काठमाडौं– चीन सरकारले नेपालमा बाढीपहिरोबाट प्रभावित नागरिकको राहत तथा उद्धारका लागि २० लाख अमेरिकी डलर अर्थात् करिब ३० करोड रुपैयाँभन्दा बढी नगद सहयोग गरेको छ।
आइतबार अर्थ मन्त्रालयमा अर्थमन्त्री डा. स्वर्णिम वाग्लेलाई भेटेर नेपालका लागि चिनियाँ राजदूत झाङ माओमिङले चीन सरकारको सहयोग रकमको चेक हस्तान्तरण गरेका हुन्।
यसैगरी, चिनियाँ रेडक्रसले उपलब्ध गराएको २ लाख अमेरिकी डलर अर्थात् करिब ३ करोड ६ लाख रुपैयाँ बराबरको नगद सहयोग पनि राजदूत माओमिङले अर्थमन्त्री वाग्लेलाई हस्तान्तरण गरे।
सहायता हस्तान्तरण गर्दै राजदूत माओमिङले हिमालय क्षेत्रमा आएको ठूलो प्राकृतिक विपत्तिको सामना नेपाल र चीनले मिलेर गर्ने बताए ।
नेपालमा परेको विपत्तिप्रति चीन सरकार सधैँ नेपालको साथमा रहेको सन्देश चिनियाँ राष्ट्रपति र प्रधानमन्त्रीले नेपाल सरकारलाई पठाएको उनले जानकारी दिए।
उनका अनुसार चीन सरकारले उपलब्ध गराउने अन्य प्रकारका राहत सामग्रीसमेत नेपाल आइपुग्न थालेका छन्। आइतबार मात्रै दुईवटा चिनियाँ जहाजले ५० टन राहत सामग्री काठमाडौं ल्याएका छन्। ती जहाजमार्फत टेन्ट, ब्ल्याङ्केट, स्लिपिङ ब्याग, मेडिकल किट र बिस्कुटलगायत सामग्री ल्याइएको राजदूतले बताए।
चीनले आगामी दिनमा पनि आवश्यक सहयोग निरन्तर उपलब्ध गराउने प्रतिबद्धता जनाएको छ।
चीनमा रोकिएका नेपालीलाई नेपाल ल्याउन पहल
रसुवामा गएको बाढीका कारण चीनतर्फ रोकिएका नेपाली नागरिकलाई मुस्ताङको कोरोला नाका हुँदै नेपाल फर्काउने पहल भइरहेको जानकारीसमेत राजदूत माओमिङले अर्थमन्त्रीलाई गराएका छन् ।
त्यस्तै, जलविद्युत् आयोजनाको सुरुङमा फसेका व्यक्तिहरूको उद्धारका लागि चीनबाट दक्ष जनशक्ति र उपकरण नेपाल ल्याइएको उनले बताए ।
राजदूतका अनुसार शनिबार नै चिनियाँ हेलिकप्टरसहितको दक्ष उद्धार टोली नेपाल आइपुगेको थियो भने थप केही उद्धार प्राविधिक आइतबार नेपाल आइपुगेका छन् ।
नेपाल सरकारले सुरुङ उद्धारका लागि ठूलो परिमाणमा सामग्री बोक्न सक्ने ड्रोन उपलब्ध गराउन गरेको अनुरोधअनुसार चीन सरकारले ड्रोन नेपाल ल्याउने प्रक्रिया पनि तीव्र गतिमा अघि बढाइरहेको उनले जानकारी दिए ।
चीनको सहयोगप्रति अर्थमन्त्री वाग्लेको आभार
नेपाल सरकारका तर्फबाट सहयोग रकम बुझ्दै अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले अकल्पनीय विपत्तिको सामना गरिरहेको नेपाललाई चीन सरकारले गरेको सहयोगप्रति धन्यवाद व्यक्त गरे ।
उनले बाढीपहिरोका कारण नेपाल र चीन दुवैले ठूलो मानवीय तथा भौतिक क्षति व्यहोर्नुपरेको उल्लेख गर्दै चीनमा भएको क्षतिप्रति नेपाल सरकारका तर्फबाट गहिरो दुःख व्यक्त गरे ।
अर्थमन्त्री वाग्लेले बाढीका कारण ज्यान गुमाएका चिनियाँ नागरिकप्रति श्रद्धाञ्जली अर्पण गर्दै शोकसन्तप्त परिवारप्रति समवेदना व्यक्त गरे ।
उनले विश्वव्यापी तापक्रम वृद्धिका कारण हिमालय क्षेत्रका मुलुकले आगामी दिनमा थप गम्भीर प्राकृतिक विपत्तिको सामना गर्नुपर्ने अवस्था आउन सक्ने बताए । यस्तो जोखिमको सामना गर्न नेपाल र चीनबीच सहकार्य र समन्वय आवश्यक रहेको उनको भनाइ थियो ।
वाग्लेले यसपटकको बाढीपहिरोबाट नेपालले व्यहोरेको क्षतिको पुनर्निर्माणका लागि चीनबाट थप ठूलो सहयोगको अपेक्षा रहेको पनि बताए ।
सहायता हस्तान्तरण कार्यक्रममा अर्थमन्त्री वाग्ले र चिनियाँ राजदूत माओमिङले बाढीपहिरोमा ज्यान गुमाएका नेपाल तथा चीनका नागरिकप्रति श्रद्धाञ्जली अर्पण गर्दै एक मिनेट मौनधारणसमेत गरेका थिए।












प्रतिक्रिया