजिट’ प्रविधिको पर्खाल निर्माण गरेको हो । 

कार्यालयका इन्जिनियर नरजङ गुरुङले मसारस्थित म्याग्दी नदी किनारमा एक सय दुई मिटर लामो, भुइँमा चार मिटर चौडाइ भएको तीन मिटर अग्लो कङ्क्रिट र त्यसमाथी ग्याविन पर्खाल निर्माण गरिएको जानकारी दिए । 

उनका अनुसार तीन करोड ६८ लाख ८६ हजार ४८६ रुपैयाँलागत अनुमान गरिएको उक्त योजना निर्माणका लागि आरआरसी/जेमी जेभीसँग विसं २०८२ वैशाख १० मा दुई करोड ७१ लाख ८४४ रुपैयाँमा सम्झौता भएको थियो । 

आगामी असार २० गतेसम्मको ठेक्का अवधि भए पनि लक्ष्यभन्दा एक महिनाअगावै योजना सम्पन्न गरिएको निर्माण कम्पनीका प्रतिनिधि रामचन्द्र कार्कीले जानकारी दिए । गत माघ महिनादेखि निर्माण थालिएकामा इन्धन र निर्माण सामग्रीको मूल्यवृद्धिका बाबजुद कम्पनीले पाएको जिम्मेवारी समयमै पूरा गरेको उनले बताए । 

विसं २०७८ मा म्याग्दी नदीमा आएको बाढीले तातोपानीस्थित फापरखेत र मसारमा कटान गरेको थियो । मसारमा दुई वटा घर भत्किएका थिए । योजना सम्पन्न भएपछि नदी कटानको जोखिममा रहेको फापरखेतमा रहेको सरस्वती मावि, ज्वालामाई भगवती आमा समूहको भवन र मसारको १७ घरपरिवार लाभान्वित भएका छन् । 

करिब एक सय परिवारको बसोबास रहेको उपल्लो तातोपानी बजार पनि म्याग्दी नदीको कटानको जोखिममा छ । यसअघि ग्यावियन पर्खाल निर्माण गरेर नदी नियन्त्रण गरिँदै आएकामा गत वर्षदेखि पक्की पर्खाल निर्माण गर्न थालिएको वडाध्यक्ष अणबहादुर खड्काले बताए । 

गत वर्ष सङ्घीय सरकारको बजेट सहयोगमा सरस्वती माविको पछाडि ६६ मिटर लामो कम्पोजिट प्रविधिको पर्खाल निर्माण गरिएको थियो । 

यस्तै, प्रदेश सरकारको सहयोगमा उपल्लो तातोपानी बजार पछाडि ४० मिटर लामो पलम, शेयर र ग्यावियन पर्खाल निर्माण गरिएको थियो । यसपालि प्रदेश सरकारले विनियोजन गरेको रु २० लाख बजेटबाट पनि सोही क्षेत्रमा थप संरचना निर्माण गरिएको छ । प्राकृतिक उपचारस्थलको रूपमा परिचित तातोपानी म्याग्दीको प्रमुख पर्यटकीयस्थल हो । 
 

प्रकाशित मिति : २६ जेठ २०८३, मंगलबार  २ : १३ बजे

साउन महिनामा ३ अर्ब ७७ करोड वैदेशिक लगानी स्वीकृत, १८८ साना उद्योगमा आकर्षण

काठमाडौं- आर्थिक वर्ष २०८३/८४ को पहिलो महिना साउनमा नेपालमा ३

बाध्यात्मक वैदेशिक रोजगारीको अवस्था अन्त्य गर्नेछौँ : मन्त्री यादव

काठमाडौं– युवा, श्रम तथा रोजगारमन्त्री रामजी यादवले युवा बाध्यात्मक वैदेशिक

२ सय बढी कम्पनीको घट्यो सेयर मूल्य

काठमाडौं– साताको पहिलो दिन नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा भएको सेयर

समुद्रले निल्दै नाइजेरियाली बस्ती

आयटोरो (नाइजेरिया)- दक्षिणी नाइजेरियाको आयटोरोमा समुद्रको सतह बढ्दै गएपछि तटीय

आगामी वर्षदेखि विद्युत वितरण प्रणालीको आधुनिकीकरणलाई प्राथमिकता दिन्छौँ : ऊर्जामन्त्री

काठमाडौं– ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले आगामी वर्षदेखि विद्युत वितरण