काठमाडौं- भारतले मुम्बई–अहमदाबाद उच्च गतिको रेल करिडोरका लागि बेंगलुरुस्थित भारत अर्थ मुभर्स लिमिटेड (बीईएमएल) मा आफ्नो पहिलो स्वदेशी बुलेट ट्रेन निर्माण गरिरहेको छ । भारतीय रेल मन्त्रालयका अनुसार घरेलु इन्जिनियरिङ र आधुनिक प्रविधिको संयोजनमा भारतीय परिवेश सुहाउँदो गरी यो रेलको डिजाइन तयार पारिएको हो ।
करिब २०२ मिटर लामो आठ डिब्बाको उक्त रेलको अधिकतम परीक्षण गति २८० किलोमिटर प्रतिघण्टा र सञ्चालन गति २४९ किलोमिटर प्रतिघण्टा रहनेछ । ५५७ यात्रु क्षमताको यस रेलमा सातवटा स्ट्यान्डर्ड क्लास र एउटा एक्जिक्युटिभ क्लास डिब्बा रहनेछन् । आवश्यकताअनुसार यस्ता दुई वटा सेट जोडेर १६ डिब्बाको रेलसमेत बनाउन सकिनेछ ।
यात्रुको सुविधाका लागि रेलमा आरामदायी सिट, एलईडी लाइट, लगेज राख्ने ठाउँ, मोबाइल तथा ल्यापटप चार्जिङ पोर्ट, वाइफाईमा आधारित इन्फोटेनमेन्ट प्रणाली, बायो–डाइजेस्टर शौचालय तथा अंग्रेजी, हिन्दी र क्षेत्रीय भाषामा सूचना दिने एलसीडी डिस्प्ले जडान गरिनेछ।
अपाङ्गता भएका व्यक्तिहरूका लागि ह्वीलचेयरमैत्री ढोका, छुट्टै सिट र शौचालय, ब्रेल लिपिको सङ्केत तथा प्लेटफर्मसँग मिल्ने समतल बोर्डिङको व्यवस्था समेत रहनेछ। ऊर्जा बचतका लागि रिजेनेरेटिभ ब्रेकिङ प्रणाली र तीव्र गतिमा हावाको अवरोध तथा सुरुङभित्रको आवाज कम गर्न विशेष एरोडाइनामिक प्रविधिको प्रयोग गरिएको यस परियोजनालाई भारतको उच्च गतिको रेल प्रविधिमा आत्मनिर्भर बन्ने महत्त्वपूर्ण कदमका रूपमा हेरिएको छ ।














प्रतिक्रिया