उपत्यकामा वायु प्रदूषण बढ्दै, अत्यावश्यक कामबाहेक घरबाहिर ननिस्कन मन्त्रालयको आग्रह « Khabarhub

उपत्यकामा वायु प्रदूषण बढ्दै, अत्यावश्यक कामबाहेक घरबाहिर ननिस्कन मन्त्रालयको आग्रह


२६ फाल्गुन २०८२, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


60
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– पछिल्लो समय काठमाडौं उपत्यकासहित देशका प्रमुख सहरमा वायु प्रदूषण अत्यधिक बढेसँगै स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले विशेष सतर्कता अपनाउन आमनागरिकलाई आग्रह गरेको छ। 

मन्त्रालयले वायु प्रदूषणका कारण मानव स्वास्थ्यमा गम्भीर असर पर्न सक्ने भन्दै अत्यावश्यक कामबाहेक घरबाहिर ननिस्कन अपिल गरेको हो। मन्त्रालयका प्रवक्ता डा. प्रकाश बुढाथोकीका अनुसार, काठमाडौं, पोखरा, विराटनगरलगायत तराईका विभिन्न क्षेत्रको हावामा हानिकारक पर्टिकुलेट म्याटर (पीएम २.५) को मात्रा निकै बढेको छ ।

श्वासप्रश्वास र छालाका माध्यमबाट शरीरभित्र पस्ने यी सूक्ष्म र हानिकारक कणले मानव स्वास्थ्यमा गम्भीर जोखिम निम्त्याउने उनले बताए ।

प्रदूषणबाट ज्येष्ठ नागरिक, गर्भवती महिला, पाँच वर्षमुनिका बालबालिका र दीर्घरोगी उच्च जोखिममा रहेकाले उनीहरूले विशेष सावधानी अपनाउनुपर्ने मन्त्रालयले जनाएको छ ।

‘यसले सामान्य आँखा दुख्ने, पाक्ने र दृष्टिमै नोक्सान पुर्‍याउनेदेखि लिएर मुटु, मिर्गौला, श्वासप्रश्वाससम्बन्धी गम्भीर रोग र क्यान्सर समेत गराउन सक्छ,’ प्रवक्ता डा.बुढाथोकीले भने ।

बिहान र बेलुका बाहिर ननिस्कन सुझाव

प्रदूषणबाट जोगिन विशेष गरी बिहान र बेलुकाको समयमा घरबाहिर ननिस्कन मन्त्रालयले सुझाव दिएको छ । बिहान र साँझको समयमा हानिकारक कीटाणु र कण वायुमण्डलको तल्लो तहमा जम्मा हुने भएकाले उक्त समयमा मर्निङ वाक वा इभिनिङ वाकमा ननिस्कन आग्रह गरिएको हो ।

बाहिर निस्कनैपर्ने अवस्थामा अनिवार्य रूपमा मास्कको प्रयोग गर्न, आँखा जोगाउन चस्मा लगाउन र छालालाई प्रदूषणबाट बचाउन पूरै शरीर छोपिने गरी कपडा तथा टोपी लगाउन मन्त्रालयले सुझाएको छ । 

समन्वय गर्दै स्वास्थ्य मन्त्रालय

वायु प्रदूषण न्यूनीकरणका निम्ति स्वास्थ्य मन्त्रालयले अरू सरोकारवाला मन्त्रालयसँग पनि समन्वय र पैरवी गरिरहेको जनाएको छ । प्रवक्ता बुढाथोकीका अनुसार, उद्योग, भौतिक पूर्वाधार, कृषि तथा वन र वातावरण मन्त्रालयसँग प्रदूषण कम गर्ने विषयमा निरन्तर छलफल भइरहेको छ ।

सवारीसाधनको धुवाँ, कलकारखाना, कृषिमा विषादीको प्रयोग, जथाभावी फोहोर र प्लास्टिक जलाउने कार्य तथा वन डढेलो नियन्त्रण नभएसम्म प्रदूषण निर्मूल नहुने भन्दै मन्त्रालयले यस्ता कार्य रोक्न सबै पक्षलाई जिम्मेवार बन्न आग्रह गरेको छ ।

तत्कालका निम्ति भने प्रदूषणको प्रत्यक्ष असरबाट बच्न शरीरलाई सुरक्षित राख्नु नै उत्तम विकल्प भएको मन्त्रालयको भनाइ छ ।

प्रकाशित मिति : २६ फाल्गुन २०८२, मंगलबार  १२ : २९ बजे

अफगानिस्तानमा घरको छत खस्दा सात जनाको मृत्यु

एजेन्सी– पूर्वी अफगानिस्तानको नङ्गरहार प्रान्तमा घरको छत खसेर भएको दुर्घटनामा

यात्रुवाहकको १६.७१ प्रतिशत, मालवाहकको २१.६८ प्रतिशतसम्म बढ्यो भाडा

काठमाडौं– सरकारले सार्वजनिक यातायात तथा ढुवानी साधानको भाडा वृद्धि गर्ने

देउवा-ओलीविरुद्ध सरकारको एक्सन, अपराधिक र आर्थिक मुद्दाका दोषीमाथि निगरानी बढाइँदै

काठमाडौं– जेन-जी आन्दोलनपछि देशको सुरक्षा र राजनीतिक अवस्था नयाँ मोडमा

सांसद अधिकारीको सुझाव : सरकारले नागरिकमा गर्व र अपनत्व जगाउन काम गरोस्

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की सांसद लिमा अधिकारीले नागरिकले

सरकारलाई ओरेकले भन्यो- दुर्गम क्षेत्रमा सुरक्षित मातृत्व सुनिश्चित गरौँ

काठमाडौं– महिला पुर्नस्थापना केन्द्र (ओरेक) ले नेपालमा महिलाहरूको सुरक्षित मातृत्व