प्रतिनिधिसभा निर्वाचनमा ६ जना चिकित्सक तथा स्वास्थ्यकर्मी निर्वाचित भएका छन् । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाट निर्वाचनमा होमिएका डा. लेखजंग थापा, डा. तोसिमा कार्की, आनन्दबहादुर चन्द, आशा झा, डा. दिपककुमार साह र डा. शम्भुकुमार यादव चुनिएका छन् ।
स्वास्थ्य क्षेत्रमा लामो समय सेवा दिँदै आएका यी स्वास्थ्यकर्मीहरुको संसद प्रवेशले अब स्वास्थ्य नीति, ग्रामीण स्वास्थ्य सुधार, र जनताको स्वास्थ्य सेवा प्रवद्र्धनमा महत्वपूर्ण भूमिका खेल्ने अपेक्षा गरिएको छ ।
डा. लेखजंग थापा
रुपन्देही क्षेत्र नं ३ बाट निर्वाचित डा. लेखजंग थापा न्युरोलोजिस्ट डाक्टर हुन् । नेपाली न्युरो साइन्सको विकास र बिरामी उपचारमा १६ वर्ष बढी समय बिताएका उनी प्रतिभावान चिकित्सकका रुपमा चिनिन्छन् ।
पोखराको मणिपाल कलेज अफ मेडिकल साइन्सेजबाट एमबीबीएस, वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानबाट इन्टरनल मेडिसिनमा एमडी र कलेज अफ मेडिकल साइन्सेज चितवनबाट डीएम न्यूरोलोजी अध्ययन गरेका डा. थापाले अमेरिकाको प्रसिद्ध हार्वर्ड विश्वविद्यालयको ‘सेफ्टी क्वालिटी लिडरसीप एण्ड इन्फरमेटिभ’मा ग्राजुएसन गरेका छन् ।
एक विद्वान चिकित्सकको छबि बनाएका डा.थापा अनुसन्धानकर्मी समेत हुन् । उनका ८० वटा बढी अनुसन्धानात्मक पेपरहरु राष्ट्रिय तथा अन्तर्राष्ट्रिय जर्नलहरुमा प्रकाशित छन् ।
नेपाल स्ट्रोक एशोसिएसनका संस्थापक अध्यक्षसमेत रहेका डा.थापाले स्ट्रोकको उपचार, निदान र सचेतनामा उल्लेख्य योगदान पुर्याएका छन् । थापा निकटतम उम्मेदवार भन्दा ५० हजार बढी मत सहित विजयी भएका हुन् । प्रतिस्पर्धी नेपाली कांग्रेसका सुशील गुरुङले ८ हजार ४ सय ३५ मत ल्याउँदा थापाले ५८ हजार ८ सय १४ मत पाएका छन् ।
डा. तोसिमा कार्की
ललितपुर क्षेत्र नम्बर–३ बाट निर्वाचित डा. तोसिमा कार्की पेसाले जनरल सर्जन हुन् । काठमाडौं विश्वविद्यालयबाट जनरल सर्जरीमा मास्टर्स गरेकी उनी नेपाल मेडिकल काउन्सिलको निर्वाचित केन्द्रिय सदस्य समेत भएर काम गरिसकेकी छन् ।
कार्की महिलामुखी स्वास्थ्य परियोजनाहरूमा अनुभवी चिकित्सक पनि हुन् । उनले मातृ–शिशु स्वास्थ्य सुधार, स्वास्थ्य शिक्षा र महिलाहरूको सशक्तिकरणका लागि विभिन्न परियोजनाहरू नेतृत्व गरिसकेकी छिन् ।
उनी ४३ हजार ९६ मतका साथ विजयी भएकी हुन् । प्रतिद्वन्द्वी कांग्रेसका उम्मेदवार जितेन्द्रकुमार श्रेष्ठले ९ हजार ४५ मत प्राप्त गरे भने नेकपाका राजकाजी महर्जनले ६ हजार २२ मत प्राप्त गरेका छन् ।
०७९ को निर्वाचनमा प्रतिस्पर्धी नेकपा (माओवादी केन्द्र) की पम्फा भुसाललाई कार्कीले पराजित गरेकी थिइन् । उनले ३१ हजार १०६ मतसहित विजय प्राप्त गर्दा पम्फाले ८ हजार ७६९ मत प्राप्त गरेकी थिइन् ।
कार्कीले यसअघि १९ दिन स्वास्थ्य राज्यमन्त्रीको हैसियतमा काम गरेकी थिइन् ।
डा. शम्भुकुमार यादव
चिकित्सा पेसा छोडेर निर्वाचनमा होमिएका डा. शम्भुकुमार यादव सिरहा निर्वाचन क्षेत्र नम्बर ३ बाट ३२ हजार २४९ मत ल्याएर विजयी भए ।
४० वर्षीय डा. यादव स्थानीय स्तरमा स्वास्थ्य सेवा र समाजिक उत्तरदायित्व दुवै क्षेत्रमा परिचित छन् । बाल्यकालदेखि नै पढाइप्रति रुचि राख्ने उनले विद्यालय तहको शिक्षा सिरहा नगरपालिका–१६ मा रहेको लालजी–शकुन्तला माध्यमिक विद्यालयबाट पूरा गरेका थिए ।
विद्यालय शिक्षा पूरा गरेपछि चिकित्सा क्षेत्रमा भविष्य बनाउने लक्ष्यसहित उच्च अध्ययनका लागि भारतको जयनगर हुँदै पटना पुगेका उनले २०६७ सालमा एमबीबीएस उत्तीर्ण गरेका थिए ।
चिकित्सा शिक्षाको कठिन यात्रापछि नेपाल फर्किएका डा. यादवले काठमाडौंका विभिन्न अस्पतालहरुमा सेवा दिँदै जन्मभूमि सिरहा फर्किएका थिए । त्यसपछि यादव सिरहाको मिर्चैया नगरपालिका–७ मा रहेको मिर्चैया हेल्थ पोलिक्लिनिकमार्फत सेवा दिँदै आएका थिए ।
डा. दीपककुमार साह
नेपाल दृष्टि विशेषज्ञ संघका अध्यक्ष तथा दृष्टिरोग विशेषज्ञ डा. दीपक कुमार साह ठूलो मतान्तरसहित विजयी भए । उनले जनता समाजवादी पार्टी नेपाल उम्मेदवार एवम् १९ पटकसम्म मन्त्री बनेका अनुभवी नेता शरतसिंह भण्डारीलाई पराजित गरेका हुन् ।
साहले ३२ हजार ७२२ मत ल्याउँदा उनका निकटतम प्रतिद्वन्द्वी भण्डारीले १० हजार १९८ मत मात्रै ल्याएका छन् । महोत्तरीमा जन्मिएका ३३ वर्षीय साहले जनस्वास्थ्य विषयमा स्नातकोत्तरसम्मको अध्ययन पूरा गरेका छन् ।
उनले विश्वकै प्रतिष्ठित शिक्षण संस्था लन्डन स्कुल अफ हाइजिन एन्ड ट्रपिकल मेडिसिन र इन्स्टिच्युट अफ मेडिसिनबाट शिक्षा हासिल गरेका छन् । यसभन्दा अगाडि उनी त्रिवि शिक्षण अस्पतालमा कार्यरत थिए ।
आनन्दबहादुर चन्द
जनस्वास्थ्यविद् आनन्दबहादुर चन्द कैलाली निर्वाचन क्षेत्र नं. ५ बाट विजयी भएका छन् । रास्वपाका उम्मेदवार चन्द ३१ हजार ९ सय ५३ मत प्राप्त गर्दै चन्द विजयी भएका हुन् । उनका निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसका उम्मेदवार नरनारायण शाहले ११ हजार ९ सय ५८ मत प्राप्त गरेका छन् ।
सुदूरपश्चिमको बैतडीमा जन्मिएका चन्दले त्रिभुवन विश्वविद्यालयअन्तर्गत पाटन बहुमुखी क्याम्पसमा १७ वर्ष बढी समय उपप्राध्यापकका रूपमा काम गरेका छन् । उनी लामो समयदेखि शिक्षा, विज्ञान, सुशासन र जनस्वास्थ्यका क्षेत्रको अभियानमा सक्रिय थिए ।
आशा झा
मोरङ क्षेत्र नम्बर ५ बाट राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की उम्मेदवार आशा झाले प्रतिनिधिसभा सदस्यमा विजय हासिल गर्दै स्वास्थ्य क्षेत्रबाट राजनीतिक नेतृत्वतर्फको नयाँ यात्रा सुरु गरेकी हुन् ।
झाले ३१ हजार ४३४ मत प्राप्त गर्दै स्पष्ट बहुमतका साथ निर्वाचन जितेकी हुन् । उनका निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसका फुलकुमार लालवानीले ९ हजार ४१५ मत प्राप्त गरेका छन् ।
यससँगै झाले करिब २१ हजार मतको फराकिलो अन्तरले जित निकाल्दै क्षेत्रका स्थापित राजनीतिक दलका उम्मेदवारहरूलाई पछि पारेकी छन् ।
१६ वर्षसम्म स्वास्थ्य स्वयंसेविकाका रूपमा काम गर्दै उनले गाउँ–बस्तीमा पुगेर स्वास्थ्य सचेतना फैलाउने, गर्भवती महिलाको निगरानी गर्ने, बालबालिकाको स्वास्थ्य अवस्थाबारे जानकारी लिने र आधारभूत स्वास्थ्य सेवा नपुगेका समुदायलाई सहयोग गर्ने काम गर्दै आएकी थिइन् ।













प्रतिक्रिया