बाँकेमा चिसोले मर्न थाले मौरी « Khabarhub

बाँकेमा चिसोले मर्न थाले मौरी


२६ पुस २०८२, शनिबार  

पढ्न लाग्ने समय : 2 मिनेट


15
Shares
  • change font
  • change font
  • change font

नेपालगन्ज– मह उत्पादनका लागि पालिएका मौरी चिसोका कारण मर्न थालेका छन् । तराईमा चलेको शीतलहरका कारण बाँकेका किसानले पालेका मौरी मर्न थालेका हुन् ।

नेपाल मौरीपालक महासङ्घ, बाँकेका अध्यक्ष एवं मौरी पालक किसान पुरमल बस्नेतको घारमा रहेका मौरीमध्ये करिब दुई प्रतिशत मरेको जानकारी दिए ।

उनले भने, ‘अहिले मौरीका लागि सङ्कटकालजस्तै भएको छ, घारबाट बाहिर आउँदा चराको आक्रमण छ भने तराईको शीतलहर र हुस्सुले मौरी मरेका छन् ।’

मौरीपालक बस्नेतले कतिपय अवस्थामा शीतलहरका कारण मौरीको घारसमेत रित्तो हुने अवस्था रहने उल्लेख गर्दै बाँकेमा भने त्यस्तो समस्या नभएको स्पष्ट पारे । एउटा घारमा ३० देखि ३५ हजार हाराहारीमा मौरी रहेका हुन्छन् ।

मौरीलाई खानपानको व्यवस्था गर्न सकिएन भने मौरीको घारमा किसानले ठूलो नोक्सानी बेहोर्नुपर्ने उल्लेख गर्दै उनले बाँकेमा उन्नत जातको मेलिफेरा मौरीबाट मह उत्पादन भइरहेको बताए । यो युरोपबाट विकास गरिएको उन्नत जातको मौरी हो ।

अध्यक्ष बस्नेतका अनुसार चरिचरनका लागि विभिन्न स्थानमा स्थानान्तरण हुँदा मौरीलाई चिसोको समस्या हुने गर्छ । यही कारण बाँकेमा यस वर्ष महको उत्पादन घट्ने अनुमान छ ।

रैथाने जातका मौरी, भमरा, पुत्का पनि चिसोका कारण मर्न थालेको उल्लेख गर्दै उनले यिनीहरूको वासस्थान सुरक्षित गर्ने कार्यक्रम ल्याउनुपर्ने बताए । उनले आफूले पालेका ५० घार मौरीलाई चरिचरनका लागि बर्दियाको गुलरिया उत्तरपूर्व लक्षुमणामा लगेको जानकारी दिँदै त्यहाँ पनि फुलेको तोरी सकिएकाले अन्यत्र सार्ने तयारी भइरहेको बताए ।

कात्तिकमा बर्दियाको तारातालमा मौरी चरिचरनका लागि लगेको उल्लेख गर्दै मौरीपालक बस्नेतले अब केही दिनमा नै चरिचरनका लागि बर्दियाको बासगढी नगरपालिकामा लैजाने तयारी भइरहेको बताए ।

कोहलपुर नगरपालिका– ५ निवासी कृष्ण आचार्यले मौरी चिसोले मर्न थालेपछि मौरीपालक किसान चिन्तित भएको बताए ।

‘एउटा घारमा १० वटा फ्रेम हुन्छ त्यसमध्ये दुईदेखि तीन फ्रेम खाली भएको छ’, उनले भने । चिसोको प्रत्यक्ष असर मौरीपालक किसानलाई परेको उल्लेख गर्दै उनले मौरी बाहिर हिँडडुल गर्न नपाएपछि महको उत्पादनमा पनि गिरावट आउने बताए । रानीमौरीले अण्डा पार्न सक्दैन र मौरी चिसोले बाहिर आउन पनि सक्दैन, खान पाउँदैन अनि मर्छ मौरीपालक किसान आचार्यको भनाइ छ ।

आर्चायले करिब ७० घार मौरी पालेका छन् । यहाँ १२ जना मौरीपालक किसानले जिल्लामा मौरी पालेर महको उत्पादन गर्दै आएका छन् । गत वर्ष करिब दुई लाख ५० हजार क्विन्टल मह उत्पादन भएको जिल्लामा अहिले अझै कम उत्पादन हुने महासङ्घका अध्यक्ष बस्नेतको भनाइ छ ।

कोहलपुर नगरपालिकाका कृषि विकास शाखा प्रमुख कल्पना नेपालीले गत वर्ष सङ्घीय सरकारको कार्यक्रमअनुसार मौरीपालक किसानलाई अनुदान सहयोग गरे पनि यस वर्ष कुनै कार्यक्रम नभएको जानकारी दिए ।

जिल्लाको कोहलपुर, बैजनाथ, राप्तीसोनारी, खजुरालगायतका क्षेत्रमा सीमित किसानले मौरीपालन गरेका छन् ।

मौरीपालक किसान बस्नेतले गत वर्ष कोहलपुर नगरपालिकाबाट पाँच लाखको अनुदान प्राप्त गरेको र सो रकम पाँच जना किसानले दामासाहीले बाँडेर लिएको बताए । जिल्लाबाट अधिकांश मौरीपालक किसान मौरीको चरिचरनका लागि दाङ, बर्दिया, सुर्खेतलगायतका जिल्लामा जाने गर्छन् । (रासस)

प्रकाशित मिति : २६ पुस २०८२, शनिबार  ११ : ४८ बजे

जब कुलमानले उज्यालो नेपालको बैठकमा हात जोड्दै माफी मागे…

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टीसँगको एकता भङ्ग गरेको कुलमान घिसिङको

बत्ती जान थालेपछि निर्देशक शाक्यले गरे स्थलगत निरीक्षण

काठमाडौं – पाटन, स्युचाटार, बालाजुलगायत क्षेत्रमा बेलुकाको समयमा दुई दिनदेखि

पाल्पामा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु, दुई घाइते

पाल्पा – यहाँको रामपुर नगरपालिका–८ स्थित कालीगण्डकी करिडोर सडक खण्डअन्तर्गत

प्रचण्डले भने : रुकुमपूर्वबाट निर्वाचन लड्ने निश्चित भइसकेको छ

रुकुमपश्चिम – नेपाली कम्युनिष्ट पार्टी (नेकपा)का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले

एकता तोडिएसँगै उनेपाको अध्यक्ष बने घिसिङ

काठमाडौं – उज्यालो नेपाल पार्टी (उनेपा) को केन्द्रीय समिति बैठकले