‘जहाँ तीन विद्यार्थीका कारण विद्यालय छ’ « Khabarhub

‘जहाँ तीन विद्यार्थीका कारण विद्यालय छ’


२७ जेठ २०८३, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

म्याग्दी– म्याग्दीको अन्नपूर्ण गाउँपालिका– ४ भालेबासमा रहेको धवलागिरि आधारभूत विद्यालयमा विद्यार्थी र शिक्षक–कर्मचारीको सङ्ख्या बराबर रहेको छ ।

कक्षा ३ सम्म पठनपाठन हुने उक्त विद्यालयको कक्षा १ र २ मा विद्यार्थी सङ्ख्या शून्य छ । २०४० सालमा स्थापना भएको यस विद्यालयको बालकक्षामा एक जना र कक्षा ३ मा दुई जना विद्यार्थी छन् ।

यहाँ शिक्षक—कर्मचारीको सङ्ख्या पनि तीन नै रहेको छ । स्थायी दरबन्दीका शिक्षक शान्ति राम्जाली प्रधानाध्यापक, बालशिक्षा सहजकर्ता शिखा बोहोरा क्षेत्री र सुर्जना रोका सहयोगी छन् ।

यहाँ रहेका विद्यार्थीमध्ये जेसिका खड्का यसपालि बालकक्षामा भर्ना भएकी हुन् भने नेलसन रोका र श्रीसा खड्का कक्षा २ उत्तीर्ण भएर कक्षा ३ मा भर्ना भएका छन् ।

प्रधानाध्यापक राम्जालीले बसाइँसराइ बढ्दै र जन्मदर घट्दै गएकाले त्यसको असर विद्यालयमा देखिएको बताए । ‘विद्यालयको सेवा क्षेत्रमा पर्ने भालेबासमा १५ र कोप्चेपानीमा १० घरपरिवारको बसोबास छ’, उनले भने, ‘२०७२ सालसम्म १५–२० जनासम्म विद्यार्थी थिए । नयाँ बच्चा जन्मने दर घटेको र बसाइँसराइ गरेर अन्यत्र जाने दर बढेकाले यस्तो समस्या भएको हो ।’

यसअघि २०७५ सालमा कोप्चेपानीमा रहेको विद्यालय भवन कालीगण्डकीमा आएको बाढीले बगाएपछि भालेबासमा स्थानान्तरण गरिएको थियो । सुविधायुक्त भवन, शौचालय र बालमैत्री कक्षा भए पनि विद्यार्थी सङ्ख्या न्यून हुँदा विद्यालय सुनसान छ । विद्यार्थी सङ्ख्या कम भएकाले गत वर्ष गाउँपालिकाले एक जना शिक्षकको दरबन्दी कटौती गरेको थियो ।

स्थानीयवासी तुलाराम बुढाले बसाइँसराइकै कारण गाउँ रित्तिँदै गएकाले विद्यार्थी सङ्ख्या पनि कम हुँदै गएको बताए । ‘भालेबास र कोप्चेपानीको छिमेकी गाउँ गाडपार र काभ्रेमा पुग्न बालबालिकालाई करिब एक घण्टा पैदल हिँड्नुपर्छ’, उनले भने, ‘गाउँमा भएका विद्यार्थीलाई शिक्षाको अधिकारबाट वञ्चित हुन नदिन सङ्ख्या कम भए पनि विद्यालय सञ्चालन गर्नुपर्ने बाध्यता छ ।’

अन्नपूर्ण गाउँपालिकाअन्तर्गत रहेका ठाडा, किन्दु, स्वाँत, घराप, चित्रेका आधारभूत विद्यालयमा पनि विद्यार्थी सङ्ख्या न्यून छ । भौगोलिक विकटता र छरिएका बस्तीहरूमा भएका विद्यालयमा विद्यार्थी सङ्ख्या कम भएपछि कक्षा घटुवा, दरबन्दी व्यवस्थापन गर्ने नीति लिएको गाउँपालिकाका अध्यक्ष भारतकुमार पुनले बताए ।

प्रकाशित मिति : २७ जेठ २०८३, बुधबार  ११ : ५८ बजे

निर्यात ठप्प हुँदा भद्रपुर भन्सारको राजस्व लक्ष्य प्रभावित

झापा– भद्रपुर भन्सार कार्यालयले निर्यात ठप्प हुँदा गत आर्थिक वर्षमा

सद्भाव र शान्तिको सन्देश दिँदै सर्लाहीमा र्‍याली

काठमाडौँ– सुनसरीको कप्तानगञ्जमा भएको जातीय हिंसापछि देशका विभिन्न स्थानमा तनाव

गोदावरी मार्बलको खण्डहर स्वरुप (तस्बिर)

काठमाडौँ– उद्योगका याद विस्मृत भएका छैनन् । कुन कुनामा के

सुनसरीमा कर्फ्यु हट्यो, निषेधाज्ञा यथावत

सुनसरी– जिल्ला प्रशासन कार्यालय सुनसरीले यही साउन १२ गतेदेखि जिल्लाका

रुइला र ङुइला नाका खुलेपछि स्थानीय हर्षित

काठमाडौँ– चीनको स्वशासित क्षेत्र सिजाङ (तिब्बत)सँग जोडिएका रुइला र ङुइला