हेटौँडा– मुग्लिङ-काठमाडौँ सडकखण्ड अवरुद्ध भएपछि हेटौँडा हुँदै काठमाडौँ आवतजावत गर्ने सवारीसाधनको चाप बढेसँगै बडादसैँका यात्रुवाहक सवारीसाधनलाई प्राथमिकता दिएर आवागमनको व्यवस्थापन गरिएको छ ।
जिल्ला ट्राफिक प्रहरी कार्यालय मकवानपुरका प्रमुख रमेश विष्टले यात्रुवाहक सवारीसाधनलाई पहिलो प्राथमिकतामा राखेर त्रिभुवन राजपथलगायत वैकल्पिक सडकमार्गमा सवारी व्यवस्थापन गरिएको जानकारी दिए । उनका अनुसार यात्रुवाहक सवारीसाधनपछि इन्धन तथा खाना पकाउने ग्यास बोकेका सवारीसाधनलाई प्राथमिकता दिइएको छ ।
धादिङको गल्छी क्षेत्रमा सडक अवरुद्ध भएपछि हेटौँडा हुँदै काठमाडौँ आवतजावत गर्ने सवारीसाधनको चाप बढेको उनले बताए । त्रिभुवन राजपथ साँघुरो हुनुका साथै घुम्तीहरूमा ठूला सवारीसाधनलाई आवतजावत गर्न कठिनाइ हुने भएकाले आलोपालो प्रणालीमार्फत सवारी सञ्चालन गरिएको छ ।
‘यात्रुवाहक सवारीसाधनलाई प्राथमिकता दिएका छौँ । सडक साँघुरो र घुम्तीहरू अप्ठ्यारा भएकाले समय मिलाएर सवारी सञ्चालन गर्नुपरेको छ’, प्रमुख विष्टले भने। उनका अनुसार सवारी व्यवस्थापनका क्रममा कतिपय सवारीसाधनलाई एकदेखि दुई घण्टासम्म रोक्नुपर्ने अवस्था छ ।
जिल्ला प्रशासन कार्यालय मकवानपुरले निर्धारण गरेको व्यवस्थाअनुसार त्रिभुवन राजपथमा ११ मिटरसम्म लम्बाइ भएका यात्रुवाहक सवारीसाधन सञ्चालन गर्न दिइएको छ । त्यस्तै, १० चक्काभन्दा बढी भएका तथा १५ टनभन्दा बढी भार बोकेका मालवाहक सवारीसाधनलाई उक्त सडकखण्ड प्रयोग गर्न रोक लगाइएको छ ।
साना यात्रुवाहक सवारीसाधनका लागि भीमफेदी सडकखण्डबाट आवागमनको व्यवस्था मिलाइएको प्रमुख विष्टले जानकारी दिए । हेटौँडाको चौकीटोलमा टाटा सुमो तथा विद्युतीय सवारीसाधनको पार्किङ र यात्रु चढाउने व्यवस्था गरिएको छ । भीमफेदी सडकखण्डमा साना सवारीसाधनको दोहोरो आवागमन भइरहेको, देउराली तथा जुरिखेतलगायत स्थानमा ट्राफिक प्रहरी परिचालन गरिएको उनले बताए ।
यसैबीच, आइतबारदेखि सुरु हुने बडादसैँलाई लक्षित गरी हेटौँडा बसपार्क र चौकीटोलमा यात्रु सहायता कक्ष सञ्चालन गरिएको छ । यात्रुबाट बढी भाडा असुल्ने, सवारीसाधन चढ्न समस्या हुने तथा सडकको अवस्थाबारे जानकारी लिनुपर्ने अवस्थालाई ध्यानमा राखेर सहायता कक्ष स्थापना गरिएको प्रमुख विष्टले जानकारी दिए ।
उनका अनुसार सवारी दुर्घटना न्यूनीकरणका लागि साँघुरा सडक, अप्ठ्यारा घुम्ती तथा जोखिमयुक्त स्थानमा ट्राफिक प्रहरी परिचालन गरिएको छ । चालकलाई तीव्र गतिमा सवारी नचलाउन, जथाभावी ओभरटेक नगर्न तथा सडकको अवस्थाअनुसार सावधानी अपनाउन सचेत गराइएको छ ।
कार्यालयमा उपलब्ध ट्राफिक जनशक्तिलाई सवारी व्यवस्थापनमा परिचालन गरिएको जनाउँदै प्रमुख विष्टले सडकको अवस्था र सवारी चापलाई ध्यानमा राखेर थप व्यवस्थापन गरिने बताए।














प्रतिक्रिया