काठमाडौं– काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयको आयोजनामा ‘दुर्घटना न्यूनीकरण विशेष अभियान तथा ट्राफिक सप्ताह २०८२’ भव्य रुपमा सुरु भएको छ ।
सडक दुर्घटना कम गर्ने र आम नागरिकमा ट्राफिक सचेतना फैलाउने उद्देश्यले आजदेखि अभियान सुरु गरिएको हो ।
शनिबार बिहान काठमाडौंको ऐतिहासिक क्षेत्र वसन्तपुर कुमारीघरबाट सुरु भएको सचेतनामूलक र्याली नगरका विभिन्न भागको परिक्रमा गर्दै रामशाहपथस्थित काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयमा पुगेर समापन भएको थियो ।
अभियानमा प्रहरी अधिकारीहरू, विभिन्न विद्यालयका विद्यार्थीहरू र सरोकारवाला निकायहरूको बाक्लो उपस्थिति रहेको थियो ।
सहभागीहरूले हातहातमा ट्राफिक सचेतनासम्बन्धी ‘प्लाकार्ड’ र ब्यानरहरू बोकेका थिए ।
र्यालीमा ‘ट्राफिक नियम मिचेकोमा गर्व होइन, लाज मान्ने गरौँ’, ‘मापसे गरी सवारी साधन नचलाऔँ’, ‘लेनको पालना गरौँ’ जस्ता सन्देशमूलक नाराहरू प्रस्तुत गरिएका थिए ।
सडक सुरक्षा साझा दायित्व समारोहलाई सम्बोधन गर्दै प्रहरी महानिरीक्षक दान बहादुर कार्कीले सडक सुरक्षा केवल प्रहरीको मात्र जिम्मेवारी नभई हरेक नागरिकको नागरिक दायित्व भएको बताए ।
उनले सवारी नियमको पूर्ण पालनाले मात्रै सडकमा हुने मानवीय र भौतिक क्षति कम गर्न सकिनेमा जोड दिए ।
काठमाडौं उपत्यका ट्राफिक प्रहरी प्रमुख एसएसपी नवराज अधिकारीले सप्ताहभर उपत्यकाका विभिन्न चोक र सार्वजनिक स्थलहरूमा सचेतनामूलक कार्यक्रमहरू, चालक–सहचालक लक्षित प्रशिक्षण र अन्तरक्रिया सञ्चालन गरिने जानकारी दिए ।
यो विशेष अभियानले उपत्यकाको यातायात व्यवस्थापनमा सकारात्मक परिवर्तन ल्याउने विश्वास लिइएको छ ।
























तस्बिर : नेपाल फोटो लाइब्रेरी













प्रतिक्रिया