काठमाडौँ – २०६० सालको साउनमा द्वन्द्व उत्कर्षमा थियो । साउनको ११ गते तत्कालीन शाही नेपाली सेनाका अधिकृत पवन घिमिरेको कमान्डमा एउटा टोली कालिकोट–जुम्ला सडक खण्डको निरीक्षण र सुरक्षा दिएर फर्कँदै थियो । टोली फिर्ता हुने क्रममा विद्रोही पक्ष (तत्कालीन माओवादी) ले थापेको एम्बुस विस्फोट भयो । त्यो विस्फोटपछि पवनका आँखाले संसार अध्यारो मात्र देख्यो ।
विस्फोटले घिमिरेको दुवै आँखामा गम्भीर चोट पुर्यायो । तत्कालै नेपाली सेनाको हेलिकप्टरमार्फत उद्धार गरी सैनिक अस्पताल र पछि भारतको हैदरावादस्थित एलपी प्रसाद आँखा अस्पतालसम्म पुर्याइयो । तर, उनको दृष्टिको किरण फर्किन सकेन ।
“म विज्ञानको विद्यार्थी भएकाले थाहा पाइसकेको थिएँ- अब दृष्टि फर्किने सम्भावना छैन,” पवन घिमिरे विगत सम्झँदै भन्छन्, “तर परिवार र आफन्तको सान्त्वनाका लागि मात्र उपचारका ढोका चाहारेँ।”
एउटा दौडिरहेको, उर्जाशील फौजी अधिकृतका लागि एक्कासि अन्धकारमा पुग्नु कम्ती पीडादायी थिएन। “नयाँ गुमेको सक्रिय जीवन र अगाडिको अँध्यारो भविष्य तुलना गर्दा मनभित्रैबाट मरिन्थ्यो,” घिमिरे विगतको छटपटी पोख्छन्, “सुरुका दिनमा डिप्रेसन, हताशा र छटपटीबाहेक केही थिएन।”
जीवनको यो कठोर मोडमा उनलाई आत्महत्याको बाटोमा जानबाट एउटै डोरले रोक्यो- आमाको अपार माया। तर विडम्बना, जुन आमाका लागि उहाँले जीवन रोज्नुभयो, तिनै आमा छोराको यो अवस्थाको तनाव सहन नसकी छाडेर जानुभयो।
अँध्यारोबाट जागेको आशाः क्रिकेट
आमाको अवसान र आँखाको दृष्टि गुम्दा पनि पवन घिमिरेले हिम्मत हारेन। द्वन्द्वमा परेर अपाङ्गता व्यहोरेका ५ सयभन्दा बढी सुरक्षाकर्मीकै जस्तै पीडा आफूमा थियो। उनले सोचे- “अब आफ्ना लागि मात्र होइन, अरूका लागि पनि बाँच्नुपर्छ।”
सन् २००६ तिर दुई जना पाकिस्तानी प्रशिक्षकले नेपालमा दृष्टिविहीन क्रिकेटको सातदिने तालिम दिए। त्यही तालिम पवनका लागि नयाँ जीवनको प्रस्थानविन्दु बन्यो।
त्यही वर्ष उgको नेतृत्वमा स्थापना भयो- क्रिकेट एसोसिएसन अफ द ब्लाइन्ड, नेपाल । आँखा नदेख्ने व्यक्तिका लागि खेलकुद केवल मनोरञ्जन मात्र थिएन, पुनर्जन्मको माध्यम थियो। सुरुका दिनमा स्रोत-साधन थिएन। साथीभाइहरूसँग चन्दा उठाएर, आफ्नै तलब काटेर उgले संस्था अगाडि बढाए। “घरपरिवार, समाज र स्वयम् दृष्टि गुमाएकालाई पनि ब्याट र बल समाउन सकिन्छ भनेर बुझाउन ठूलो सङ्घर्ष गर्नुपर्यो,” घिमिरे भन्छन्।
नेत्रहिन क्रकिट संघमार्फत एक हजारभन्दा बढी दृष्टिविहीन खेलाडी उत्पादन भइसकेका छन्। यसमा द्वन्द्वमा दृष्टि गुमाएका ५० भन्दा बढी र तीन सय ५० भन्दा बढी महिला खेलाडी समावेश छन्।
पवन घिमिरेकै पहलमा विश्वकै पहिलो महिला दृष्टिविहीन क्रिकेट टोली नेपालमा गठन भयो। यो उपलब्धिले नेपाललाई अन्तर्राष्ट्रिय जगतमै नयाँ पहिचान दिलायो। नेपाल र बेलायतका महिला दृष्टिविहीन टोलीबीच ऐतिहासिक सिरिज आयोजना गराएका घिमिरेकै नेतृत्वमा नेपाली महिला टिम विश्वकपको उपविजेता बन्यो भने पुरुष टोली सेमिफाइनलीसम्म पुग्न सफल भयो।
पद्मा पाण्डेले २०१७ को विश्वकपमा बनाएको अविजित २११ रनको रेकर्ड होस् वा विश्वकपमा पहिलो शतक हान्ने भगवती भट्टराई र विश्व नम्बर वान बलर बनेकी सुष्मा तामाङ- दृष्टिविहीन क्रिकेटले नेपाललाई अन्तर्राष्ट्रिय मञ्चमा पटक-पटक गौरवान्वित बनाएको छ।
उनको यो सेवा र समर्पणलाई कदर गर्दै राज्यले ‘गोरखा दक्षिण बाहु चौथो’ (२०६१), ‘नेपाल सरकार युवा तथा खेलकुद मन्त्रालय राष्ट्रिय सम्मान’ (२०७१), ‘प्रधान सेनापति प्रशंसा निशान’ (२०१७) लगायतका सम्मान प्रदान गर्यो। सन् २०२० मा अमेरिकी विदेश मन्त्रालयले ‘एटी फेसेज अफ चेन्ज’ का रूपमा घिमिरेलाई चयन गरेको थियो।
दृष्टि गुमाएपछि पनि क्रिकेटमार्फत समाजमा पुर्याएको योगदानकै कदर गर्दै नेपाली सेनाले उनलाई लेफ्टिनेन्ट कर्णेल (प्रमुख सेनानी) पदमा पदोन्नति गर्यो। घिमिरे सम्भवतः नेपाली सेनामा दुर्घटनापछि कर्णेल पदमा पदोन्नति हुने पहिलो सैनिक अधिकृत बनेका छन्।
कसरी खेलिन्छ दृष्टिविहीन क्रिकेट ?
हामीले मैदानमा देख्ने नियमित क्रिकेटभन्दा दृष्टिविहीन क्रिकेटको संरचना केही फरक र रोचक छ।
- दृष्टिविहीन क्रिकेटको मुख्य आधार आवाज हो। बलभित्र २४ देखि २५ वटा साइकलका बल्स (बेरिङ) राखिएका हुन्छन्। १२ सेन्टिमिटर व्यास भएको यो बल पिचमा गुड्दा ‘छ्याङछ्याङ’ आवाज आउँछ।
- बलिङ अन्डरआर्म गरिन्छ भने ब्याटिङ होरिजन्टल रूपमा बलको आवाज सुनेर प्रहार गरिन्छ।
- सामान्य क्रिकेटको बाउन्ड्री ७० यार्डसम्म हुन्छ भने दृष्टिविहीन क्रिकेट ४५ देखि ५० यार्डको बाउन्ड्रीमा खेलिन्छ। ब्याट समान भए पनि बल पाकिस्तान वा भारतबाट खरिद गरेर ल्याउनुपर्छ, जसको मूल्य प्रतिबल करिब तीन सय चार सय रुपैयाँ पर्छ।
हाल नेपाल प्रिमियर लिग (एनपीएल) को रौनक छ। तर, दृष्टिविहीनहरूका लागि यो क्रिकेट अझै पूर्ण पहुँचयोग्य बन्न सकेको छैन। “हामीले कमेन्ट्री मात्र सुन्ने हो, तर बल कसरी फालियो, कुन दिशामा गयो भन्ने विवरण कमेन्ट्रीमा आउँदैन,” घिमिरेको क्यानलाई सुझाव छ, “कमेन्ट्री बल-टु-बल र पहुँचयोग्य हुनुपर्छ। साथै स्टेडियममा ५०–६० वटा सिट अपाङ्गता भएका व्यक्तिका लागि आरक्षित गरी सहुलियत दिनुपर्छ।”
घिमिरेको अबको एउटै सपना छ- नेपालका लागि दृष्टिविहीन क्रिकेटको विश्वकप ट्रफी उचाल्ने।
घिमिरे परिवारको फौजी विरासत : तीन दाजुभाइ तीन सुरक्षा निकायमा
ललितपुरको गोदावरी नगरपालिका–५, लेलेस्थित घिमिरे परिवारको कथा कुनै चलचित्रको रोमाञ्चक पटकथाभन्दा कम छैन। एउटै घरका तीन दाजुभाइ र दुई बुहारी नेपालका फरक-फरक सुरक्षा निकायका उपल्लो र जिम्मेवार पदमा पुगेर देशको सेवामा समर्पित छन्।
यो परिवारमा राष्ट्रसेवाको यो असाधारण परम्परा आजभन्दा सय वर्ष अगाडि हजुरबुबा जितबहादुर घिमिरेले रोपेका हुन्जो । प्रथम विश्वयुद्धका क्याप्टेन थिए । पुर्खाहरूले बालेको देशप्रेमको त्यही दीप नाति पुस्तासम्म आइपुग्दा उत्तिकै प्रज्वलित बनेको छ।
फौजी विरासत : माहिला दाजु (पवान घिमिरे) सेनाका प्रमुख सेनानी । कान्छा भाइ (विकास घिमिरे):एपीएफका एसएसपी, जेठी बुहारी (बसुन्धरा खड्का) एसपीका रूपमा झापा जिल्लाको प्रहरी प्रमुख, कान्छी बुहारी (डा. समृद्धि बस्नेत) सशस्त्र प्रहरी अस्पतालमा चिकित्सकका रूपमा कार्यरत ।
तीन दाजुभाइ, तीन सुरक्षा निकाय र दुई बुहारी पनि सुरक्षाकर्मी
- जेठा दाजु (दिलीप घिमिरे): नेपाल प्रहरीका वरिष्ठ प्रहरी उपरीक्षक (एसएसपी) छन् उनी हाल जिल्ला प्रहरी परिसर काठमाडौँको प्रमुख हुन्।
- माहिला दाजु (पवान घिमिरे): दृष्टिविहीन क्रिकेटका अभियन्ता तथा नेपाली सेनाका प्रमुख सेनानी हुन्।
- कान्छा भाइ (विकास घिमिरे): सशस्त्र प्रहरी बल (एपीएफ) का वरिष्ठ प्रहरी उपरीक्षक (एसएसपी) छन्।
- जेठी बुहारी (बसुन्धरा खड्का): नेपाल प्रहरीको प्रहरी उपरीक्षक (एसपी) का रूपमा झापा जिल्लाको प्रहरी प्रमुखको जिम्मेवारीमा छिन्।
- कान्छी बुहारी (डा. समृद्धि बस्नेत): सशस्त्र प्रहरी बलकी एसपी तथा सशस्त्र प्रहरी अस्पतालमा चिकित्सकका रूपमा कार्यरत छिन्।
एकै परिवारका सदस्य राष्ट्रसेवाको एउटै महान् उद्देश्यमा भएपछि घरभित्रको वातावरण पनि विशिष्ट हुन्छ। “हाम्रो परिवारमा एक-अर्काको पेसागत अप्ठ्यारो र पीडा सहजै बुझिन्छ,” घिमिरे भन्छन्, “फौजी जीवनको निष्ठा नै हाम्रो पारिवारिक धरोहर हो।”
आज जीवनको यो सर्वोच्च उचाइमा पुग्दा दाजुभाइको खुसी साट्न बाबुआमा यो संसारमा नभएकोमा उनी दु:खी छन्। तर, लेलेको यो घिमिरे परिवारले देखाएको देशप्रेम, त्याग र समर्पण नेपालको सुरक्षा र समाजसेवाको इतिहासमा एउटा स्वर्णिम अध्याय बनेको छ।














प्रतिक्रिया