बैतडी – आगामी वैशाख २ गतेदेखि सुरु हुने आर्थिक गणनाका लागि बैतडीमा २० जना गणक तथा सुपरीवेक्षक खटिने भएका छन् । दोस्रो आर्थिक गणनाका लागि यहाँ तीन सुपरीवेक्षक र १७ जना गणक खटिने भएका हुन्।
जिल्ला आर्थिक गणना अधिकारी धर्मानन्द गिरीले जिल्लाका १० वटै स्थानीय तहमा खटिने गणक तथा सुपरीवक्षेक छनोट कार्य सकिएको बताए । छनोट भएकाहरूका लागि पाँचदिने तालिम चैत २६ गतेदेखि सञ्चालन भइरहेको उनले जानकारी दिए।
तालिमले गणक र सुपरीवेक्षकलाई आर्थिक तथ्याङ्क सङ्कलन कार्यमा थप दक्ष बनाउँदै गणनालाई प्रभावकारी र व्यवस्थित बनाउन सहयोग पुग्ने गिरीले विश्वास व्यक्त गरे । उनका अनुसार ‘अर्थतन्त्र मापनका लागि आर्थिक गणना’ नाराका साथ वैशाख २ गतेदेखि असार ७ गतेसम्म दोस्रो आर्थिक गणना सुरु हुँदैछ।
गणनामा आर्थिक विवरणदेखि उद्योगहरूबाट भएको उत्पादनसम्मको विवरण, नेपालमा उद्योगको अवस्था, रोजगारी सृजनाको अवस्था सङ्कलन गरिने कार्यालयले जनाएको छ । राष्ट्रिय आर्थिक गणनाबाट उद्योग, व्यापार, व्यवसाय, सेवा क्षेत्र, सहकारी तथा निजी सार्वजनिक संस्थाहरूको सङ्ख्या, प्रकार, लगानी, रोजगारी, उत्पादन र सेवा प्रवाहसम्बन्धी विवरण सङ्कलन गरिने जिल्ला आर्थिक गणना अधिकारी गिरीले बताए।













प्रतिक्रिया