देउवाले थला पारेका भ्रातृ संगठनलाई गगनले झन् गिजोले « Khabarhub

देउवाले थला पारेका भ्रातृ संगठनलाई गगनले झन् गिजोले



काठमाडौं- नेपाली कांग्रेसको गत सोमबार बसेको केन्द्रीय कार्यसम्पादन समितिको बैठकले पाँचवटा भ्रातृसंगठन विघटन गर्‍यो । बैठकले म्याद थप्ने निर्णय नगरेपछि ती संगठनका केन्द्रीय कार्यसमिति स्वतः विघटनमा परे ।

यी पाँचसहित कांग्रेसका १३ भ्रातृ संगठन छन । तीमध्ये लामो समयदेखि महाधिवेशन गर्न नसकेका नेपाल विद्यार्थी संघ (नेविसंघ), तरुण दल, महिला संघ, दलित र लोकतान्त्रिक खेलकुद संघका कार्यसमिति विघटन भएका हुन् ।

यीमध्ये नेपाल दलित संघ र तरुण दलका अध्यक्षले तोकिएको जिम्मेवारी पूरा गर्न नसकेको स्वीकार गर्दै राजीनामा दिइसकेका छन् । अन्यको हकमा कार्यसम्पादन समितिले समय थप नगरेको हो ।

अब यी संघका नयाँ नेतृत्व स्वयम् सभापति गगनकुमार थापाले चयन गर्नेछन । जुन पार्टी विधानले नै सभापतिलाई दिएको अधिकार हो । त्यसअनुरुप उनले २५ वैशाखमा मीनाकुमारी खरेललाई महिला संघको जिम्मेवारी दिइसकेका छन् ।

१५ फागुन २०८३ भित्र केन्द्रीय महाधिवेशन गर्ने कार्यादेश उनले पाएकी छन । फागुन २१ को चुनावमा खरेल राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि रामिछानेसँग चितवन–२ बाट पराजित बनेकी थिइन् ।

पार्टीप्रतिको देन तथा निर्वाचनको समयमा देखाएको कार्यकुशलतालाई मुख्य आधार मानेर उनलाई उक्त जिम्मेवारी दिइएको सभापति थापानिकट एक नेता बताउँछन् ।

कांग्रेसले भातृ संगठनलाई महाधिवेशनका लागि चैत मसान्तसम्मको समयावधि दिएको थियो । तर, तोकिएको समयमा जिम्मेवारी पूरा गर्न नसक्दा कार्यकाल सकिएसँगै नेतृत्व परिवर्तको बाटो खुला भएको हो ।

‘नयाँ कार्यसमितिले कति समयमा के–के काम गर्ने भन्ने व्यवस्था गरेअनुरुप टीओआर तोकेर महाधिवेशन सुनिश्चित हुनेगरी नियुक्ति गर्नुपर्छ,’ कांग्रेस नेता नैनसिंह महरले खबरहबलाई बताए ।

‘तरुणका पूर्वअध्यक्ष विद्वान गुरुङले आफूले काम गर्न नसकेको स्वीकार गरेरै राजीनामा दिनुभएको छ । महाधिवेशन गर्ने समय पनि सकिएको हुँदा उहाँले राजीनामा दिएको हो,’ उनले भने ।

पार्टी नेतृत्वले भ्रातृ संगठनको नेता चयनमा पार्टी र सम्बन्धित संस्थाको विधान मिच्न खोचेको लगायत सूचना सुन्नमा आएको उनले बताए ।

‘उहाँलाई जसरी सर्वोच्चले वैधानिक रहेको फैसला सुनायो । त्यसरी नै उहाँले पनि तरुण दलको विधानअनुरुप नै निर्णय गर्नुहुनेछ,’ उनले विश्वास व्यक्त गरे ।

तरुण दलको विधानअनुरुप एक कार्यकाल जिल्ला/प्रदेश अध्यक्ष हुनुपर्ने व्यवस्था छ । यस्तै, केन्द्रीय सदस्य वा दश वर्षे अनिवार्य पूर्णकालीन सदस्य भएकालाई दरुण दलको अध्यक्ष चयन गर्न सकिने विधानमा उल्लेख छ ।

यस्तोमा हालकै कार्यसमितिलाई निरन्तरता दिएर महाधिवेशन गरिदिएको भए अझ राम्रो हुनेमा त्यसो हुन नसकेको महरले बताए ।


‘निवर्तमान अध्यक्ष र पार्टी सभापतिज्यूसँग यो विषयमा कुरा भएर उहाँहरुबीचमा समझदारी भकै कारण विद्वानले राजीनामा दिनुभयो,’ उनले भने ।

सभापति थापाले व्यक्तिभन्दा योग्यतालाई प्राथमिकता दिएर नेतृत्व चयन गर्नुपर्ने उनले सुझाए ।

भ्रातृ संगठन विघटनबारे नेविसंघका अध्यक्ष दुजाङ शेर्पाले फरक मत राखेका छन । उनले २१ वैशाखमै आफ्नो कार्यकाल सकिएसँगै राजीनामा सार्वजनिक गरेका थिए । त्यहीक्रममा खबरहबसँगको कुराकानीमा उनले पार्टी नेतृत्वकै ढिलासुस्तीका कारण तोकिएको समयमा महाधिवेशन गर्न नसकेको बताए ।

‘मैले १२ औँ महाधिवेशन गराएर नयाँ नेतृत्व दिनुपर्ने थियो सकिनँ । त्यो मेरो कारणले मात्रै भएको होइन,’ उनले थपे,

विद्यार्थी संगठनलाई बलियो बनाउन नेविसंघले ६ चैतमा सिनेट बैठकबाट कार्यगत स्वायत्तताका लागि पार्टनरसिप मोडलबाट काम गर्ने मागसहतिको विधान प्रस्ताव केन्द्रमा पठाएको थियो । तर पार्टी केन्द्रीय कार्यसमितिले हालसम्म निर्णय नदिएको उनको गुनासो छ ।

‘पार्टी नेतृत्वले साँच्चिकै विद्यार्थी संगठन बलियो बनाउन चाहेको भए त्यो प्रस्ताव पारित गथ्र्यो । नेतृत्वले उक्त निर्णय पारित गरेर विधानमात्रै दिएको भए डेढ महिनाभित्र अधिवेशन गर्न सक्थ्यौँ,’ उनले थपे, ‘पार्टीले संगठनको स्वायत्तताको निर्णय पारित गरिदिएको भए संघसंस्थासँग सहयोग मागेरै भए पनि अधिवेशन गर्न सक्थ्यौँ । बारम्बार कुरा राख्दा पनि पार्टीले सुनेन ।’

सभापति थापाले अन्य भ्रातृ संगठन र नेविसंघलाई समान रुपमा लिएकोमा उनले असन्तुष्टि व्यक्त गरे । ‘जसरी सरकारले कर्मचारी र विद्यार्थी संगठनलाई समान निर्णय गर्‍यो, त्यसरी नै अन्य भ्रातृ संगठन र नेविसंघलाई सभापतिले उस्तै गर्नुभयो,’ उनले भने ।

पार्टीले समयमै विधान दिन नसकेको प्रष्ट हुँदाहुँदै पनि समय नदिनु अन्यायपूर्ण भएको उनको भनाइ छ ।

‘हिजो सभापति शेरबहादुर देउवाले फरक विचार समूहका रञ्जित कर्णलाई बोलाएर सहयोग गर्दा नैनसिंह महरजी कमिटीमा आउनुभएको थियो । अहिलेको नेतृत्व पार्टीलाई रिभाइभ गर्न भन्दा गुट बलियो बनाउन लागेको जस्तो लाग्यो,’ उनले गुनासो पोखे ।

सभापति थापाले विद्यार्थी मुभमेन्टलाई बलियो बनाउने भन्दा आफुअनुकूल समिति बनाएर नेविसंघमा खिया लगाउने अवस्था ल्याउन खोजेको उनको आरोप छ ।

‘महाधिवेशनमा लगेर भन्दा आफूअनुकूल समिति बनाउने काम भएको छ । विद्यार्थी संगठन यसै पनि थलिएको छ, त्यसमा अझ खिया लगाउने काम अहिले भएको छ,’ उनले भने । नेताहरूले तत्कालीन सभापति शेरबहादुर देउवाले टिके प्रथा चलाएर थला पारेका भ्रातृसंगठनलाई गगनले झन् गिजोलेको टिप्पणी गरेका छन् ।

बदलिएको कांग्रेस पुरानो भन्दा अनुदार भएको उनले आरोप लगाए । ‘नेविसंघलाई दुई धार बन्न र बनाउन म लाग्दिनँ, साथीहरुलाई लाग्न पनि दिन्न। तर पार्टी नेतृत्व यतिबेला लचिलो भएर लाग्नुपर्नेछ । गाडी छुटिसक्यो, आउने भए आऊ, नआउने भए नआऊ भन्ने कुरा सभापतिले बोल्ने होइन,’ उनले असन्तुष्टि व्यक्त गरे ।

भ्रातृसंगठनको अधिवेशन गराउनमात्रै सकेको भए पार्टी एकताका लागि यो कोशेढुंगा बन्न सक्ने अवस्थामा सभापति थापाले गलत निर्णय गरेको उनले बताएका छन् ।

‘उहाँले एकता चाहेको भए विधान दिएर देशभरका साथीहरूलाई जोड्ने योजना ल्याउनुहुन्थ्यो, भ्रातृ संस्थाको अधिवेशन गरेको भए एकहिसाबले पार्टी अगाडि बढ्थ्यो,’ यसो हुन नसक्नु भनेको पार्टी नेतृत्व अपरिपक्व र अदूरदर्शी भएको उनले भने ।

पार्टी सभापति थापालाई उनले आफ्नो पदीय ओहोदा समयमै सम्झन पनि सुझाए । ‘पार्टीले सरकराको असंवैधानिक निर्णयमा सघाइरहेको हो कि,’ भन्नेमा शंका रहेको उनले आरोप लगाए ।

सरकारले विरोधीको आवाज दबाउन विद्यार्थी संगठन खारेजीको निर्णय ल्याएको उनले ठानेका छन् ।

‘सरकारले विरोधी स्वर थुन्न सबैभन्दा पहिलो उपाय विद्यार्थी संगठन खारेज गर्नु हो, भोलि सरकार भ्रष्ट र तानााशही बन्दै जाँदा विरोध विद्यार्थी नै उत्रिने हुन् । प्रधानमन्त्री वालेन्द्र मेयर हुँदादेखि आजसम्म विद्यार्थी आन्दोलनले बनाएकै बाटोबाट आउनुभएको हो, अहिले त्यही बाटो कुल्चिने काम गर्नुभएको छ,’ सरकारलाई तुरुन्त निर्णय सच्याउन सुझाव दिँदै उनले भने, ‘कर्मचारीले सरकारको तलब भत्ता खान्छन् । तर विद्यार्थी स्वतन्त्र संगठन हो । विदेशी संस्थाको प्रचार गर्ने सरकारले विद्यार्थी संगठन फाल्न खोज्नु सरकारको लागि प्रत्युत्पादक हुन सक्छ,’ चेतावनीसहति उनले भने ।

यससँगै उनले विद्यार्थी संगठनमा पनि तकाल सुधारको खाँचो रहेको औल्याए । ‘प्रधानमन्त्रीले गलत गर्दैमा देश फाल्न मिल्छ ? विद्यर्थी संगठनमा पनि अपारदर्शिता, सार्वजनिक सम्पत्ति हिनामिना लगायत समस्या छन । त्यो काम कुनै पात्रले गरे संगठनले गरेन । पात्रलाई कारबाही गर्न हाम्रो सहयोग हुन्छ, खारेजीभन्दा सुधारमा सरकार लाग्नुपर्छ,’ उनले बताए ।

संगठन सुधारका लागि विद्यार्थी संगठनले पार्टीसँग वैचारिक निकटता राखेपनि ‘यसमेन’ बन्न नहुने उनको सुझाब छ ।

‘विद्यार्थीसंगठन भ्रातृ संगठन नभएर पार्टनरसिप मोडलमा जानुपर्छ । विद्यार्थी संगठनले पार्टीको काम गर्नैपर्ने हुन्छ, गराइन्छ पनि अब त्यसलाई तोड्नुपर्छ,’ उनले भने ।

यस्तै, आर्थिक पारदर्शिता कायम गर्दै विद्यार्थी आन्दोलनलाई शान्पिूर्ण बनाउन लाग्नुपर्ने उनको विचार छ । त्यही अनुरुप गरिएका निर्णय पार्टीबाट पारित हुनुपर्ने माग उनले गरेका छन् ।

प्रकाशित मिति : २७ बैशाख २०८३, आइतबार  ७ : ५३ बजे

वडा र पालिकाको अधिवेशन दुई चरणमा गर्ने रास्वपाको निर्णय

काठमाडौं । रास्वपाले वडा र पालिका तहको अधिवेशन दुई चरणमा

रास्वपाले विघटन गर्यो बारा जिल्ला समिति

काठमाडौं । रास्वपाले बारा जिल्ला समिति विघटन गर्ने निर्णय गरेको

पार्टी हितविपरीत लागेका रास्वपाका १५ जनाको सदस्यता खारेज

काठमाडौं । रास्वपाले पार्टी हित विपरीत कार्य गरेका १५ जना

रास्वपाले डाक्यो केन्द्रीय समिति बैठक

काठमाडौं । रास्वपाले केन्द्रीय समिति बैठक बोलाएको छ । आइतबार

जनप्रतिनिधिका काम प्रभावकारी बनाउँदै सरकारलाई सशक्त खबरदारी गर्ने कांग्रेसको संकल्प

काठमाडौं । नेपाली कांग्रेसले जनप्रतिनिधिका कामलाई प्रभावकारी बनाउँदै सरकारलाई सशक्ति