एजेन्सी– अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आगामी नोभेम्बरमा हुने मध्यावधि निर्वाचनमा रिपब्लिकन पार्टीले काङ्ग्रेसका दुवै सदनमा आफ्नो नियन्त्रण कायम राखे प्रत्येक वयस्क अमेरिकी नागरिकलाई पाँच हजार अमेरिकी डलर दिने घोषणा गरेका छन् ।
डालसमा आयोजित रिपब्लिकन मध्यावधि सम्मेलनलाई सम्बोधन गर्दै राष्ट्रपति ट्रम्पले प्रस्तावित रकमलाई ‘ट्रम्प लाभांश’को संज्ञा दिए ।
रिपब्लिकन पार्टी विजयी भए नागरिकले त्यसको प्रत्यक्ष लाभ पाउने दाबी गर्दै उनले भने, ‘रिपब्लिकनहरू विजयी भएमा तपाईंहरू पनि हामीसँगै विजयी हुनुहुनेछ र पाँच हजार डलर पाउनुहुनेछ। यसलाई ट्रम्प लाभांश भनिन्छ।’
यद्यपि, उक्त रकम कहाँबाट जुटाइने हो भन्नेबारे ट्रम्पले स्पष्ट पारेका छैनन् । प्रत्येक वयस्क अमेरिकी नागरिकलाई पाँच हजार डलर वितरण गर्दा सरकारमाथि खर्बौं डलरको आर्थिक भार पर्न सक्ने अनुमान गरिएको छ। तर ट्रम्पले अमेरिकाले ठूलो मात्रामा आम्दानी गरिरहेको दाबी गर्दै प्रस्तावको बचाउ गरे ।
आगामी नोभेम्बर ३ मा हुने मध्यावधि निर्वाचनमा रिपब्लिकन उम्मेदवारलाई विजयी गराउन समर्थकलाई आग्रह गर्दै ट्रम्पले आफू मतपत्रमा रहेको कल्पना गरेर मतदान गर्नसमेत आह्वान गरे। पछिल्ला जनमत सर्वेक्षणमा उनको स्वीकृति दर करिब ३० प्रतिशतमा रहेको तथा महँगी र इरानविरुद्धको युद्धप्रति मतदाताको असन्तुष्टि बढिरहेको बताइएको छ।
ट्रम्पले इरानविरुद्धको युद्धको बचाउ गर्दै अमेरिकाले युद्ध जित्ने र त्यसपछि तेलको मूल्य अझ घट्ने दाबी गर्नुभयो। खाद्यान्नलगायत अधिकांश वस्तुको मूल्य घटिरहेको उल्लेख गर्दै उहाँले रणनीतिक रूपमा महत्वपूर्ण हर्मुज जलघाँटीमाथि अमेरिकाले नियन्त्रण कायम गर्न सक्ने संकेतसमेत दिए ।
उनले डेमोक्रेटिक पार्टी विजयी भए अमेरिका साम्यवादी देश बन्ने दाबी गर्दै आगामी निर्वाचनले देशको आगामी २५० वर्षको दिशा निर्धारण गर्ने बताए ।
हालका निर्वाचन प्रक्षेपणअनुसार प्रतिनिधिसभामा डेमोक्रेटिक पार्टीले २३० र रिपब्लिकन पार्टीले २०५ सिट जित्ने अनुमान गरिएको छ। त्यस्तै, सिनेटमा डेमोक्रेटिक पार्टीले ५१ र रिपब्लिकन पार्टीले ४९ सिट जित्ने प्रक्षेपण गरिएको छ।
यस्तो राजनीतिक समीकरणमा ट्रम्पप्रति वफादार मतदातालाई मतदान केन्द्रसम्म परिचालन गर्नुका साथै उनको कार्यकालप्रति असन्तुष्ट स्वतन्त्र मतदातालाई पार्टीबाट टाढिन नदिनु रिपब्लिकन पार्टीका लागि मुख्य चुनौती बनेको छ।
अमेरिकन एयरलाइन्स सेन्टरमा आयोजित सम्मेलनमा रिपब्लिकनहरूले कर कटौती, आप्रवासन नियन्त्रण, उत्पादन वृद्धि र औषधिको मूल्य घटाउने विषयलाई प्रमुख चुनावी मुद्दाका रूपमा प्रस्तुत गरेका थिए। सम्मेलनमा डेमोक्रेटिक सिनेटर जोन फेटरम्यानको भिडियो सम्बोधनसमेत समावेश गरिएको थियो।
राजनीतिक चुनौतीका बाबजुद सम्मेलनस्थलको वातावरण भने उत्सवमय देखिएको थियो। ट्रम्पका समर्थकहरूले उनको नाम र तस्बिर तथा अमेरिकी झण्डा अङ्कित पोसाक लगाएका थिए। राष्ट्रिय गानका क्रममा ‘युएसए१ युएसए१’ को नारा गुञ्जिएको थियो।
मिशिगनबाट सम्मेलनमा सहभागी ७७ वर्षीया कन्जरभेटिभ पोडकास्टर सुसान कोकिन्डाले रिपब्लिकन पार्टीले निर्वाचनमा राम्रो प्रदर्शन गर्ने विश्वास व्यक्त गरे।
उनले भने, ‘डोनाल्ड ट्रम्प परम्परागत राष्ट्रपति हुनुहुन्न र उहाँले रिपब्लिकन पार्टीलाई पुनः आकार दिइरहनुभएको छ।’
मध्यावधि निर्वाचनलाई लक्षित गरी आयोजना गरिएको यो पहिलो रिपब्लिकन राष्ट्रिय सम्मेलन हो।
औपचारिक पार्टीगत निर्णय वा उम्मेदवार मनोनयनभन्दा पनि सम्मेलनलाई राष्ट्रपति ट्रम्पको कार्यकालको प्रचार तथा रिपब्लिकन उम्मेदवारको चुनावी अभियानमा केन्द्रित दुई रातको कार्यक्रमका रूपमा आयोजना गरिएको हो।












प्रतिक्रिया