वाशिङ्टन- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प इरानसँग औपचारिक परमाणु सम्झौता नगरी पनि युद्ध अन्त्य गर्ने विकल्पबारे विचार गरिरहेको एक रिपोर्टले जनाएको छ।
द वाल स्ट्रिट जर्नलका अनुसार इरानले होर्मुज जलडमरूमध्य पूर्ण रूपमा खुला गरी सामान्य व्यापारिक जहाजको आवागमन सुनिश्चित गरेमा अमेरिका युद्धबाट पछि हट्न सक्ने सम्भावना छ।
रिपोर्टअनुसार ट्रम्पले पछिल्ला केही सातादेखि यो विकल्पमा काम गरिरहेका छन्। उनले आफ्ना वरिष्ठ अधिकारीहरूसँग निजी तहको छलफलमा तेहरानसँग औपचारिक परमाणु सम्झौता नगरी पनि संघर्ष अन्त्य गर्न सकिने बताएका छन्।
पहिले परमाणु सम्झौता मुख्य लक्ष्य
यसअघि ट्रम्प प्रशासनको मुख्य प्राथमिकता इरानको परमाणु कार्यक्रमबारे सम्झौता गराउनु थियो। तर युद्ध लम्बिँदै गएपछि अमेरिकाको रणनीतिक प्राथमिकता परिवर्तन भएको देखिएको छ।
अब होर्मुज जलडमरूमध्यबाट व्यापारिक जहाजको आवागमन पुनः सुरु गराउनु युद्ध अन्त्यको महत्वपूर्ण शर्त बन्न सक्ने देखिएको छ। विश्वको ऊर्जा आपूर्तिका लागि अत्यन्त महत्वपूर्ण मानिने यो मार्गबाट ठूलो मात्रामा तेल तथा ग्यासको ढुवानी हुने गर्छ।
होर्मुज खोल्न इरानका कडा शर्त
इरानले पनि होर्मुज जलडमरूमध्य खोल्न विभिन्न शर्त अघि सारेको छ। इरानको सुप्रीम नेसनल सेक्युरिटी काउन्सिलका सचिव मोहम्मद बाघेर जोल्घदारले युद्ध स्थायी रूपमा अन्त्य गर्नुपर्ने र आफ्नो नौसैनिक नाकाबन्दी अमेरिकाले हटाउनुपर्ने शर्त राखेका छन ।
इरानले क्षेत्रबाट अमेरिकी सेना फिर्ता गर्नुपर्ने, सबै प्रतिबन्ध हटाउनुपर्ने, विदेशमा रोक्का राखिएको इरानी सम्पत्ति फुकुवा गर्नुपर्ने र युद्धबाट भएको क्षतिको क्षतिपूर्ति दिनुपर्ने माग गरेको छ।
त्यसैगरी अमेरिकाले मध्यपूर्वमा इरान समर्थित संगठनविरुद्ध सैन्य कारबाही रोक्नुपर्ने माग पनि इरानले राखेको छ।
ट्रम्पमाथि घरेलु दबाब
इरानसँगको युद्धका कारण अमेरिकामा पेट्रोलको मूल्यमा समेत असर परेको छ। यसले ट्रम्प प्रशासनमाथि युद्ध अन्त्य गर्न घरेलु दबाब बढाएको छ। त्यसमाथि अमेरिकामा मध्यावधि निर्वाचन पनि नजिकिँदै छ।
ट्रम्पले पटक-पटक इरानसँग चाँडै सम्झौता हुन सक्ने दाबी गर्दै आएका छन्। उनले हालै सामाजिक सञ्जालमा गरेको पोस्टमार्फत अमेरिकाले युद्धमा विजय हासिल गरिसकेको संकेतसमेत दिएका थिए।
ट्रम्प किन पछि हट्दै ?
रिपोर्टअनुसार ट्रम्पलाई इरानले उनको कार्यकालमा आफ्नो परमाणु कार्यक्रम सहज रूपमा पुनः सुरू गर्न नसक्ने विश्वास छ। उनका अनुसार अमेरिकी गुप्तचर निकायले इरानको नयाँ परमाणु गतिविधिमाथि निगरानी राख्न सक्छन्।
यदि इरानले पुनः परमाणु हतियार निर्माण गर्ने प्रयास गरेमा अमेरिकाले फेरि सैन्य कारबाही गर्न सक्ने ट्रम्पको धारणा रहेको बताइएको छ।
अमेरिकाले होर्मुज जलडमरूमध्य खोल्नु युद्ध अन्त्य गर्ने सम्भावित बाटोका रूपमा हेरिरहे पनि इरानका मागहरू निकै ठूला छन्। विशेषगरी अमेरिकी सेना फिर्ता, प्रतिबन्ध हटाउने र आर्थिक क्षतिपूर्ति दिने विषयमा दुई देशबीच सहमति जुटाउन चुनौतीपूर्ण देखिन्छ।
इरान किन चुनौतीपूर्ण?
१. ३ हजारभन्दा बढी ब्यालिस्टिक मिसाइल
अमेरिकी गुप्तचर निकाय ओडीएनआईका अनुसार युद्धअघि इरानसँग ३ हजारभन्दा बढी ब्यालिस्टिक मिसाइल थिए। तीमध्ये केहीको मारक क्षमता २ हजार किलोमिटरसम्म रहेको बताइन्छ।
इरानले आफ्ना धेरै मिसाइललाई पहाडमुनि बनाइएका भूमिगत सुरुङ संरचनामा राखेको मानिन्छ। सुरुङभित्र मिसाइल, लन्चर र नियन्त्रण केन्द्र हुने भएकाले हवाई हमलाबाट ती संरचना पूर्ण रूपमा नष्ट गर्न कठिन मानिन्छ।
२. विश्वको करिब २० प्रतिशत तेल आपूर्तिको मार्ग
होर्मुज जलडमरूमध्यमार्फत विश्वको समुद्री तेल व्यापारको करिब २० प्रतिशत तथा ठूलो मात्रामा एलएनजी ढुवानी हुन्छ। यसको उत्तरी तट इरानतर्फ पर्छ। त्यसैले यहाँ तनाव बढ्दा वा जलडमरूमध्य बन्द हुँदा विश्वव्यापी तेलको मूल्य र ऊर्जा आपूर्तिमा प्रत्यक्ष असर पर्न सक्छ।
३. हजारौँ ड्रोनको क्षमता
इरानले पछिल्लो दशकमा ‘शाहेद’ लगायत हजारौँ ड्रोन विकास गरेको छ। यी ड्रोन लामो दूरीका आक्रमण तथा निगरानीका लागि प्रयोग गर्न सकिन्छ। रुस–युक्रेन युद्धमा समेत इरानी ड्रोनको प्रयोग भएपछि यसको सैन्य क्षमताबारे विश्वव्यापी चर्चा भएको थियो।
४. मध्यपूर्वमा सहयोगी सशस्त्र समूहको नेट्वर्क
इरान समर्थित हिजबुल्लाह, हुती तथा इराकका विभिन्न शिया सशस्त्र समूह मध्यपूर्वमा सक्रिय छन्। अमेरिकी रक्षा विशेषज्ञहरूले यी समूहलाई इरानको ‘फरवार्ड डिफेन्स’ रणनीतिको हिस्सा मान्छन्। यसमार्फत इरानले आफ्नो सीमाभन्दा बाहिर पनि दबाब सिर्जना गर्न सक्ने उनीहरूको विश्लेषण छ।
होर्मुजमाथि इरानको दाबी ?
होर्मुज जलडमरूमध्य इरान र ओमानको बीच भूगोलमा अवस्थित छ। यसको उत्तरी किनारा इरानतर्फ र दक्षिणी किनारा ओमानतर्फ पर्छन्। सबैभन्दा साँघुरो स्थानमा यसको चौडाइ करिब २१ नटिकल माइल अर्थात् करिब ३९ किलोमिटर मात्रै छ।
सुरुमा दुवै देशको समुद्री क्षेत्र ३ नटिकल माइलसम्म मानिन्थ्यो। पछि समुद्री कानुनमा परिवर्तन भएपछि इरानले सन् १९५९ मा र ओमानले सन् १९७२ मा आफ्नो समुद्री क्षेत्रको सीमा १२–१२ नटिकल माइलसम्म विस्तार गरे।
यसपछि होर्मुज जलडमरूमध्यको सबैभन्दा साँघुरो भाग इरान र ओमानको समुद्री क्षेत्रमा पर्न गयो। यद्यपि अन्तर्राष्ट्रिय समुद्री आवागमन सहज बनाउन करिब २–२ नटिकल माइल चौडा ट्रान्जिट लेन कायम गरिएको छ।












प्रतिक्रिया