काठमाडौं– रसुवामा गएको विनाशकारी बाढीबाट भएको जनधनको क्षतिप्रति चीनले गहिरो दुःख व्यक्त गर्दै नेपाललाई संकटको समयमा आफू एक्लै नरहेको सन्देश दिएको छ।
चिनियाँ राष्ट्रपति सी चिनफिङ र प्रधानमन्त्री ली छ्याङले बाढीमा ज्यान गुमाएका नेपाली नागरिकप्रति श्रद्धाञ्जली अर्पण गर्दै नेपाल र नेपाली जनताको साथमा चीन रहेको सन्देश दिएका हुन्।
प्रधानमन्त्री राहत कोषका लागि चीन सरकारले घोषणा गरेको सहयोग रकम हस्तान्तरण गर्न आइतबार अर्थ मन्त्रालय पुगेका नेपालका लागि चिनियाँ राजदूत झाङ माओमिङले अर्थमन्त्री डा. स्वर्णिम वाग्लेलाई चिनियाँ राष्ट्रपति र प्रधानमन्त्रीको सन्देश सुनाएका हुन् ।
‘बाढीको विपत्तिका कारण नेपालमा ज्यान गुमाउनुभएका नागरिकप्रति चिनियाँ राष्ट्रपति सी चिनफिङ र प्रधानमन्त्री ली छ्याङले गहिरो दुःख व्यक्त गर्नुभएको छ । बाढीमा ज्यान गुमाएकाप्रति उहाँहरूले श्रद्धाञ्जली अर्पण गर्नुभएको छ,’ राजदूत माओमिङले भने ।
उनले थपे, ‘यो दुःखमा नेपाल एक्लै छैन। चीन नेपाल र नेपाली जनताको साथमा छ।’
राजदूत माओमिङले विपत्तिपछि नेपालको उद्धार तथा राहत अभियानमा चीनले सहयोगलाई निरन्तरता दिने प्रतिबद्धता पनि व्यक्त गरे ।
३० करोडभन्दा बढी नगद सहयोग
चीन सरकारले बाढीपहिरो प्रभावित नेपालीका लागि प्रधानमन्त्री राहत कोषमा २० लाख अमेरिकी डलर अर्थात् करिब ३० करोड रुपैयाँभन्दा बढी सहयोग गरेको छ ।
आइतबार अर्थ मन्त्रालयमा अर्थमन्त्री वाग्लेलाई भेटेर राजदूत माओमिङले चीन सरकारको तर्फबाट घोषणा गरिएको सहयोग रकमको चेक हस्तान्तरण गरे ।
यसैगरी, चिनियाँ रेडक्रसले उपलब्ध गराएको २ लाख अमेरिकी डलर अर्थात् करिब ३ करोड ६ लाख रुपैयाँ बराबरको नगद सहयोगसमेत हस्तान्तरण गरिएको छ।
सहयोग हस्तान्तरण गर्दै राजदूत माओमिङले हिमालय क्षेत्रमा आएको ठूलो प्राकृतिक विपत्तिको सामना नेपाल र चीनले मिलेर गर्नुपर्ने बताए।
उनका अनुसार चीन सरकारले नेपालका लागि घोषणा गरेका अन्य राहत सामग्रीसमेत नेपाल भित्रिन थालेका छन्।
दुई चिनियाँ जहाजबाट ५० टन राहत सामग्री
राजदूत माओमिङका अनुसार आइतबार मात्रै दुईवटा चिनियाँ जहाजले ५० टन राहत सामग्री काठमाडौं ल्याएका छन्।
ती जहाजबाट टेन्ट, ब्ल्याङ्केट, स्लिपिङ ब्याग, मेडिकल किट र बिस्कुटलगायत सामग्री ल्याइएको उनले जानकारी दिए।
चीनले आगामी दिनमा पनि नेपाललाई आवश्यक सहयोग निरन्तर उपलब्ध गराउने उनको भनाइ छ।
चीनमा रोकिएका नेपालीलाई कोरोलाबाट फर्काउने पहल
रसुवामा आएको बाढीका कारण चीनतर्फ रोकिएका नेपाली नागरिकलाई मुस्ताङको कोरोला नाका हुँदै नेपाल फर्काउने पहल भइरहेको जानकारी पनि राजदूत माओमिङले अर्थमन्त्रीलाई गराएका छन्।
त्यस्तै, जलविद्युत् आयोजनाका सुरुङमा फसेका व्यक्तिहरूको उद्धारका लागि चीनबाट दक्ष जनशक्ति र हेलिकप्टर नेपाल ल्याइएको उनले बताए।
उनका अनुसार शनिबार नै चिनियाँ हेलिकप्टरसहितको दक्ष उद्धार टोली नेपाल आइपुगेको थियो। थप दक्ष उद्धार प्राविधिकसमेत आइतबार नेपाल आइपुगेका छन्।
नेपाल सरकारले सुरुङमा फसेकाहरूको उद्धारका लागि ठूलो परिमाणमा राहत तथा उद्धार सामग्री बोक्न सक्ने ड्रोन उपलब्ध गराउन चीनसँग अनुरोध गरेको थियो। त्यसअनुसार चीन सरकारले आवश्यक ड्रोन नेपाल ल्याउन तीव्र गतिमा काम गरिरहेको राजदूत माओमिङले जानकारी दिए।
चीनले नगद सहयोगसँगै उद्धार जनशक्ति, हेलिकप्टर, राहत सामग्री तथा प्राविधिक उपकरण उपलब्ध गराउन थालेपछि रसुवा बाढीपछि जारी उद्धार तथा राहत अभियानमा चिनियाँ सहयोग थप विस्तार भएको छ।












प्रतिक्रिया