काठमाडौं – नेपाली कांग्रेसको संस्थापनइतर समूहका संयोजक डा. शशांक कोइरालाले आगामी महाधिवेशनले पार्टीलाई एकजुट बनाउने दाबी गरेका छन् ।
शनिबार काठमाडौंमा कांग्रेसको संस्थापनइतर समूहले आयोजना गरेको काठमाडौं क्षेत्र नम्बर ४ को प्रदेश तथा क्षेत्रीय अधिवेशन उद्घाटन गर्दै कोइरालाले आगामी मंसिरमा तय भएको महाधिवेशन पार्टीका लागि अत्यन्त महत्त्वपूर्ण रहेको बताए । महाधिवेशनले पार्टीलाई एकताबद्ध बनाउनुका साथै आगामी निर्वाचनमा एकजुट भएर अघि बढ्न बल पुर्याउने उनको भनाइ थियो ।
कांग्रेस अहिले पनि बलियो अवस्थामा रहेको उल्लेख गर्दै उनले सबै शक्ति एक ठाउँमा उभिए पनि कांग्रेसलाई हराउन र कमजोर बनाउन नसक्ने धारणा राखे । कांग्रेसले सत्ताको दुरुपयोग नगर्ने र गर्न पनि नदिने उनले बताए ।
राजनीति समयसँगै परिवर्तन हुँदै गए पनि विचार र स्पष्टता कायम रहनुपर्नेमा जोड दिँदै कोइरालाले कार्यकर्तालाई सही बाटो नछाड्न आग्रह गरे ।
कार्यक्रममा कांग्रेस नेता प्रकाशमान सिंहले १४औँ महाधिवेशनबाट चयन भएको नेतृत्व नै आधिकारिक भएकाले १५औँ महाधिवेशन आयोजना गर्न लागिएको बताए । वर्तमान सभापति शेरबहादुर देउवाले राजीनामा नदिएको अवस्थामा कसैले टुँडिखेलमा बसेर घोषणा गर्दैमा त्यसले मान्यता नपाउने उनको भनाइ थियो ।
पार्टीमा विभिन्न पदका आकांक्षी धेरै देखिएको उल्लेख गर्दै सिंहले पार्टीमा योगदान दिएका नेताहरूलाई जिम्मेवारी दिन सुझाव दिए ।
त्यस्तै, कांग्रेस नेता मोहन बस्नेतले पार्टीको क्रियाशीलता र विस्तारका लागि देशभरका नेता तथा कार्यकर्ता लड्न तयार रहेको बताए । तर, कारबाहीको डर र धम्कीका कारण केही नेता तथा कार्यकर्ता अर्को पक्षमा गएको उनको दाबी थियो । केही दिनपछि कांग्रेसका अधिकांश नेता आफ्नो पक्षमा आउने दाबीसमेत उनले गरे ।
बस्नेतले कांग्रेसलाई कमजोर पार्ने प्रवृत्तिविरुद्ध सचेत रहन र एकजुट भएर अघि बढ्न कार्यकर्तालाई आग्रह गरे ।














प्रतिक्रिया