समूह ‘एल’ : ग्रुप अफ डेथमा इङ्ल्यान्ड, क्रोएसिया, घाना र पानामा « Khabarhub

समूह ‘एल’ : ग्रुप अफ डेथमा इङ्ल्यान्ड, क्रोएसिया, घाना र पानामा


२७ जेठ २०८३, बुधबार  

पढ्न लाग्ने समय : 4 मिनेट


24
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– इङ्ल्यान्ड, क्रोएसिया, पानामा र घानाको उपस्थितीले समूह ‘एल’लाई आसन्न विश्वकपको ग्रुप अफ डेथको रुपमा निक्कै कठिन प्रतिस्पर्धात्मक बनाएको छ ।

४८ टोली सहभागी इतिहासकै सबभन्दा ठूलो विश्वकपमा यसपाली धेरै ठूला टिम एउटै समूहमा पर्ने सम्भावनालाई घटाएको थियो । तर यो समूहमा चाँही युरोपियन च्याम्पियनसिपका पछिल्ला दुई संस्करणमा लगातार उपविजेता भएको इङ्ल्यान्ड र सन् २०१८ मा विश्वकपको फाइनल तथा २०२२ मा सेमिफाइनल पुगेको क्रोएसिया एकसाथ परेका छन् ।

सँगै फिफा विश्व वरियताको ३३औं स्थानमा रहेको पानामा र युरोपबाट व्यावसायिक फुटबल खेल्ने एन्टोनी सेमेन्यो, इनाकी विलियम्स र थोमस पार्टीजस्ता खेलाडी रहेको घानालाई पनि कमजोर आँक्न नमिल्ने कारण समूह ‘एल’ बाट इङ्ल्यान्ड वा क्रोएसियामध्ये कुनै टिम बाहिरिएमा अचम्म हुने छैन ।

इङ्ल्यान्ड

इङ्ल्यान्डले विश्वकप जित्न नसकेको ठ्याक्कै ६० वर्ष पूरा भएको छ । एकपटक मात्र कुनै पनि ठूलो अन्तर्राष्ट्रिय प्रतियोगिताको उपाधि जितेको इङ्ल्यान्ड सन् १९६६ मा आफैले आयोजना गर्दा विश्वकप च्याम्पियन भएको थियो ।

दशकौंदेखि अर्को उपाधि जित्न नसक्दा निराश भएका इङ्ल्यान्ड समर्थकहरुले सन् १९९० को दशकदेखि निरन्तर रुपमा ‘इटस कमिङ होम’ (उपाधि घर आउँदैछ) भनेर फुटबल निक्कै लोकप्रिय रहेको देशको अपेक्षा र लगातारको कमजोर प्रदर्शनमाथिको व्यंग एकैसाथ मिसाएर भन्न थालेका थिए ।

उपाधि नै जित्न नसके पनि इङ्ल्यान्डको प्रदर्शन भने सबै अन्तर्राष्ट्रिय प्रतियोगितामा सधै उच्चस्तरको हुने गर्छ । पछिल्लो आठ वर्षयता भने टोलीले मुख्य प्रतियोगिताहरुमा लामो यात्रा गरेर पनि त्यसलाई प्रमाणित गरेको छ । पूर्व प्रशिक्षक गारेथ साउथगेटको नेतृत्वमा सन् २०१८ को विश्वकपमा सेमिफाइनल पुगेको टोली त्यसपछि सन् २०२१ र २०२४ का युरोपियन च्याम्पियनसिपमा लगातार फाइनल पुगेको थियो ।

युरो २०२४ को फाइनलमा स्पेनसँग पराजित भएपछि गारेथ साउथगेटले राजीनामा गरे । र, उनलाई स्थानान्तरण गरेका जर्मन प्रशिक्षक थोमस टचेलको नेतृत्वमा इङ्ल्यान्डले विश्वकपमा ६ दशकदेखिको उपाधि खडेरी पूर्ने लक्ष्यका साथ सहभागिता जनाउँदैछ ।

टचेलको नेतृत्वमा इङ्ल्यान्डले अविजित यात्रा कायम राख्दै विश्वकपलाई छनोट हुने क्रममा एउटै गोल खाएको थिएन । प्रदर्शन सधै एकनासको नभए पनि टोली नतिजा निकाल्न भने सफल भइरहेको थियो । इङ्ल्यान्डको टोली क्लब फुटबलमा राज गरिरहेका स्टारहरुबाट भरिपूर्ण भए पनि टोलीले युरो २०२४ भन्दा सुधार गरेको छ की, अझ तल झरेको छ भन्ने प्रश्नको उत्तर चाँही आसन्न विश्वकपले दिनेछ ।

क्रोएसिया

क्रोएसियालाई विश्वकपमा राम्रो प्रदर्शन गर्ने बानी लागिसकेको छ । युगोस्लाभियाबाट स्वतन्त्र भएपछि पहिलो पटक सन् १९९८ को विश्वकपमा सहभागिता जनाउने क्रममै टोली तेस्रो भएको थियो । त्यसको २० वर्षपछि सन् २०१८ को रुस विश्वकपमा फाइनलसम्म पुग्यो । जहाँ फाइनलमा फ्रान्ससँग पराजित हुँदै क्रोएसिया उपविजेता बन्यो ।

चार वर्षअघि कतारमा क्रोएसिया सेमिफाइनल पुगेको थियो । जहाँ बाटोमा भेट हुँदा टोलीले ब्राजिललाई पन्छाएको थियो । क्रोएसियाली फुटबलका महानायक लुका मोडरिच अहिले ४० वर्षको उमेरमा पनि टोलीका शीर्ष खेलाडी हुन् ।

रियाल मड्रिडका पूर्व मिड्फिल्डर मोडरिचले स्पेनबाट व्यावसायिक फुटबल खेल्ने क्रममा ६ पटक च्याम्पियन्स लिगको उपाधि जितेका थिए । क्रोएसियालाई विश्वकप २०१८ मा फाइनलसम्म डोर्याएपछि उनी विश्वको सर्वोत्कृष्ट फुटबल खेलाडीले प्रत्येक वर्ष पाउने बालन डी अर अवार्डबाट सम्मानित भएका थिए।

कुनै बेला स्टार खेलाडीको राम्रै भिड लाग्ने क्रोएसियाली टिममा यसपाली पनि युरोपबाट खेल्ने ठूला नाम धेरै छन् । तथापि मेजर लिग सकर खेलिरहेका पिटर मुसा र मार्को पासालिच चाँही अमेरिकामा परिचित नामहरु हुन् ।

म्यानचेस्टर सिटीका मिड्फिल्डर माटियो कोभासिचले पूरा सिजन तिघ्राको चोटका कारण पीडित हुँदा अधिकांश खेल गुमाए । तर विश्वकपका लागि उनी फिट भएर टिममा फर्किइसकेका छन् ।

घाना

इङ्लिस प्रिमियर लिगमा प्रभावशाली सिजन बिताएर राष्ट्रिय टिममा जोडिएका म्यानचेस्टर सिटीका फरवार्ड सेमेन्यो घानाको वर्तमान टिमका सबभन्दा स्टार खेलाडी हुन् ।

जनवरीमा ८७ मिलियन पाउन्डमा सिटीसँग आबद्ध हुनुअघि बर्नमाउथका लागि गरेको सनसनीपूर्ण प्रदर्शनमार्फत उनले इङ्ल्यान्डका सबै शीर्ष क्लबहरुको ध्यान तानेका थिए ।

पछिल्ला ६ विश्वकपमध्ये घाना ५ पटक छनोट भएको छ । सन् २०१० मा दक्षिण अफ्रिकामा भएको विश्वकपमा क्वार्टरफाइनलसम्म पुग्नु घानाको सबभन्दा राम्रो नतिजा हो । जहाँ क्वार्टरफाइनलमा उरुग्वेसँग पराजित हुँदै घाना प्रतियोगिताबाट बाहिरिएको थियो ।

विश्वकपको इतिहासमै घानाको त्यो हारलाई फुटबलका ठूला अन्यायमध्ये एकका रुपमा लिइन्छ । जहाँ उरुग्वेका लुइस स्वारेजले अतिरिक्त समयको अन्तिम मिनेटमा डोमिनिक एडियाले हेड गरेको बललाई प्रष्टसँग देखिने गरि गोललाइनबाट हातले क्लियर गरेका थिए । स्वरोजको त्यो क्लियरेन्सको फल उनले रातो कार्ड पाए । घानाले पेनाल्टी पायो । तर असामोह जियानको प्रहार विफल भयो । पेनाल्टी सुटआउटमा उरुग्वेले बाजी मार्यो ।

त्यसयता घाना विश्वकपको नकआउट चरण पुग्न सकेको छैन । टोली पछिल्लो अफ्रिका कप अफ नेशन्समा पनि छनोट हुन असफल भएको थियो । लगातार चार खेलमा पराजय भोगेपछि घानाले प्रशिक्षक ओटो अडोलाई मार्चमा बर्खास्त गरेको थियो । लगातारको हार र प्रशिक्षक परिवर्तनका कारण टोलीको विश्वकप तयारी प्रभावित भयो । अडोको ठाउँमा टोलीले रियाल मड्रिडका पूर्व प्रशिक्षक कार्लोस क्विरेजलाई टिमको नेतृत्व सुम्पिएको छ । अनुभवी भेट्रान प्रशिक्षकको नेतृत्वमा विश्वकपमा सुखद नतिजा निकाल्ने टोलीले आशा राखेको छ ।

पानामा

पानामाको विश्वकपमा यो दोस्रो सहभागिता हो । टोली यसअघि सन् २०१८ को विश्वकपमा छनोट भएको थियो । कन्काकाफको विश्वकप छनोटमा आफ्नो समूहको विजेताका रुपमा विश्वकपलाई छानिएको पानामाको प्रदर्शन पछिल्लो समय एकरुपले राम्रो रहँदै आएको छ । टोली सन् २०२३ को गोल्डकप र २०२५ को कन्काकाफ नेशन्स लिगमा फाइनल पुगेको थियो ।

लिड्स युनाइटेडका पूर्व प्रशिक्षक थोमस क्रिस्टियनसेनको नेतृत्वमा पानामाले विश्वकपमा आफ्नो चुनौती प्रस्तुत गर्दैछ । उनले सन् २०२० मा नेतृत्व लिएयता पानामाले अन्तर्राष्ट्रिय फुटबलमा निरन्तर उच्च प्रदर्शन गर्दै आएको छ ।

इङ्ल्यान्ड र क्रोएसिया यो समूहबाट माथि जाने मुख्य दाबेदार हुन् । यसकारण अन्तिम ३२ पुग्नका लागि पानामाले तेस्रो स्थानका लागि घानासँग प्रतिस्पर्धा गर्नुपर्ने सम्भावना बलियो छ ।

समूह ‘एल’ खेलतालिका (नेपाली समयअनुसार)

– इङ्ल्यान्ड विरुद्ध क्रोएसिया, १८ जुन, बिहान ०१ः४५ बजे, डालास रंगशाला (डालास)
– घाना विरुद्ध पानामा, १८ जुन, बिहान ०४ः४५ बजे, बिएमओ फिल्ड (टोरन्टो)
– इङ्ल्यान्ड विरुद्ध घाना, २४ जुन, बिहान ०१ः४५ बजे, जिलेट रंगशाला (बोस्टन)
– पानामा विरुद्ध क्रोएसिया, २४ जुन, बिहान ०४ः४५ बजे, बिएमओ फिल्ड (टोरन्टो)
– क्रोएसिया विरुद्ध घाना, २८ जुन, बिहान ०२ः४५ बजे, लिंकन फाइनान्सियल फिल्ड (फिलाडेल्फिया)
– पानामा विरुद्ध इङ्ल्यान्ड, २८ जुन, बिहान ०२ः४५ बजे, मेटलाइफ रंगशाला, (न्यु जर्सी)

प्रकाशित मिति : २७ जेठ २०८३, बुधबार  ५ : २९ बजे

प्रधानमन्त्रीले दिएको अभिव्यक्ति सच्याउन हर्कको आग्रह

काठमाडौं– श्रम संस्कृति पार्टीका अध्यक्ष हर्कराज राईले सीमा क्षेत्रमा भारतीय

पहिरोले कर्णाली करिडोर अवरुद्ध

मान्म– पहिरोले कर्णाली करिडोर अवरुद्ध भएको छ । मङ्गलबारदेखि वर्षाका

जब पार्किङ गरेकै ठाउँबाट चोरियो गोदावरी नगरको गाडी

ललितपुर– ललितपुरको गोदावरी नगरपालिकाको सरकारी गाडी चोरी गरेको आरोपमा एक

संसद्‍मा हर्कको टिप्पणी : बोल्नकै लागि पनि आन्दोलन गर्नुपर्ने भयो

काठमाडौं– श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले प्रतिनिधि सभामा आफ्ना