गण्डकी – तीनपटक ठेक्का म्याद थप्दा पनि पोखरामा विद्युतीय तार भूमिगत गर्ने आयोजनाको प्रगति न्यून देखिएको छ ।
हालसम्म उक्त आयोजनाको भौतिक प्रगति ६७ प्रतिशत पुगेको नेपाल विद्युत् प्राधिकरणको पोखरा–भरतपुर वितरण प्रणाली सुदृढीकरण आयोजनाले जनाएको छ । पछिल्लोपटक गत सेप्टेम्बरमा आयोजनाको ठेक्का म्याद थप गरिएको थियो । आगामी जुन ३० सम्ममा म्याद थप भए पनि उक्त अवधिमा पनि आयोजनाको काम पूरा नहुने आयोजनाका प्रमुख इन्जिनियर आनन्द सुवेदीले बताए ।
“बर्सातका बेला निर्माणको काम प्रभावित हुन्छ, आगामी हिउँदसम्म आयोजनाको अवधि लम्बिने अवस्था छ”, उनले भने, “पछिल्लो समय कामको गति केही बढे पनि निर्धारित समयमा आयोजनाको काम सम्पन्न गर्न कठिन देखिएको छ ।”
यसअघि आगामी चैतभित्र काम सक्ने लक्ष्य आयोजना व्यवस्थापनले लिएको थियो । सुरुको चरणमा निर्माण कम्पनीले काममा ढिलासुस्ती गरेका कारण पटकपटक ठेक्का म्याद थप गर्नुपर्ने अवस्था आएको आयोजनाका प्रमुख इन्जिनियर सुवेदीले बताए ।
विसं २०७८ माघमा दुई वर्षे ठेक्कामा गएको उक्त आयोजनाको काम भने विसं २०८० वैशाखदेखि सुरु भएको थियो । त्यसयता ठेक्काको म्याद तीन पटकसम्म थप भइसकेको छ । भारतीय कम्पनी टाटा प्रोजेक्ट्सले पोखरा र भरतपुरमा तार बिछ्याउन रु दुई अर्ब ५० करोड ३३ लाखमा ठेक्का लिएको थियो । पोखरामा तार भूमिगत र वितरण प्रणाली सुदृढीकरणमा रु एक अर्ब ३० करोड खर्च हुने जनाइएको छ ।
हाल पोखरा अन्तररशष्ट्रिय विमानस्थल प्रवेशद्वारदेखि पृथ्वीचोकको सेती पुलसम्म तार बिछ्याएर घरघरमा विद्युत् वितरणसमेत भइसकेको इन्जिनियर सुवेदीले बताए । अहिले सिर्जनाचोकदेखि सभागृह, पृथ्वीचोक, जिरो किलोमिटर क्षेत्र र लेकसाइडको जरेबर क्षेत्रमा तार बिछ्याउने काम भइरहेको उनको भनाइ छ ।
आयोजनाअन्तर्गत पोखरा अन्तरराष्ट्रिय विमानस्थलको प्रवेशमार्गदेखि कुँडहरचोक, अमरसिंहचोक, पृथ्वीचोक हुँदै जिरो किमीसम्मको मुख्य राजमार्ग, सिर्जनाचोक, राष्ट्रबैंकचोक, लेकसाइड, सभागृहचोक, न्यूरोड, चिप्लेढुङ्गालगायत क्षेत्रमा तार भूमिगत गरिने भएको हो ।
मुख्यदेखि सहायक सडकसम्मै तार बिछ्याइने आयोजना कार्यालयले जनाएको छ । विद्युत् लाइनसँगै टेलिफोन, केबल र इन्टरनेटका तारका लागि अप्टिकल फाइबर पनि बिच्छाइनेछ ।
लेकसाइडको गल्ली नं १५, १६ र १७ लगायत क्षेत्रमा तार बिछ्याउने काम भइसकेको छ । न्यूरोड र चिप्लेढुङ्गा क्षेत्रमा काम सुरु हुन बाँकी रहेको आयोजनाका प्रमुख इन्जिनियर सुवेदीले बताए ।
आयोजनाको इन्जिनियरिङ डिजाइन र उपकरण खरिदमा समय लागेकाले काम ढिलो सुरु भए पनि पछिल्लो समय भने निर्माण कम्पनीको लापार्वाहीका कारण आयोजनाको गति सुस्त हुँदै आएको हो ।
पोखरालाई विद्युतीय तारमुक्त बनाउन प्राधिकरणले वितरण प्रणाली सुदृढीकरण आयोजना सञ्चालन गरेको हो । पर्यटकीय सहर पोखराका मुख्य सहरी क्षेत्र र पर्यटकको बढी आउजाउ हुने ठाउँको तारलाई जमिनमुनि बिछ्याउन लागिएको हो ।
जमिनमुनि तार बिछ्याएपछि ग्राहकको घरघरमा बिजुली पु¥याउने काम पनि प्राधिकरण नै गरिरहेको छ । प्राधिकरणले सडकमा न्यून क्षति हुने गरी तार बिछ्याउने प्रविधि प्रयोग गर्दै आएको छ ।
‘होरिजेन्टल डाइरेक्सनल ड्रिलिङ’ प्रविधिबाट सडक खनेर तार भूमिगत गरिएको हो । तार भूमिगत गरेपछि ठाउँ–ठाउँमा ट्रान्सफर्मर राखेर ग्राहकका घरघरमा बिजुली पुर्याइने प्राधिकरणले जनाएको छ ।
विद्युत् लाइन जमिनमुनि बिछ्याउँदा अव्यवस्थित तार, पोलबाट पोखराले मुक्ति पाउनुका साथै सहरी सौन्दर्य बढ्ने विश्वास लिइएको छ । भूमिगत तार बढी क्षमतायुक्त र भरपर्दो हुने हुँदा ग्राहकको बढ्दो माग र बिजुलीको चाप थेग्न भूमिगत प्रणाली उपयुक्त हुने प्राधिकरणको भनाइ छ ।













प्रतिक्रिया